झापा, जिल्ला सहकारी संघ झापाले पूर्ब निर्धारित कार्यक्रम अनुसार सहकारीको निर्वाचन गराउने भएको छ । नेपाली कांग्रेसले तालाबन्दी गरेपनि झापा जिल्ला सहकारी संघको निर्वाचन नरोकिने संघले विज्ञप्ति जार िगर्दै जनाएको छ ।
पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म बिर्तामोडको सिटीसेन्टरमा मतदान कार्यक्रम राखिएको छ । कांग्रेसले तालाबन्दी गरेपनि निर्वाचन कार्यक्रम यथावत राखिएको झापा जिल्ला सहकारी संघका सचिव भवानी दंगालले बताए ।
निर्वाचनको अघिल्लो दिन हिजो कांग्रेस समर्थक सहकारीकर्मीहरुले झापा जिल्ला सहकारी संघको कार्यालयमा तालाबन्दी गरेका थिए । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको भागवण्डाको सहमति एमालेले पालना नगरेको भन्दै कांग्रेस समर्थक सहकारीकर्मीहरुले निर्वाचन नै हुन नदिने गरी तालाबन्दी गरेका हुन् ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्षलगायत प्रमुख पदहरुमा निर्विरोध निर्वाचित भइसकेको र खुल्ला उपाध्यक्ष, सचिव, सहसचिव, खुल्ला सदस्यलगायत केहि पदहरुमा चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।