चन्द्रमणि गुरागाईंको जन्म २००१ साल जेठ ६ गते शुक्रवारका दिन साबिकको भीरगाउँ गाविस, (हालको धनकुटा नगरपालिका –२, भीरगाउँ, धनकुटा) मा पिता मोहनलाल गुरागाईं र माता नरेन्द्रकुमारी (दाहाल) गुरागाईंका माहिला छोराका रूपमा भएको हो ।
त्यति धेरै औपचारिक शिक्षा नलिए पनि उनले आफूसँग भएको बुद्धि र विवेकले भ्याएसम्म समाजका लागि सर्धै भलो हुने काम नै गरेका छन् । २०१३ साल माघ २७ गते भीरगगाउँकै चन्द्रलाल लामिछाने र गङ्गादेवी लामिछानेकी माहिली छोरी गोमादेवी लामिछानेसँग वैवाहिक बन्दनमा बाँधिएका उनीहरूका दुई भाइ छोरा र दुई बहिनी छोरी गरेर चार जना सन्तान रहेका छन् ।
जीवन सङ्घर्षमय छ, त्यसलाई भागेर होइन सामना गरेर अघि बढ्नुपर्छ भन्ने उनको मान्यता रहेको पाइन्छ । २०३८ सालमा भाइ गुमाएका उनले २०४६ सालमा बुवा, २०६५ सालमा आमा र २०७५ सालमा श्रीमती गुमाए । यसरी एकपछि अर्को प्रहार भए पनि उनी विचलित नभई अघि बढिरहे ।
निकै सङ्घर्षमय जीवन विताएका चन्द्रमणिले आफ्नो महत्वपूर्ण समय समाजसेवामै खर्चिएका छन् । कक्षा ८ सम्मको मात्र औपचारिक शिक्षा लिएका भए पनि उनले केही वर्ष शिक्षक र डेढ दशकजति समय बहिदार, मुखिया हुँदै खरिदार भएर काम गरेका छन् ।
२०१३ सालमा ननिलाल चौधरीको नेतृत्वमा दुलारीमा स्थापना भएको दीपक अपर प्राइमरी स्कुलमा उनले ३ वर्ष पढाए । त्यसपछि उनी तत्कालीन दुलारी आदर्श गाउँपञ्चायतमा जोडिए । २०२६ सालमा उनी बहिदारका रूपमा प्रवेश गरेका उनले २०३९ सालसम्म त्यहाँ काम गरे । बहिदारबाट प्रवेश गरेका उनी मुखिया हुँदै खरिदारसम्मको जिम्मेवारी समाले । यद्यपि गाउँपञ्चायतको जागिर उनको त्यो स्वयम् सेवा थियो ।
गाउँपञ्चायतबाट निस्किएपछि उनले गाउँघरमा बाटाघाटा, पैनी तथा संङ्घसंस्थाको विकासमा कही सहयोगी त कही नेतृत्वदायी समेतको भूमिका निर्वाह गरे । उनी कठिन परिस्थितिमा पनि विचलित नभई आफ्नो श्रम र पसिना रोपेर सुतीखेतीमै रमाउँदै आएका व्यक्ति हुन् ।
कान्छी छोरी नम्रताको प्रेरणाबाट लेखन कार्य अगाडि बढाएका उनले २०८० सालमा ‘भीरगाउँदेखि भीमचौरीसम्म’ नामक कृति प्रकशित भएको छ ।
‘भीरगाउँदेखि भीमचौरीसम्मु को विचरण
चन्द्रमणि गुरागाईं मूलतः फुटकर रूपमा कबिता विधामा कलम चलाउँदै आएका व्यक्ति हुन् । उनी कविताका अतिरिक्त निबन्ध पनि लेख्ने गर्छन् । उनका फुटकर रचना केही पत्रिकामा प्रकाशित पनि भएका छन् ।
चन्द्रमणि गुरागाईंको २०८० साल साउनमा ‘भीरगाउँदेखि भीमचौरीसम्म’ नामक कृति प्रकाशित भएको छ । उनको यो आत्मकथाको पुस्तक हो । यसमा उनले आफ्नो जीवनकथा वा जीवन भोगाइलाई सुन्दर तथा कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । भानु साझा पुस्तकालय प्रकाशक रहेका यस कृतिमा विविध विषय समेटिएका छन् ।
भूमिकासहित २१० पृष्ठमा समेटिएको यो कृति उनका बाल्यकालीन याददेखि लिएर, शिक्षादीक्षा, विवाह, बसाइँ सराइ हुँदै उनले बिताउँदै आएको पछिल्लो एकल जीवनका बारेमा समेत उल्लेख गरिएको छ ।
२०२० सालमा सम्भावनाको खोजीमा जन्मस्थल छोडेर तराई झरेका उनी सुनसरीको सत्तेरझोडा गाउँपञ्चायत (हात्तीमुडा) मा हुँदै भीमचौरीमा आएर बसे र जीवनको महŒवपूर्ण समय त्यही व्यतीत गरेका छन् । यसमा उनको जन्मस्थल धनकुटाको भीरगाउँदेखि बसाइँ सरेर आएर बस्न थालेको मोरङको भीमचौरी हुँदै अमेरिकासम्मका घटनाहरू अटाएका छन् । सारमा भन्दा यो उनको जीवनकथा वा अनुभवकथा पनि हो ।
हुनत यस कृतिमा उनले आफ्नो अनुभव मात्र समेटेका छैनन्, यसमा यात्रा वर्णनका साथै उनले समाजमा लुकेर रहेका केही सामाजिक व्यक्तित्वलाई समेत बाहिर ल्याउने काम गरेका छन् । यसरी हेर्दा यस कृतिलाई एउटा खोज अनुसन्धानको पुस्तकका रूपमा पनि लिन सकिने आधारहरू रहेका छन् ।
आफ्ना लागि मात्र बाच्नेको भिडमा त्यस्ता व्यक्तिहरू पनि भेटिन्छन्, जो सधैँ समाजका लागि मात्र जिउँछन् र समाजकै लागि मर्दछन् । जसले औपचारिक शिक्षाको अवसर नपाए पनि उनीहरूले समाजसेवामा आफ्नो समय खर्चिएका हुन्छन् । उनीहरू आफ्नो सुतीखेतीसँगै समाजका लागि केही न केही गरिरहेका हुन्छन् । सारमा भन्दा उनीहरूले आआफ्ना ठाउँबाट समाजलाई महत्वपूर्ण योगदान दिएका हुन्छन् ।
त्यस्ता व्यक्तित्वका बारेमा खासै सोधीखोजी गर्ने काम पनि हुँदैन, उनीहरूलाई बाहिर ल्याउन कसैले चासो लिएको पनि पाइँदैन । राज्यले पनि त्यस्ता व्यक्तिले समाजमा आफूअनुसारको योगलानलाई खासै चासो दिएको छैन । तर चन्द्रमणिले भने आफ्नो पुस्तकमार्फत् त्यस्ता व्यक्तिलाई बाहिर ल्याउने काम गरेका छन् । आफ्नो क्षमताअनुसार समाजमा योगदान पु¥याउने व्यक्तिहरूलाई बाहिर ल्याएर उनीहरूलाई जीवित राख्ने काम गरेका छन् ।
पुस्तकको १५१ देखि १७० पृष्ठसम्म ‘असल मानिसहरू’ शीर्षकमा केही व्यक्तित्वहरूको चर्चा गरिएको पाइन्छ । समाजका लागि सबैथोक समर्पण गर्न पनि अल्छी नगर्ने, समाजकै लागि जिउने त्यस्ता व्यक्तिका बारेमा कसैले पनि नलेखेकाले देखेर आफूले आफ्नो पुस्तकभित्र उनीहरूलाई अटाएको उनको भनाइ रहेको छ । उनी भन्छन्, ‘समाजका लागि जीउने धेरै मानिसहरू छन् । त्यस्ता धेरै व्यक्ति त कति बितिसकेका होलान् । उनीहरूका बारेमा खासै खोजी भएको पाइँदैन । त्यही भएर मलाई खोजी गर्न मन लाग्यो । सबैको सल्लाहअनुसार यसलाई पूर्णता दिने काम भयो । सबैको विवरण प्राप्त हुन सकेन, प्राप्त भएका सबैलाई अटाउन पनि सकिएन । जे जति यहाँ अटाएका छन् उनीहरूको यो समाज रूपान्तरणमा योगदान रहेको छ ।’
निष्कार्ष
इच्छा शक्ति भएका जतिजुकै कठिनभन्दा कठिन कार्य पनि फते गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा चन्द्रमणि गुरागाईंको जीवनबाट लिन सकिन्छ । जीवनको ६ दशक पारेपछि मात्र उनले कलम चलाउन सिके, तर कडा मेहनत र लगावका कारण उनको पुस्तक प्रकाशित भयो । पुस्तकको नाम राखियो ‘भीरगाउँदेखि भीमचौरीसम्म’। आज त्यही पुस्तकका कारण उनको परिचय बनेको छ । कान्छी छोरी नम्रताका कारणले लेखक बन्न सकेको बताउने उनी पछिल्लो समय भने साहित्यिक गतिविधिमा निकै सक्रिय रहँदै आएका छन् । अन्तमा लेखक चन्द्रमणि गुरागाईंको साहित्यिक उन्नयनको कामना गर्दछु । जय साहित्य ।