अमित खम्बू,
अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा अघिल्लो आर्थिक वर्ष २०७९/०८०देखि शुरु भएको वृहत खानेपानी आयोजनाको कार्य प्रभावकारी बन्दै छ ।
नगरपालिका अन्र्तगत ५, ६, ७, ८, ९, १० र ११ नं. वडाका ६८१५ घरधुरीका ३० हजार तीन जना जनसंख्यालाई प्रत्यक्ष लाभान्वित हुने उक्त आयोजना अन्र्तगत हाल लक्षित वार्डहरुमा सडकको दुवैतर्फ पाइपलाइन विस्तारको कार्य भइरहेको छ ।
जम्मा १८० किलोमिटरमध्ये हालसम्म ८० किलोमिटर क्षेत्रफलमा पाइपलाइन विस्तारको कार्य सम्पन्न भएको समितिका अध्यक्ष किरण शिवाकोटीले जानकारी दिए । “२०७९ चैत २ गते समिति र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरबीच भएको सम्झौता पत्र अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ भित्र सम्पन्न गर्नुपर्ने उक्त आयोजनालाई निर्धारित समयभित्र सम्पन्न गर्न हामी सबैको निरन्तर प्रयास रहेको छ”–उनले स्पष्ट पारे ।
अध्यक्ष शिवाकोटीका अनुसार आयोजना अन्र्तगत अर्जुनधारा–९स्थित मगरचोकमा रहेको समितिको अर्को खानेपानी ट्याङकी रहेको क्षेत्रमा एक थान डिप बोरीङ खन्ने, प्यानल बोर्ड र फिल्टर प्लान्टको लागि आवश्यक भौतिक संरचना निर्माणलगायतका कार्यहरु सम्पन्न भएको बताइएको छ ।
हाल समितिसँग अर्जुनधारा–८स्थित केन्द्रीय कार्यालयमा दुई लाख २५ हजार लिटर क्षमताको एउटा ट्याङकी र मगर चोकमा चार लाख ५० हजार लिटर क्षमताको अर्को ट्याङकी गरि जम्मा ६ लाख ७५ हजार लिटर क्षमताको दुई वटा खानेपानी ट्याङकी रहेको छ । वितरणका लागि खानेपानी भए पनि आवश्यक भौतिक संरचना र पाइपलाइन विस्तार नभएको अवस्थामा समितिको विशेष पहलमा प्राप्त भएको यस आयोजनाले उपभोक्ताको बढ्दो मागलाई पूरा गर्ने अध्यक्ष शिवाकोटीले दावी गरे ।
आयोजनाको प्रारम्भिक लागत इष्टिमेट ३० करोड ३५ लाख ७० हजार छ सय ९८ रुपैयाँ ९५ पैसा रहेकोमा ठेक्का प्रक्रियामार्फत् हालको लागत १६ करोड ४४ लाख ७२ हजार सात सय ३४ रुपैयाँ २८ पैसा (भ्याट बाहेक) रहेको छ । आयोजना अन्र्तगत डीप ट्युबवेल, बोरवेल प्लेटफर्म, कम्पाउण्ड वाल, मिटीङ हल, भल्भ चेम्बर(सानो), भल्भ चेम्बर (मझौला), भल्भ चेम्बर(ठूलो), एयर भल्भ चेम्बर, सर्फेस भल्भ बक्स, वासआउट चेम्बर, क्रसीङ, प्रेसर फिल्टर, क्लोरीङ डोजीङ रुम, क्लोरिनेसन युनिट, इलेक्ट्रोमेकानिकल वर्कस, जेनेरेटर सेड, फायर हाइडे«न्टलगायत २४ वटा विभिन्न संरचना निर्माण हुने छन् ।
किस्ताबन्दीमा धारा जडानः
यस अघि विपन्न उपभोक्ताहरुलाई धारा जडानमा २५ प्रतिशत छुट दिएको शनिश्चरे–अर्जुनधारा खानेपानी उपभोक्ता सरसफाई उपभोक्ता समितिले उपभोक्ताहरुलाई खानेपानीको पहुँचमा पु¥याउने उद्देश्यले किस्ताबन्दीमा धारा जडान गर्ने कार्यक्रम शुरु गरेको छ ।
समितिको गत माघ १५ गतेको निर्णय अनुसार धारा जडान गर्न इच्छुक उपभोक्ताले प्रारम्भमा जम्मा शुल्कको ५० प्रतिशत शुल्क बुझाएपछि बाँकी शुल्क छ महिनाभित्र किस्ताबन्दीमा बुझाउन सक्ने समितिका सचिव राकेश ढकालले जानकारी दिए ।
त्यसैगरी अर्जुनधारा नगरपालिकाको एक मात्र सामुदायिक क्याम्पस शनिश्चरे बहुमुखी क्याम्पसमा निःशुल्करुपमा खानेपानी वितरण गर्ने निर्णय गरेको छ । “क्याम्पसमा अध्धयन गर्ने ग्रामीण भेगमा बसोबास गर्ने मध्यम एवम् निम्न वर्गका विद्यार्थीहरुलाई लक्षित गरि उक्त निर्णय गरेका हौं ।”–सचिव ढकालले प्रष्ट पारे ।