झापा, प्रहरीले मोटरसाइकल चोरीमा सम्लग्न गिरोहलाई पक्राउ गरेको छ । उनीहरुका साथबाट एक थान तीन पाङ्ग्रे अटो सहित चार वटा मोटरसाइकल समेत बरामद भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ सैनिक बजार बस्ने रञ्जित राजवंशी, प्रदीप राजवंशी, कुमार राजवंशी र बिर्तामोड–४ परोपकार टोलमा डेरा गरी बस्ने जागिर आलम रहेका छन् । उनीहरुलाई आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चोरीका सामग्री सहित सार्वजनिक गरिएको हो । पक्राउ परेका मध्ये राजवंशीत्रय एकाघरका दाजुभाई हुन् । आलम भने ग्यारेज सञ्चालक रही चोरीका मोटरसाइकल बिक्रीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट मे १ ह ४८९६ नम्बरको अटो, मे ८ प २११६ नम्बरको एभेन्जर मोटरसाइकल , प्रदेश १–०१–०१५ प ९२४२ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र मे ९ प ३६१८ नम्बरको पल्सर मोटरसाइकल र मे ९ प ८६३० नम्वरको मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
सिसी टिभि फुटेजको आधारमा अनुसन्धान अगाडि बढाएको घटनामा अटोसहित २६ वर्षीय प्रदिप राजवंशीलाई पक्राउ गरिएको श्रेष्ठले बताउनुभयो । चोरीमा संलग्न एकजना फरार रहेकाले उनको खोजी कार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ