कमल ।
झापाको कमल गाउँपालिकामा न्यायिक समिति र बस्तीस्तरका न्यायिक समितिको न्यायिक अधिकार सम्बन्धी अन्तरक्रिया सुरु भएको छ ।
गाउँपालिका स्तरीय न्यायिक समितिको आयोजनामा आइतबार ३ नम्बर वडा बाट सुर भएको अन्तरक्रिया कार्यक्रम क्रमश सबै वडाका बस्तीस्तरका सञ्चलन गरिने न्यायिक समितिले जनाएको छ ।
कमल वासी आम जनतालाई न्याय दिलाउने विषयमा र जनतालाई परेका अन्यायलाई छिटो छरितो र सुलभ तरिका बाट न्याय सम्पादन गर्न न्यायिक समितिले काम गरिरहेको छ । यस्ता कार्यक्रम बाट न्याय सम्पादनमा अझ धेरै सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।
कार्यक्रममा न्यायिक समितिको काम कर्तव्य अधिकार, मेलमिलाप र निरुपण गर्न सकिने उजुरीका सम्बन्धमा , स्थानीय सरकार ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ को न्यायिक अधिकारका सम्बन्धमा सहभागीलाई जानकारी गराउने उद्देश्यीय यो बस्ती स्तरका कार्यक्रमको आयोजना गरिएको कमल गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमिला न्यौपाने तिवारीले बताईन् ।
न्यायिक समितिमा परेका उजुरी हरुमा सम्पत्ति, पारिवारिक झगडा, घरेलु हिंसा, सामान्य कुटपिट, जमिन सम्बन्धी विवाद, माना चामल, तेस्रो पक्षको सहमतिमा हुने आर्थिक विवाद लगायतका उजुरी आउने गरेको छन् ।
कुन प्रकारको उजुरी कहाँ गर्ने भन्ने कुरा स्वयम् उजुरी कर्तालाई जानकारी नभएका करणले पनि कतिपय पीडित व्यक्ति न्याय नपाएर अन्याय सहेर बसेका छन् । समाजमा अन्यायमा परेका व्यक्तिलाई कहाँ कसरी उजुरी गर्दा न्याय पाइन्छ भन्ने कुराको जानकारी दिनका लागी यो अन्तरक्रिया अत्यन्तै उपलब्धि मूलक हुने ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले बताए ।
अन्तरक्रिया कार्यक्रममा ३ नम्बर वडामा रहेका टोल विकास संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । उपस्थित सहभागीलाई वकिल इन्द्र लुइटेलले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम गाउँपालिकाका प्रशासन शाखाका कार्यरत कर्मचारी तारा बजगाईँले सञ्चालन गरेकी थिईन् भने उजुरी प्रशासक लय चौलागाइँले स्वागत गरेका थिए ।