काँकरभिट्टादेखि लौकहीसम्मको पूर्व–पश्चिम महेन्द्र राजमार्गको विस्तार गर्ने कार्यको ठेक्का सम्झौता भएको तीन वर्ष हुन लाग्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन । एशियन हाइवेका रुपमा चार लेनको सडक निर्माण गर्ने कार्यलाई खण्ड–खण्डमा विभाजन गरिएको छ । त्यस अनुसार पूर्वी र पश्चिमी खण्डका लागि अलग–अलग कार्यालय समेत सञ्चालन गरिएको छ । पूर्वी खण्डमा काँकरभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर र पश्चिमी खण्डको केर्खादेखि इटहरीसम्मको ५०.७६ किलोमिटर क्षेत्र अहिले निर्माणाधीन छ । दुबै खण्डमा सडक बिस्तारको कामले अपेक्षा गरे अनुरुप गति लिन नसकेको काँकरभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । यस खण्डमा पर्ने ठूला नदी विरीङ, निन्दा र कन्काई र पश्चिमका रतुवा, बक्राह र लोहन्द्रामा पुल बनाउनु छ । यी ठूला नदीमाथि बनाउनुपर्ने पुलको निर्माण गति पनि सुस्त रहेको सडक योजना कार्यालयले जनाएको छ ।
बंगलादेशको ढाका हुँदै पूर्वी नेपालको मुख्य नाका काँकरभिट्टालाई जोड्ने यो सडक शहरी क्षेत्रमा छ र अन्य क्षेत्रमा चार लेनको हुनेछ । एशियाली विकास बैंकको सहयोगमा दश अर्ब रुपैयाँको लगानीमा सडकको स्तरोन्नति भइरहेको छ । सडक क्षेत्रमा पर्ने कल्भर्टहरुको स्तरोन्नतिको कार्य सत्र प्रतिशत मात्र भएको आयोजना प्रमुख सुनिलबाबु पन्तले बताएका छन् । निर्माणाधीन कल्भर्टमा डाइभर्सन बनाइएको र वर्षा हुनासाथ डाइभर्सनबाट गरिने यात्रा जोखिमपूर्ण हुने भएकाले आयोजना कार्यालयले निर्माण कार्यको अनुगमन गरिरहेको बताइएको छ । पानी नपर्दा धुलो र पानी पर्दा हिलो र खाल्डाखुल्डी भएर डाइभर्सन भएर आवागमन गर्ने सवारी दुर्घटनाको जोखिम बढेको छ । पूर्वी खण्ड अन्तर्गतको यस खण्डमा भएको निर्माणको सुस्तताले वर्षात्मा यातायात नै अवरुद्ध हुने सम्भावना छ ।
आयोजना कार्यालयले वर्षात्को समयमा सवारी आवागमनमा समस्या आए ¥यापिड रेस्पोन्स टोली मार्फत तत्काल समाधान गर्ने दाबी गरेको छ । त्यस्तै सडक बिस्तारकै काम निरन्तर जारी रहने उसको भनाइ छ । सडक सञ्जालमार्फत विभिन्न एशियाली देशहरुसँग जोड्ने यो सडकको सम्पन्नताले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना पनि बढाउने छ । सडकले भारत, बंगलादेश, म्यान्मार हुँदै थाइलेण्डलाई जोड्ने भएकाले निर्माण कार्यलाई तीब्रता दिन आवश्यक छ । त्यसका लागि सम्बद्ध आयोजना कार्यालय, मन्त्रालय र सरकार हुँदै प्रदेश र स्थानीय सरकारले पनि निर्माण कम्पनीलाई सजग गराउनु पर्दछ । अहिले नै राजमार्गको यात्रा सवारी, यात्रु र स्थानीयका लागि कष्टकर भइसकेको छ । त्यसैले मुख्य प्राथमिकताका साथ राजमार्ग भएर यातायात सुचारु गराउन स्थानीय प्रशासनले ध्यान दिनुपर्दछ ।