सर्वप्रथमतः सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को नेतृत्वमा रहेको अग्रसेन भवन समितिले रजत महोत्सव स्मारिका प्रकाशन गरेर समाजमा एक महŒवपूर्ण कामको इँटा थपेको महशुस भएको छ । अग्रसेन भवनको विषय भए पनि समग्र अग्रवंशीहरुको भाषा, संस्कृति, संस्कार, परम्परा र सभ्यतासँगै समाज बुझ्न यहाँ समेटिएका सामग्री महŒवपूर्ण दस्तावेज बन्नेछन् भन्ने विश्वाससहित बधाई ज्ञापन गर्दछु ।
जतिबेला अग्रसेन भवन बन्यो, त्यसअघि बिर्तामोडमा सभा, समारोह तथा सामाजिक कार्यका लागि अतिथिसदन मात्र थियो । जुन तत्कालिन झापा उद्योग वाणिज्य संघ बिर्तामोड शाखा (हाल बिर्तामोड उद्योग वाणिज्य संघ)को मातहत थियो । बढ्दो शहरीकरणसँगै जनघनत्वले कति कार्यक्रमहरु एकै साथ हुँदा हल नपाउने, पालोमा बस्नु पर्ने बाध्यता थियो । यो आवश्यकतालाई महशुस गरी बिर्तामोडका मारवाडी समुदायको अगुवाईमा अग्रसेन भवन बन्यो । अग्रसेन भवनका संस्थापक अध्यक्ष सुरेश वंशल, सचिव सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’सहितको टिमको योगदान स्मरणीय छ । अतिथि सदन मारवाडी र पहाडिया समुदायको संयुक्त योगदान बाट बन्यो । अतिथि सदनको पहिलो तलाको निर्माण संयोजक भने सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ नै हुनुहुन्थ्यो । यी दुई भवनहरुले बिर्तामोडको मात्र होइन झापाकै आवश्यकतालाई पूर्ति गरे, गर्दै आएका छन् ।
यहाँ प्रशस्त खुलेका पार्टी प्यालेसहरु धेरैपछि मात्र बनेका हुन्, जुन व्यक्तिगत लगानीमा विशुद्ध व्यवसायिक उद्देश्यले स्थापना भएका छन् । अतिथि सदन र अग्रसेन भवन यस्ता सार्वजनिक भवन हुन् जहाँ सेवालाई प्राथमिकतामा राखिन्छ । तर, यी दुबै परम्परागतरुपमा चलेका छन् । अब अहिलेको आवश्यकता बमोजिम यी दुबै भवनको स्तारोन्नति गरी आधुनिक सुविधासम्पन्न बनाउन जरुरी छ । यो प्रसंग यति नै । अब अगाडि अग्रसेन महाराज, अग्रवाल र मारवाडी समुदाय अनि उनीहरुको समाजमा योगदानका केही प्रसंग उल्लेख गर्न सान्दर्भिक ठानेको छु ।
एक विद्वान, समाजसेवी र न्यायप्रेमी राजाको रुपमा महाराजा अग्रसेनको नाम प्रसिद्ध रही आएको छ । अग्रसेन प्राचीन भारतको अग्रोहा गणराज्यका महाराजा थिए । उनी बाल्यकाल देखि नै आफ्ना प्रजासित धेरै नै लोकप्रिय थिए । उनी एक धार्मिक, शान्ति–दूत, प्रजावत्सल, हिंसा विरोधी, बली प्रथाको विरोधी, करुणानिधि, सब प्राणीहरूलाई प्रेम, स्नेह गर्ने दयालु राजा थिए । यिनी बल्लभ गढ़ तथा आगराका राजा बल्लभका जेठा छोरा, शूरसेनका दाइ थिए । धार्मिक मान्यता अनुसार उनको जन्म सूर्यवंशीय महाराजा वल्लभ सेनकका अन्तिमकाल तथा कलियुग को प्रारम्भमा आजभन्दा ५१८५ वर्ष पहिले भएको थियो । उनै अग्रसेन महाराजाको स्मृतिमा बिर्तामोडमा अग्रसेन भवन स्थापित छ ।
अग्रवंशीहरुका कुल–प्रवर्तकका रुपमा अग्रसेन महाराज पुज्य छन् । अग्रवाल वा अगरवाल भारत हुँदै दक्षिण एसियामै ठूलो र प्रभावशाली समुदायमध्ये एक हो । मुलतः उत्तर तथा पश्चिम भारतमा व्यापारी समुदाय भए पनि हालका दिनमा अग्रवालहरूले विभिन्न पेशा अङ्गालेका छन् । यो समुदायका व्यक्तिहरू प्रायः सफल उद्यमी हुने गरेका छन् र यिनीहरूको भारत, नेपाल र अन्य राष्ट्रको आर्थिक विकासमा ठूलो योगदान रहेको पाइन्छ । मारवाडीमा धेरै जाति छन् । तर, चार समुदाय मुख्य मानिन्छन् । ओसवाल जैन, माहेश्वरी, अग्रवाल र ब्राह्मण गरी चार समुदाय छन् । नेपालमा मारवाडी समुदायको संख्या उल्लेख्य छ । अग्रवालको हिस्सा मारवाडीभित्र महŒवपूर्ण छ । नेपालमा अग्रवाल समुदायले राष्ट्रिय जीवनमा महŒवपूर्ण योगदान पुर्याइआएका छन् । अब अगाडि अग्रवालसँगै समग्र मारवाडी समुदायको योगदान उल्लेख गर्न सान्दर्भिक ठानेको छु ।
इतिहास हेर्ने हो भने मारवाडी नेपाल र भारतमा बसोबास गर्ने एक जाति हो । नेपालका मारवाडीको उद्गम थलो भारतको राजस्थान र हरियाणा हो । हरियाणाका मारवाडीको उद्गम राजस्थान नै हो । दुबैमा बोलिने मारवाडी भाषा एउटै हो । राजस्थान मारवाड भन्ने स्थान उद्गमस्थल भएको यस जातिको नेपालमा मुख्य पेशा व्यापार हो । मारवाडी समुदायका मानिसहरू सामान्यतयाः साकाहारी हुन्छन् । नेपालमा प्रमुख उद्योगमा मारवाडी घरानाको लगानी तथा व्यवस्थापन रहेको पाइन्छ । नेपालको व्यापारमा पनि मारवाडी समुदायको बलियो पकड रहेको छ । नेपालका सबै मुख्य सहरमा मारवाडीको पुरानो बसोबास रहेको छ । विशेषगरी राणाकाल देखि नै काठमाडौंमा मारवाडीहरु व्यापारका उद्देश्यले बसेको पाइन्छ ।
नेपालमा मारवाडीहरूलाई पहिलोपटक पृथ्वीनारायण शाहले काठमाडौंलाई व्यापारको केन्द्र बनाउन भारतबाट आमन्त्रित गरेका थिए भनिन्छ । पछि राणाले उनीहरू मध्ये धेरैलाई व्यापारको क्षेत्रमा संलग्न गराए । राणाले उनीहरूलाई आफ्नो व्यवहार र व्यापार मिलाउन उनीहरूलाई घर बनाउनको लागि जग्गा प्रदान समेत गरेको इतिहास छ । नेपालमा आउने मारवाडी पहिले फिरन्ते व्यापारीका रूपमा पूर्वी नाकाबाट प्रवेश गरेको अध्ययनबाट देखिन्छ । वि.सं. १९३० र ४० मा राजस्थानका मारवाडी समुदाय मोरङ आएका थिए । इतिहासकारका अनुसार राजस्थानबाट आएका मारवाडी शुरुमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पुगेको इतिहास रहेको अध्येता शंकर खरेल बताउछन् ।
वि.सं. १९९२ ताका विराटनगर जुट मिल्सको जग बसाल्दा मारवाडी समुदायको योगदान पनि थियो । रामलाल गोल्छा र नौलखा परिवारले सहयोग गरेका थिए । यो उद्योग नेपालको पहिलो उद्योग हो । उद्योगी मोती दुगडले भनेका थिए– ‘मारवाडीको कर्मभूमि नेपाल हो । उनीहरू भारतभन्दा बढी नेपाललाई माया गर्छन्, राजनीतिक अस्थिरताले द्वन्द्वकालमा यो समुदायमा वितृष्णा उत्पन्न भए पनि पछिल्लो शान्ति प्रक्रियासँगै आर्थिक क्षेत्रमा लगानीको मोह बढेको छ ।’ हुन पनि पहिले अधिकांश भाडामा बस्ने मारवाडीको अहिले आफ्नै घर बंगला, राजमार्ग आसपासदेखि पहाडी क्षेत्रसम्म नै धेरै जग्गा–जमिनमा लगानी गरेका छन् । हरेक क्षेत्रमा लगानी गर्ने समुदाय बनेका छन् मारवाडी । उद्योग व्यवसायमार्फत स्वदेशी उत्पादन, रोजगारी र राजश्वमा योगदान रही आएको छ ।
मारवाडी समुदायले जहाँ गए पनि सेवा, संगठन, समुन्नति, र सुसंस्कारलाई आत्मसात गरेर अघि बढेको देखिन्छ । बिर्तामोडमा अग्रसेन भवनसँगै आफ्नो आस्थालाई उजागर गर्न बालाजी मन्दिर छ । यसै वर्ष युवा उद्यमी तथा व्यवसायी रोनक वंशलको नेतृत्वमा बिर्तामोडमै पहिलो पटक गायत्री माता मन्दिर निर्माण भई समुदायलाई हस्तान्तरण भएको छ । यी दुबै मन्दिर आकर्षक र बिर्तामोडको धरोहरका रुपमा रहेका छन् । मारवाडी सेवा समितिमार्फत संगठित भई आफ्ना कार्य सम्पादन गर्दै आएका मारवाडी समुदायका अहिले महिला, युवा, कन्या अलग अलग समिति छन् । तिनले पनि सेवालाई प्राथमिकता दिएका छन् । व्यवसायमा अब्बल मारवाडी समुदाय जहाँ गए पनि आफ्नो संस्कार पालनामा अग्रणी देखिन्छ । संस्कार मारवाडी समुदायको पहिचान नै बनेको छ । मिश्रित समुदायको बसोबास रहेको बिर्तामोडमा मारवाडी समुदायले समेत फरक समुदायका मानिससँग सद्भाव, भाइचारा तथा विश्ववन्धुत्व, एकता, मेलमिलापलाई प्राथमिकतामा राखेको छ ।
मारवाडी समुदायबाट धेरै कुरा सिक्न सकिन्छ । कडा परिश्रम, व्यावसायिक चतुरता, जोखिम मोल्न सक्नु मारवाडीका विशेषता हुन् । यस्ता कुरा अरु समुदायले पनि सिक्न सक्छन् । मारवाडी विस्तारित ठाउँहरूमा पुगेर व्यवसाय गर्ने, भविष्यप्रतिको दृष्टिकोण अब्बल राख्नेमा पर्दछन् ।
समाजलाई योगदान गर्न यो समुदाय अग्रणी नै छ । मारवाडीले समाजसेवालाई कर्मको ऋण तिर्न कर्तव्यको रूपमा लिन्छन् । नेपालमा मारवाडी समुदायले परोपकारी क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको छ । प्राकृतिक विपत्तिदेखि सामाजिक सेवासम्म मारवाडी समुदायको योगदान अतुलनीय रहेको पाइन्छ । १९९० को महाभूकम्पदेखि २०७२ को भूकम्प र जाजरकोट भूकम्प, कोरोना महामारी तथा बाढी पहिरोसम्म मारवाडी समुदायले सक्रिय रूपमा राहत तथा उद्धार कार्य गर्दै आएको छ । नेपालमा मात्र नभई विश्वभर नै मारवाडी समुदाय सामाजिक सेवामा अग्रणी रहँदै आएको छ । धर्मशाला मार्फत गाई संरक्षण, तीर्थयात्रीलाई सेवा, निःशुल्क कृत्रिम खुट्टा वितरण, डाइलाइसिस सेवा, भोजन तथा शव वाहन सुविधा, कनकाई आर्यघाटमा शव दाह गृह निर्माणमा मारवाडी समुदाय नै अग्रणी देखिन्छ । सेवा क्षेत्रमा अग्रसेन भवनले समेत यस्ता कार्यको कैयौं पटक अगुवाई गरेको छ ।
व्यवसाय र समाजसेवासँगै समाजका हरेक पेशा क्षेत्रमा मारवाडीहरुको संलग्नता सक्रिय छ । नेतृत्व तहमा स्थापित हँुदैछन् । जेसीज, रोटरी, लायन्स, उद्योग वाणिज्य संघ, मठमन्दिर, राजनीति हरेक क्षेत्रको नेतृत्वमा मारवाडी समुदाय स्थापित छन् । मारवाडी समुदाय र सञ्चार क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध रही आएको छ । झापाका पहिलो पुस्ताका पत्रकार एस.एल. शर्माको योगदान सञ्चार क्षेत्रमा महŒवपूर्ण छ । उनका जेठा छोरा राजेन्द्र शलभ प्रसिद्ध कवि तथा लेखक नै हुन् । अर्का छोरा भाष्करको पनि सञ्चार क्षेत्रमा योगदान छ । सन्तोष अग्रवाल पुराना पत्रकार हुन् । निरज अग्रवाल, पंकज शर्मा पनि सञ्चारकर्ममा संलग्न छन् । दिपक मित्तल पछिल्लो पुस्ताका सञ्चारकर्मीको रुपमा उदयीमान छन् । अहिले सबैको व्यवसाय छ । केहीले फुर्सदमा सञ्चारकर्म गर्ने गरेका छन्, कतिले छोडे ।
नेपाल पत्रकार महासंघ झापाको मेरो पहिलो कार्यकाल २०७८–०८१ मा पत्रकारको सामाजिक सुरक्षाका लागि हामीले सञ्चालन गरेको पत्रकार सहारा उपचार कोषलाई एक करोड ११ लाख पुर्याउन बिर्तामोडका मारवाडी समुदायबाट भएको योगदान पनि स्मरणीय छ । कोष वृद्धिको लक्ष्य मेरो दोस्रो कार्यकाल २०८१–०८४ मा पनि जारी छ, यस अभियानमा अग्रवालसहित समग्र मारवाडी समुदायको अझ महŒवपूर्ण योगदान रहने विश्वास लिएको छु । अन्त्यमा रजत वर्षको यस महŒवपूर्ण क्षणलाई स्मरणीय बनाउन स्मारिका प्रकाशन गर्नुभएकोमा अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’सहित उहाँको टिम, प्रकाशनको नेतृत्व गर्नुहुने संयोजक टेकेन्द्र ‘टोनी’ अग्रवालसहित उहाँको टिम, सम्पादक राजबाबु शंकरसहित योगदान गर्ने सबैलाई यो रचनात्मक कार्यका लागि बधाई । मलाइ र पत्रकार महासंघलाई समेत सम्झिएर केही शब्द राख्ने अवसरका निमित्त धेरै–धेरै धन्यवाद ।
(अग्रसेन भवन स्मारिका २०८१ बाट)
(लेखक नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक हुन् ।)