रिक्त हुनुभन्दा एक महिनाअघि नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था विपरीत रिक्त भएको डेढ महिनापछि केन्द्रिय बैंकले गभर्नर पाएको छ । राजनीतिक दाउपेचमा रुमलिएको गभर्नर पदमा नेपाली कांग्रेसको भागबाट डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । गएको चैत २५ गतेदेखि नेतृत्वविहीन सो पदमा आफू निकटलाई ल्याउने कसरतमा रहेका गठबन्धनका ठूला दल एमाले र कांग्रेसको स्वार्थ नमिलेपछि कानूनी व्यवस्थाको उपहास भएको टिप्पणी भइरहेको थियो । गठबन्धन नै टुट्ने जोखिम बढेपछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी पौडेलको नाममा सहमति दिएका थिए ।
गभर्नर नियुक्तिकै लागि बनाइएको सिफारिस समिति निरर्थक हुने गरी भएको चलखेल र खिचातानीकै कारण केन्द्रिय बैंकभित्रैबाट गभर्नर बन्ने सम्भावना शून्य भएको थियो । देशको अर्थतन्त्र शिथिल भएका बेला, एफएटीएफको ‘ग्रे लिस्ट’मा परेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउँदै विद्यमान चुनौतीबाट अर्थव्यवस्थालाई अघि लैजानुपर्ने अहिलेको आवश्यकता हो । नवनियुक्त गभर्नर डा. पौडेलका सामू बैंक तथा वित्तीय संस्थाको स्वास्थ्यमा सुधार ल्याउँदै वित्तीय स्थायित्व कायम गर्ने अवसर पनि छ । अर्थतन्त्रमा प्रतिकूल अवस्थामा रहेका बेला त्यसमा प्राणको सञ्चार गर्ने जिम्मेवारी आएको छ । सिफारिस समितिमै रहेका पौडेललाई राजीनामा दिन लगाएर गभर्नरका प्रत्याशी बनाउनु, संवैधानिक व्यवस्था विपरीत कांग्रेसको उम्मेद्वारी बनेर संसदीय निर्वाचनमा भाग लिनुले पदको तटस्थताको मर्यादा कायम हुनेमा आशंका पनि गरिँदैछ ।
यस्ता धेरै आशंका विवाद र चुनौतीका बीच नियुक्त भएका डा. पौडेलले कोरोनाकालदेखि सुस्ताएको अर्थतन्त्रलाई लयमा फर्काउनु पर्छ । अस्थिर सरकारका कारण फेरबदल भइरहने नीतिका कारण अनिश्चित जस्तै बनेका वित्तीय निकायलाई जीवन सञ्चार गर्नुपर्छ । देशमा लगानीको वातावरण नहुँदा उद्योगीहरु लगानी गर्ने जोखिम उठाउन अनिच्छुक छन् । सञ्चालित उद्योग व्यवसायहरु उच्च मनोबल र निश्चिन्तताका साथ लगानी गर्ने अवस्थामा छैनन् । हिजो पनि गभर्नर राजनीतिक विवादबाट मुक्त हुन सकेका थिएनन्, अब पनि त्यही क्रम दोहोरिने हो भने न देशले ‘ग्रे लिस्ट’बाट मुक्ति पाउँछ न त उद्योगी तथा वित्तीय संस्थाहरु टिक्न सक्छन् । बैंकसँग असम्बन्धित, अनुभव नै नभएको जस्ता आशंकालाई पनि चिरेर पदीय जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न सकुन् । नवयिुक्त गभर्नरको उच्च सफलताको शुभकामना ।