अन्तर्राष्ट्रिय झापाली समाजको चौथो सम्मेलन अमेरिकामा सम्पन्न, आठ बुँदे वासिङ्टनडिसी घोषणा पत्र जारी

0
34

झापा ।

अन्तर्राष्ट्रिय झापाली समाजको चौथो क्षेत्रीय सम्मेलन वासिङ्टनडिसी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

झापाली समाज अमेरिकाको आयोजनामा वाशिंगटन डीसीस्थित होटल डबल ट्री हिल्टनमा गत अप्रिल ११ र १२ तारिख सो सम्मेलन सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा अमेरिकास्थित नेपाली दुतावासका नियोग उपप्रमुख शरदराज ऐरनको प्रमुख आतिथ्यमा भएको द्विदिवसीय सम्मेलनमा विश्वभरिबाट १५० बढी झापालीहरूको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नगेन्द्र पोखरेल ‘नवीन’ले सञ्चालन गरेको कार्यक्रममा झापाली समाज–अमेरिकाका अध्यक्ष मोहन उप्रेतीले स्वागत र महासचिव सीता पाण्डे एवम् सचिव तोया पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरू सहित भव्यताका साथ सम्पन्न भएको थियो ।

झापा जिल्लाको परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको सम्मेलनमा अन्तर्राष्ट्रिय झापाली समाजले हालसम्म गरेका विविध समुदायमुखी र परोपकारजन्य कार्यहरूको डकुमेन्ट्री समेत देखाइएको थियो ।

समाजको क्षेत्रीय सम्मेलनलाई निरन्तरता दिँदै आगामी पाँचौं क्षेत्रीय सम्मेलन ओशनीया क्षेत्र अन्तर्गत अष्टे«लियामा गर्ने निर्णय भएको छ । समाजले घोषणा गरेका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारका निकायहरु साथै अन्य विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वयन र सहकार्य गर्ने जनाइएको छ ।

कतार घोषणापत्र, सिओल घोषणा पत्र, माल्टा घोषणापत्रको भावना अनुसार कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, बैंकिङ, वातावरण सम्बन्धी क्षेत्रहरुमा सामुहिक लगानी गर्ने र त्यसका लागि अन्य लगानी सम्बन्धी परियोजनाहरुसँग साझेदारी गर्ने समेत जनाइएको छ ।

समाजले आफ्नै भवन बनाउनका लागि पहल गर्ने घोषणा गरेको छ । माल्टा घोषणापत्र अनुसार समाजको आर्थिक भविष्य सुनिश्चितताका लागि आफ्नो छुट्टै अक्षयकोष स्थापना गर्ने कार्यलाई तीव्रता दिने जनाइएको छ । त्यस्तै समाजले प्रकाशन गर्न लागेको ‘संसारमा झापाली’ नामक पुस्तकमा अधिकतम् झापालीहरुको सहभागिता गराउने र यथाशिघ्र भाग १ प्रकाशन गर्ने समाजले जनाएको छ ।

समाजको संगठन विस्तारका लागि थप राष्ट्रिय समितिहरु गठन गर्न अभिप्रेरित गर्ने र हाल आबद्ध भएका राष्ट्रिय समितिहरुसँगको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने बताइएको छ । त्यस्तै झापाली समाज अमेरिकाले स्थापना गरेको विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई अन्तर्राष्ट्रिय झापाली समाजको तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने घोषणा गरिएको छ । संसारभरका नेपालीहरुको अन्तर्राष्ट्रिय छाता संस्थाको चौथो क्षेत्रीय सम्मेलन उत्साहजनकरुपमा सम्पन्न भएको झापाली समाज अमेरिकाका अध्यक्ष मोहन उप्रेतीले जनाएका छन् ।

‘समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने नाराका साथ समाजले आफ्नो विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । समाजले विपद्को बेला तथा अन्य समयमा समेत सामाजिक र मानवीय सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

पछिल्लो समय समाजको समन्वयमा ईष्टर्न सहारा कम्पनीमा विभिन्न देशमा रहेका झापालीले लगानीको अवसर प्राप्त गरेका छन् । छिट्टै आइपिओ निष्काशनको तयारीमा रहेको उक्त इन्भेष्टमेन्ट कम्पनीले जलविद्युत, वातावरण अनुकूलनका सहित उच्च प्रतिफल दिने विभिन्न परियोजनामा लगानी समेत गरेको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, महासचिव नगेन्द्रप्रसाद पोखरेल (नविन) र झापाली समाज अमेरिकाका अध्यक्ष मोहन उप्रेतीले संयुक्त रुपमा हस्ताक्षर गरी समाजको वासिङ्टन डिसी घोषणापत्र २०२५ जारी गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here