बिराटनगर,
संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष कुमार बस्नेतले मातहत प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुलाई भर्चुअल माध्यमद्वारा सम्वोधन गर्दै आउन लागेको एसईईमा परीक्षाको भरपर्दो सुरक्षा ब्यवस्था मिलाउन निर्देशन दिएका छन्।
डीएसपी बस्नेतले मातहत प्रहरी कार्यालयहरुलाई प्रहरी संगठनको नीति अनुसार आफ्नो पदीय जिम्मेवारी बोध गरी आफुलाई सुम्पिएको जिम्मेवारी बमोजिम दत्तचित्त भई पूर्ण रुपमा संगठनप्रति निष्ठावान भई सम्पादन गर्ने निर्देशन दिएका छन्। कार्यक्रममा इलाका प्रहरी कार्यालय चैनपुर, हेदाङ्ना, वाना लगायत अन्य प्रहरी इकाईहरुको उपस्थिति रहेको थियो।
उनले प्रहरी आचरण र व्यवहारमा सुधार गरी समाजमा शान्ति सुरक्षा कायम राख्न कार्यालयमा रहेको स्रोत साधनको उच्चतम् प्रयोग गरी आहोरात्र परिचालन हुने, कोही पनि प्रहरी कर्मचारीहरु आर्थिक प्रलोभनमा नपर्ने, तालुक कार्यालयहरुबाट प्राप्त भएका परिपत्रहरु समयमा नै सबै प्रहरी कर्मचारीहरुलाई जानकारी गराउने र सोको रजिष्टर अभिलेख राख्न पनि निर्देशन दिए।
यसैगरी,मानव अधिकारको उल्लंघन हुनसक्ने तर्फ सधै सचेत रहने, कानून बमोजिम बाहेक शक्ति र बलको प्रयोग नगर्ने, नजिकिदै गरेको स्ववियु निर्वाचन, अपराध नियन्त्रणमा सूचना संकलनलाई प्राथमिकतामा राख्ने र सूचनाको गोपनियता कायम राख्ने, ट्राफिक नियम उल्लङ्घनमा कडाई एवं दुर्घटनाको कारणलाई विश्लेषण गरी योजना बनाई प्रहरी परिचालन गर्ने, एलआरपी/एसआरपी खटिजाँदा गरेका कामहरुको लिपिबद्ध गरी अभिलेख राख्ने भनेका छन्।
यस्तै, तालुक कार्यालयमा जाहेरी पठाउने,पीडित भेटघाट कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यक्रमहरु संचालन गर्ने, फरार प्रतिवादीहरुको नेकिवेदी राखि पक्राउ गर्ने तर्फ बिशेष पहल गर्न निर्देशन समेत दिए। उक्त भर्चुअल निर्देशन सम्बोधन कार्यक्रममा यस कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत लगायत जुनियर प्रहरी अधिकृत प्रहरी कर्मचारीहरु र मातहत बिमानस्थल सुरक्षागार्ड तुम्लिङटार र प्रहरी चौकी मानेभन्याङ संखुवासभाका प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।