रातेखालमा ‘दनउस’को नौमती बाजा बजाउने तालिम सम्पन्न

0
23

अर्जुनधारा, दलित नगर उपभोक्ता समिति अर्जुनधाराको आयोजना र अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित आधारभूत नौमती बाजा बजाउने तालिम बिहीवार सम्पन्न भएको छ ।
अर्जुनधारा–४ रातेखालस्थित भद्रकाली शक्तिपीठ सिंहवाहिनी मन्दिरको सभाहलमा ४५ दिनसम्म सञ्चालन भएको उक्त तालिम स्थानीयस्तरमा रहेका दलित युवा एवम् महिलाहरुलाई सीप र ज्ञान प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको समितिका सचिव धनकुमार नेपालीले जानकारी दिए ।
प्रशिक्षक बुद्धिमान शिवा दर्जी र सहायक प्रशिक्षक राजकुमार कार्की डोलीले प्रशिक्षण दिएको तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको बताइएको छ । प्रविधि हस्तान्तरणसहितको तालिम कार्यक्रम अन्र्तगत सहभागी प्रशिक्षार्थीहरुको समूहलाई एक थान नौमती बाजाको सेट पनि उपलब्ध गराइएको थियो ।
समितिकी अध्यक्ष माया खातीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष अम्बरबहादुर कटुवाल, नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, प्रशिक्षक दर्जीलगायतले मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख पराजुली, वडाध्यक्ष कटुवाल, सामाजिक विकास समितिका संयोजक परियार, कार्यपालिका सदस्य बिमला रोक्का, ज्येष्ठ माताहरु मीना शिवा, सबुमाया चौधरी, सावित्रा खाती र सीता सुनामलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
समितिकी सहसचिव वीना विसुंखेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नेपालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here