नेताको गलत कार्यको किन विरोध गर्दैनन् कार्यकर्ता ?

0
30


आजको नेपाल नेताको देवत्वकरण गर्ने महारोगबाट ग्रस्त छ । सिक्काका दुई पाटा हुन्छन् भने झैं आफ्नो दल वा संस्थाको नेतृत्वको आँखा चिम्लेर बढाइचढाइ गर्ने र प्रशंसा, तारिफ र चाकरीको पुल बाँधेर धुरीमा टेकाउने गरे जस्तै सोही नेताले चाहे जस्तो गरेन वा आफ्नो स्वार्थ अनुकूल काम गरेन भने नेता वा प्रमुखको दानवीकरण वा राक्षसीकरण गर्ने अत्यन्तै घातक रोगले सङ्क्रमित हुँदै गएको छ । कार्यकर्ताहरूमा परम्परागत सोचबाट पर हटेर विचार गर्ने, बहस गर्ने र नवीन मार्ग अवलम्बन गर्न उत्प्रेरित गर्ने सिर्जनात्मक चिन्तनको खडेरी परेको छ । सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिले सदैव जिज्ञासु र खुलापनलाई बढावा दिन्छ ।
एउटै कामलाई पनि फरक सोच, ढङ्ग र तरिकाबाट गर्न मद्दत गर्छ । सिर्जना भनेको सृष्टि हो । सृष्टि भनेको उत्पत्ति, जन्म अथवा आविष्कार हो । कुनै पनि कुराको उत्पत्ति हुनु नै सिर्जना हुनु हो । यो पृथ्वी एउटा ठूलो सिर्जना हो । मान्छेहरू पनि सिर्जना नै हुन् । हावा, पानी, हिमाल, पहाड, तराई, वनजङ्गल, खोलानाला आदि सबै सिर्जना हुन् । तिनलाई प्रकृति भनिन्छ । आफैँ उत्पत्ति भएका कुराहरू प्रकृतिका सिर्जना हुन् । पछि बनाइएका चिजहरू मान्छेका सिर्जना हुन् । भौतिक वस्तुको आविष्कार पनि सिर्जना हो र साहित्य लेखन वा कलाको निर्माण पनि सिर्जना हो ।
वैज्ञानिक आविष्कारका लागि मस्तिष्क पक्ष सबल हुनुपर्छ, कलाको आविष्कारका लागि हृदय पक्ष सबल हुनुपर्छ । तथ्यमा आधारित सूचना ज्ञान वैज्ञानिक आविष्कारहरूमा हुने गर्दछ भने कल्पनामा आधारित सिर्जना कला साहित्यिक रचनामा हुने गर्दछ । तर, नेपालका दलका कार्यकर्ता आफ्ना नेताहरूको कमी–कमजोरी वा गलत रवैयाको विरोधमा एक शब्द पनि बोल्न सक्दैनन् । नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतमा कार्यकर्ता कमजोर छन् । अन्ध समर्थन वा अन्ध विरोध समस्याको समाधान होइन, आलोचनात्मक चेतको कमी भएमा आन्तरिक लोकतन्त्र कमजोर हुन्छ । सहीलाई सही र गलतलाई गलत भन्न सक्ने आलोचनात्मक चिन्तनले मानिसको दिव्य ज्ञानचक्षु खोल्ने काम गर्छ । परम्परागत धारणाबाट टसको मस नहुने र भइरहेका कुरामा मात्रै सत्यता देख्ने सोच एकाङ्गी, सङ्कीर्ण र एक पाखे सोच हो ।
नवीन सिर्जना गर्न अन्धानुकरणले भन्दा पनि आलोचनात्मक चिन्तनले सहयोग पु¥याउँछ । कुनै पनि दल वा सङ्गठन आन्तरिक लोकतन्त्र र केन्द्रीयताको उचित संयोजन र सन्तुलनबाट निसृत हुन्छ । नयाँ कुराको रचना मात्रै सिर्जना नभएर पुराना कुरामा आफ्नो पन दिनु अर्थात् प्रस्तुतिको तरिका फरक गर्नु पनि सिर्जना नै हो । नेतृत्वको अन्ध समर्थनले सृजना मर्छ । नेतृत्वको अन्ध समर्थनले कल्पनाशक्ति र सिर्जनात्मकतालाई मार्छ । आन्तरिक लोकतन्त्रले सिर्जनात्मकतालाई बढावा दिन्छ । कार्यकर्ताका मौलिक विचारहरूलाई कलात्मक रूपमा अभिव्यक्त गर्न भय र त्रासले बाधा उत्पन्न गर्छ । आलोचनात्मक सृजनात्मकताले अनुसन्धानलाई सहयोग पु¥याउँछ । हाम्रो समाजमा जीवनलाई सजिलोसँग सञ्चालन गर्नका लागि मानिसहरूले विभिन्न पेशाहरू अपनाएका हुन्छन् । पाइलट, इन्जिनियर, डाक्टर, शिक्षक, विभिन्न व्यापार–व्यवसाय आदि । यिनै पेशाहरूका आधारमा विद्यालय तथा महाविद्यालयका पाठ्यक्रम पनि बनेका छन् । नेपालमा अनुयायीको संख्या ठूलो छ । चाकरी र चाप्लुसी झाँगिदो छ ।
हामी कसैको दासता स्विकार्दै आफ्ना दास संख्या बढाउन उद्दत छौँ । मानव विकासको सबैभन्दा उत्कृष्ट कला सिर्जनात्मक चिन्तनको कला हो । हुन त अरुलाई पछ्याउनु सजिलो छ । नकारात्मक सोच बनाउनु र नराम्रो कल्पना गर्नुमा कुनै वैज्ञानिकता छैन । अहिलेको युग बौद्धिक युग हो, शारीरिक रुपमा पसिना बगाएरमा मात्र सबै कुरा हुन्छ भन्ने होइन । मानिसका चाहना तथा समाजको आर्थिक अवस्थाको ज्ञान प्राप्ति मात्रै सबथोक हुँदैन । माक्र्सवादका प्रणेता कार्ल माक्र्सले सुन्दर संसार निर्माणको पहिलो शर्त जाग्रत मनुष्य हो भनेका छन् । गौतम बुद्धले पनि मानिसको चेतनशीलता र जागरूकतालाई सत्य र धर्मको आधार मानेका छन् ।
माक्र्स भन्छन्– आजसम्मका विद्वान र दार्शनिकहरूले संसारको व्याख्या गरेका छन्, तर मूल कुरा संसारलाई बदल्नु हो । संसार बदल्नका लागि सचेततापूर्वक अन्धविश्वासी, निरङ्कुश र एकलकाँटे सोच, शैली र शासकीय प्रवृत्तिको विरोध गर्न सक्नुपर्छ । संसारमा अन्याय, बेरीति, कुशासन, शोषण र पक्षपात छ, तर दुःख देखाएर मात्रै हुँदैन, त्यसको समाधान पनि चाहिन्छ । समाधान दिनका लागि संसार बुझ्न जरुरी छ । समाजको आर्थिक अवस्था, त्यहाँको राजनीतिक अवस्था, त्यहाँको भूगोलका लगायत जनताहरूको आवश्यकताको पहिचान गरी अन्तरविरोध पहिचान गर्न जरुरी छ । जनचाहना बुझ्न तथा समाजका मानिसले कस्ता पीडा भोगिरहेका छन् सो कुरा बुझ्न, नीति–निर्माणकर्ताले समाजको अवस्था बुझेर नीति–निर्माण गर्न, इतिहास, संस्कृति आदि बुझ्न सिर्जनात्मक चिन्तनको जरुरी हुन्छ ।
चिन्तनशील हुनका लागि अध्ययनशील हुनु जरुरी छ भने साथै आफ्नो सिर्जनालाई आफैले सम्मान गर्नसक्ने हुनु जरुरी पनि छ । ठीक भए पनि, ठीक नभए पनि नेताको गुणगान गाउने, नेताबाट भएका जनविरोधी कृत्य नदेख्ने भाटगिरी र चारणगिरीबाट मौलिकता र सिर्जनात्मकताको अपेक्षा गर्नु व्यर्थ हुन्छ । डर, त्रास र भविष्यमाथिको अनिश्चय मानिसले सिर्जनात्मक चिन्तन गर्न सक्दैन र यसले मानिसमा तार्किक क्षमताको विकास गर्दछ । लेखक एक मार्गदर्शक भएकाले समाजमा उसलाई सम्मान गर्ने मानिस बढी हुने भएकाले आफूलाई लेखक वा चिन्तकले कहिले पनि हलुको रूपले लिनु हुँदैन । उसले बढीभन्दा बढी बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरूसँग मात्र सङ्गत गर्नुपर्छ ।
विद्वान व्यक्तिका कुरा ध्यान दिएर सुन्ने, विभिन्न कार्यक्रम तथा समाजको अवलोकन गर्ने, कम बोल्ने, तार्किक कुरा मात्र बोल्ने जस्ता प्राज्ञिक गुणहरू आफूमा विकसित गराउनुपर्ने हुन्छ । अहिलेका मानिसलाई धेरै गन्थनमन्थन सुन्ने वा पढ्ने फुर्सद हुँदैन । धेरै अध्ययन र अनुसन्धानपछि मात्रै लेखेको लेख तथा सिर्जनात्मक रचनाले लोकप्रियता हासिल गरेको हुन्छ । सिर्जनात्मक चिन्तन पद्धतिले इतिहास, संस्कृति, सभ्यता लगायत ज्ञानगुनका कुराहरु जीवित राख्नमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । यसले एकातिर मस्तिष्कलाई मन्थन गर्नमा सहयोग गर्दछ भने अर्कोतिर मस्तिष्कको निर्मलीकरणमा विशेष भूमिका खेलेको हुन्छ । यसकारण सिर्जनात्मकताले सकारात्मकतालाई जन्म दिन्छ । नेपालमा सिर्जनात्मक चिन्तनको खडेरी छ ।
नेपाली समाजमा गुलामी, दलाली, अन्धानुकरण, लोकरिझ्याइँ र लोकप्रियतावादी सोच हावी हुँदै गएको छ । समाजका नकारात्मकताको सूची बनाएर त्यसको जगमा दल गठन गर्ने र सामाजिक सञ्जालको सहायताले मतदातालाई प्रभावमा लिने क्रम बढ्दो छ । नकारात्मकता वनको डढेलो झैं छिटो फैलन्छ । जसले समाजको समग्र हितको कुरा गर्छ, दिगो विकासको कुरा गर्छ र दूरदृष्टि राखेर योजना र कार्यक्रम गर्छ, त्यो पछाडि पर्छ । नवीन चिन्तन फगत चितासम्म पुग्ने चिन्ताजस्तो हुन्छ । गौतम बुद्धले भने झैं संसारलाई सुन्दर बनाउन जाग्रत मनुष्यको काम हो । अन्धविश्वासी, चाकरीबाज, पदलोलुप, सत्यलाई सत्य भन्न नसक्ने र गलत भन्ने बुझेर पनि विरोध गर्न नसक्ने जाग्रत मानिसले गर्दैन । एकजना भए पनि सत्यको पक्षमा उभिने शक्ति सिर्जनात्मक चिन्तनले दिन्छ र यसले चेतना, विवेक र हृदयको आँखा एकैपटक खोल्दछ । मुलुक निर्माणका लागि श्रम, सिर्जना र सकारात्मक सोचको खाँचो पर्छ । आफ्ना बाका गलतलाई गलत भन्न सक्नुपर्छ । आफ्ना दाजु र भाउजू का नराम्रा कुरालाई नराम्रो भन्न सक्नुपर्छ । आफ्नी माताका पनि कमजोरीको आलोचना गर्न सकियो भने मात्रै सच्याउन सकिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here