बिराटनगर,

ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा झापाको भद्रपुर नगरपालिका १५ का वर्ष ७० का विनोद पौडेल, विनोद पौडेलकी श्रीमती वर्ष ७० की सरिता पौडेल,ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते सविना आचार्य र अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरीले जनाएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा हाई टेन्सनको बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा दुर्घटना भएको हो।
पाथीभरा दर्शनका लागि आईतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका उनीहरु होटेल प्यारिजमा बसेर सोमबार बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि हिडेका थिए।