योगेन्द्र योगी
बिराटनगर,
सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित तथा नियन्त्रित औषधि सहित ६ जानालाई प्रहरीले पक्राउ गरेको छ। धरान उप-महानगरपालिका-१ शितल मार्ग स्थितमा डेरा गरी बस्ने मानिसहरुले लागु औषध करोवार गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले भोजपरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ, ३१ वर्षीय सागर राईलाई पक्राउ गरेको हो।
उनीहरुले कोठा भित्र लुकाई छुपाई राखेको प्रतिबन्धित औषधी ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक, नाइट्राजेपाम, अरोमिञ्च गरी १० हजार ३ सय १५ पिस , ब्राउन सुगर १ ग्राम ७ सय ६० मिलिग्राम र नगद रुपैया २ लाख ५३ हजार ७ सय ९६ सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
सोहिदिन वडा प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१५ स्थितबाट धनुषा जनकपुर घर भई हाल सुनसरी धरान-१५ लक्ष्मन मार्ग स्थितमा डेरा लिई बस्ने २५ वर्षीय राहुल शाह र निजकै श्रीमती २४ वर्षीया लक्ष्मी राईको कोठाबाट ट्रामाडोल-५ हजार ५० क्याप्सुल, र धरान-१७ सियोन मार्ग स्थितमा डेरा लिई बस्ने ४० वर्षीया ममता भगतको कोठा बाट ट्रामाडोल, २० स्पास्पेन, ओपाडोल गरी ६ हजार २ सय ८५ चक्की औषधी सहित पक्राउ गरेको छ ।
यसैगरी,मोरङ,झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको बेलबारी नगरपालिका-३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो।
यस्तै,इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ बाट खटिएको प्रहरी टोलिले उर्लाबारी नगरपालिका-९ का २५ वर्षीय सुमन राईलाई निजकै घरबाट प्रतिबन्धित औषधि स्पास्मिट, ट्रमाडोल गरी २ सय २ ट्याब्लेट र ब्राउन सुगर १२ मिलिग्राम सहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको प्रहरी टोलिले मेचिनगर नगरपालिका-६ का २९ वर्षीय दिपक मल्लिक,२५ वर्षीय सरोज दाहाल, २५ वर्षीय शौगात पोखरेल र २१ वर्षीय बिजय भुजेललाई १ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका-१० का २१ वर्षीय अनमोल राईको घरबाट लागू औषध गाँजा २ सय ५९ ग्राम, औषधी कोलिवन र ट्रामाडोल गरी ७ सय ३६ ट्याब्लेट सहित गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ।