पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरेमा आदिवासी जनजातिहरूको अधिकार सम्बन्धी २ दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेको आयोजना तथा पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा उक्त सचेतना कार्यक्रम भएको हो। पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेका अध्यक्ष भुवन धिमालको अध्यक्षतामा सचेतना उद्घाटन कार्यक्रममा धिमाल जाति विकास केन्द्रकी सचिव तथा पहिलो नागरिक व्यवस्थापन समितिका सल्लाहकार रोमान्सी धिमाल , समितिका सल्लाहकार – तिलक धिमाल, समेत उपस्थिति रहेको थियो।
पूर्वी मोरङका नगरपालिकाहरूले पहिलो जाति भनेर धिमाल जातिलाई घोषणा गरे पनि आफ्नो पहिचान र परिचय दिलाउने स्मारक निर्माण वा कुनै चिज नगरिएको भन्दै गुनासो पोख्नुभयो। साथै,उहाँहरूको हक हित र अधिकार संरक्षणका लागि देखिने कुनै उदाहरणीय कार्य नगरेको आरोप लगाएका छन्। उहाँहरुले धिमाल समुदायलाई राजनैतिक,आर्थिक, शैक्षिक, सामाजिक, स्वास्थ्य , रोजगारी जस्ता अधिकारहरू सम्बन्धी स्थानीय तह अन्तर्गतका पालिकाहरूबाट विशेष आरक्षण सहितको अधिकार सुनिश्चित गरिदिन अनुरोध गर्नुभएको थियो।
यो जातिलाई झापाको दमक र पूर्वी मोरङको उर्लाबारी,पथरी शनिश्चरे, कानेपोखरी लेटाङ, बेलबारी लगायतका पालिकाहरूले प्रथम नागरिक भनी यसअघि नै घोषणा गरिसकेका छन्।
उद्घाटन समारोहमा धिमाल जाति विकास समिति पथरी शनिश्चरे कोषाध्यक्ष प्रमिशा धिमालको स्वागत मन्तव्य राख्नुभएको थियो भने समितिका सचिव पदम धिमालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।
तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई आदिवासी जनजाति महासङ्घ झापाका पूर्व अध्यक्ष प्रेम घिसिङ र ईटहरी उपमहानगरपालिकाकी अधिकृत मीना धिमालले सहजीकरण गरीरहनु भएको छ। हाल पथरी शनिश्चरेमा २ हजार ५५० जनसङ्ख्या र ५ सय घरधुरी रहेका छन्।