नेपालमा प्रत्येक वर्ष भित्रिने साढे तीन सय मेट्रिक टन विषादी मध्ये ८५ प्रतिशत विषादि तरकारीमा मात्रै खपत हुने बाली संरक्षण निर्देशनालयको तथ्याङ्क छ । त्यति धेरै विषादी तरकारीमा प्रयोग हुँदा त्यसले पुरुषको प्रोस्ट्रेट, महिलाको पाठेघर क्यान्सर, गर्भवती महिलाको गर्भ तुहिने र अन्य थुप्रै रोग लाग्ने गरेको अनुसन्धानले देखाएको छ । गर्भमा रहेको बच्चा र आमाको शरीरमा गम्भीर असर पुग्ने हुँदा त्यस्तो प्रतिकूल असरबाट जोगिन गर्भवती, तरुणी तथा बालबालिकालाई विषादीयुक्त सागसब्जीबाट टाढै रहन चिकित्सकले सुझाएका छन् ।
एग्रोभेटहरूले किसानलाई विषादी दिँदा कुन तरकारीलाई कति मात्राको विषादी दिने र त्यसको प्रयोग कति समयको फरकमा दिनुपर्छ भन्ने बुझाउन नसक्दा विषादीको बढी प्रयोग हुने गरेको छ । कृषि सामग्री विक्रेताहरुले किसानलाई कुन तरकारीलाई कति विषादी प्रयोग गर्नुपर्ने भन्ने बुझाउन नसक्दा यस्तो समस्या बढ्दै गएको हो । विगत एक दशकको मात्र अध्ययन गर्ने हो भने पनि तुलनात्मक रूपमा अहिले तरकारीमा किरा लाग्ने, फल सानो हुने र हेर्दा नराम्रो देखिने जस्ता समस्याले विषादीको बढी प्रयोग गर्न किसानहरु लागेका छन् । नेपाली समाज परम्परावादी छ । धर्म, जात, वर्ग र क्षेत्र बीचमा सीमारेखा खिचिएका छन् । तर, रोगका लागि कुनै जात, भाषा, संस्कृति र क्षेत्रले केही फरक पार्दैन ।
नेपालमा झाडापखाला, हैजा जस्ता सर्ने रोगहरू माथि धेरै हदसम्म विजयको सफलता हात पर्दै गएको छ । सर्ने रोगबाट मर्ने नेपालीको सङ्ख्यामा कमी आएको छ, तर मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मुटुरोग लगायतका नसर्ने रोगको दबाब बढ्दो छ । जीवनमा कहिल्यै पनि जाँडरक्सी, चुरोटबिँडी नलिने मानिस क्यान्सरबाट कसरी म¥यो भनेर हाम्रो गाउँ–समाजमा चर्चा गरेको सुनिन्छ । धूमपान र मद्यपानबाट मात्र होइन, रासायनिक विषादीले पनि जीवन नै सिध्याउने रोगहरु लाग्छन् भन्ने कमैलाई मात्र थाहा छ । हामीले दैनिक उपभोग गर्ने प्रायः तरकारीहरु उत्पादन गर्दा खेतबारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको छ । अनियन्त्रित र बिना पूर्ण जानकारी तरकारी बालीमा प्रयोग भइरहेको विषादीका कारण मानव शरीर र वातावरणमा नकारात्मक असर पारिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार झन्डै ३१ प्रतिशत आत्महत्याको कारण विषादी नै भएको उल्लेख छ । विषादीले मानिसमा मुर्छा पर्ने, झाडापखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म ल्याउँछ भने लामो समयपछि देखिने असरमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अङ्गमा असर, नशा सम्बन्धी समस्या ल्याउने गर्दछ ।
संयुक्त राष्ट्रसङ्घले खतरनाक विषादी मानव स्वास्थ्य र वातावरणको लागि चुनौती रहेको उल्लेख गरेको छ । दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधार तथा कृषिको विविधिकरण, व्यवसायीकरण र औद्योगिकीकरणका नाममा कृषक सशक्तिकरणको नारा दिए पनि सरकारले विषादिको प्रयोगमा कमी र छुटकारा दिने कार्यमा खासै योगदान नदिएको वातावरणविद्को भनाइ छ । घातक विषादिको प्रयोग निर्मूलीकरण गरौं, खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौं भन्ने नेपाल सरकारको नारा नै छ । नारा सकारात्मक भए पनि पर्याप्त होइन, किनभने व्यहारले नै सबै कुराको निर्धारण गर्ने हो ।
किसानहरुले किरा मार्ने सजिलो उपायको रूपमा लिँदै, तरकारीमा विषादी प्रयोग गरेर रोगबाट बचाउने उपयुक्त तौरतरिका नजान्दा जनस्वास्थ्यमा प्रत्यक्ष जोखिम बढिरहेको हो । पुख्र्याैली पेसाको रूपमा भन्दा व्यावसायिक तरकारी खेती गर्नेले बढी विषादीको प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ । यसका लागि उपभोक्ताहरू पनि जिम्मेवार देखिएका छन् । बजारमा राम्रो तरकारी देखे मात्रै उपभोक्ताले किन्ने भएकाले किसानहरू उपभोक्ताको चाहना पूरा गर्न विषादी प्रयोग गर्नु परेको तर्क गर्छन् । विषादीले मानव स्वास्थ्यमा मात्र नभई वातावरणमा समेत विभिन्न समस्या जन्माएको छ । मौरीको सङ्ख्यामा कमी ल्याउन खेतबारीमा प्रयोग गरिएका विषादि प्रमुख कारक रहेको प्रमाणित भइसकेको छ ।
बाली बिरुवामा हुने परागसेचन प्रक्रियामा नै कमी आउने र कृषि उत्पादनमा ह«ास आएको तथा विषादीको अवशेष माटो तथा पानीमा बढेर गएको, ओजन तहको विनाशमा विषादीको भार करिब छ प्रतिशत नाघेको तथ्याङ्कमा उल्लेख छ । करिब एक हजार चार सय किसिमका विषादी पञ्जीकृत गरिएको भए पनि १६ थरी विषादिहरू क्रमशः क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायल पाराथायन, मेनोक्रोटोफस र इण्डोसल्फान र फोरेटलाई नेपालमा निषेध गरिएको छ ।
नेपाल सरकारद्वारा रेड लेबल लागेका (रातो स्टिकर भएका) प्रतिबन्धित विषादिहरू मोनोकोटाफोस, टुपोन्ड, कोराजीन, मिराकुलेन स्प्रीड, सुपर किलर, रोगर आदि विषादीहरू अत्यधिक मात्रामा बिक्रीवितरण तथा प्रयोग भइरहेका छन् । नेपालमा अहिले तीन सय ५० मेट्रिक टनभन्दा बढी किटनाशक औषधि आयात हुने गरेको तथ्याङ्क छ । किसानहरूमा औषधिले पु¥याउने क्षति सम्बन्धी ज्ञानको कमी हुनु र चाँडै सम्पत्ति कमाउने ध्याउन्न हुनाले कीटनाशक औषधिको प्रयोगमा बढोत्तरी भइरहेको हो । मानिसहरू स्वार्थी र व्यक्तिकेन्द्रित भइरहेका छन् । द्रव्यपिचासी मानसिकताले आमजनताको स्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ ।
आजको यस्तो भयावह अवस्थाको समाधान के हुन सक्छ ? रासायनिक विषादिको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक, जैविक तथा प्राकृतिक कीटनाशक औषधिको उत्पादनलाई तीब्रता दिनुपर्छ । विद्यालय शिक्षाको पाठ्यक्रममा विषादीको प्रयोगबाट हुने बेफाइदा तथा प्रयोग गर्न अपनाउनुपर्ने उपायहरू समावेश गरेर पठनपाठनको व्यवस्था मिलाउनुपर्छ । विषादीको उत्पादन तथा आयातलाई निरूत्साहित गर्नुपर्छ । विषादीले किसानलाई मात्र होइन, बिक्रेता, सञ्चयकर्ता वा उपभोक्ता सबैलाई शिकार बनाउँछ भन्ने सच्चाइलाई सबै पक्षले आत्मसात गर्न आवश्यक छ । जानेर वा नजानेर हामीले चुनेको बाटोलाई बदलेर विषादीको प्रयोगमा कमी ल्याउँदै जैविक विषादी र जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्न जरुरी छ ।
पछिल्लो समयमा बजारमा चलेका वर्णशङ्कर वा हाइब्रिड बीऊबिजनबाट उत्पादन बढी हुने भए पनि त्यसलाई रोग किराले बढी आक्रमण गर्ने गरेको त्यस्ता बीउ प्रयोगकर्ताहरूले गुनासो गर्ने गर्छन् । त्यसको उपचारको लागि किसानहरूले विभिन्न रासायनिक मल र विषादी प्रयोग गर्नु परेको उनीहरूको गुनासो छ । विशेषगरी बेमौसममा पनि फलाउन सकिने गोलभेंडा, भ्यान्टा, काउली, फर्सी र रायोको सागमा विषादिको प्रयोग बढी गरिने गरिएको छ । रासायनिक विषादीको प्रयोगका कारण गर्भवती, तरुणी र बालबालिकामा पहिलो प्रभाव देखिन्छ । गर्भवती महिलाको पेटमा रहेको बच्चा अपाङ्ग र नपुंसक जन्मनु, तरुणी महिलाको पाठेघर सुक्न गई बाँझोपन देखिनु र जन्मिसकेका बालबालिकापछि सुस्त मनःस्थितिको हुनु विषादीको प्रमुख असर हो ।
नीतिनिर्माणको तहमा हुनेहरूले विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै जैविक विषादीको उत्पादन तथा बिक्री–वितरण र उपयोगमा लाग्न किसानहरूलाई प्रोत्साहित गर्ने ऐन कानून तथा नीतिनियम बनाउनु आवश्यक छ । जैविक विषादी निर्माणका फाइदा, तरिका र उपयोग सम्बन्धी व्यापक चेतनामूलक कार्यक्रम गर्न आवश्यक छ । विषादीको असरबाट बच्न उपभोक्ताहरूले तरकारी किन्दा कम औषधि प्रयोग हुने तरकारीहरू जस्तै इस्कुस, चम्सुरको साग, हरियो बोडी र मौसम अनुसारका तरकारी खानुपर्ने कृषि विज्ञहरूको सुझाव छ । विषादीको नकारात्मक असर, त्यसले पार्ने प्रभाव, विषादीको सुरक्षित ओसारपसार तथा प्रयोग र विषादीका विकल्पका प्रविधि सम्बन्धी ज्ञान कृषकका लागि जरुरी छ ।
किसानमा चेतना अभिवृद्धि गर्न सकिएमा मात्र धेरै समस्याको समाधान गर्न सम्भव हुन्छ । विषादी प्रयोग सम्बन्धी राज्यको नीति पुनरावलोकन गर्नुपर्छ । राज्यपक्ष, उपभोक्ता, किसान, उत्पादनकर्ता सबै सङ्कीर्ण स्वार्थबाट माथि उठेर मानवहित र जीवजगतको हितका लागि काम गर्नुपर्छ । सकारात्मक ढङ्गबाट सोचेर समाधान निकाल्न प्रयत्न गर्दा लामो प्रयत्नपछि मात्र यो समस्याले निकास पाउन सक्छ । बहुपक्षीय पहल र प्रयत्न जरुरी छ विषादी रोकथाम र वातावरण सुधारका लागि । राज्यको मूल नीति राजनीति भएकाले राज्य र सरकारले नै यसका लागि विशेष भूमिका निर्वाह गर्नुपर्छ ।