संकटग्रस्त स्वास्थ्य जोखिममाःमियाटा जोनसनको अनुभव

0
28

संकटमा परेकाहरुका लागि स्वास्थ्य समस्या सम्बोधन गर्न अनुदानको अभावमा स्रोतहरू दुर्लभ हुन सक्छन् । स्वास्थ्य उपचारको अभावमा मानिसहरु अनुत्पादक, दीर्घरोगी र उनीहरुको मृत्य हुन पनि सक्छन् । मानवीय सेवामा समर्पित जनस्वास्थ्यकर्मीहरुकै सेवा पनि अभावग्रस्त हुन सक्छन् । तर, यस्तै क्षणहरूमा नै जनस्वास्थ्यकर्मीहरू जीवन रक्षक सेवाहरू प्रदान गर्न अग्रसर हुन्छन् । यस्तै एक जनस्वास्थ्यकर्मीको संघर्ष, अनुभव, समर्पण र विचार यहाँ प्रस्तुत गरिन्छ ।

‘मियाटा जोनसन’ दक्षिण अफ्रिकाका लागि यू.एन.एच.सी.आर.को क्षेत्रीय ब्यूरोमा वरिष्ठ सार्वजनिक स्वास्थ्य अधिकारीको रुपमा काम गर्छिन् । बाल्यकालदेखि नै संघर्ष गर्दै र सिक्दै उनी यत्रो जिम्मेवारीमा पुगेकी हुन् । हालको वित्त पोषण (आर्थिक अनुदान) फ्रिज हुँदा संकटमा परेका मानिसहरुका स्वास्थ्य सेवाका लागि चाहिने आर्थिक स्रोत अभाव भएको छ । जसले गर्दा संकटग्रस्तहरु उपचार बिहीन भई तड्पिइ–तड्पिइ मर्नुपर्ने अवस्था आइरहेको छ । यस्तो खराब अवस्थाबारे मियाटाको अनुभव तथा विचारले एक गहन मार्गदर्शन प्रदान गर्दछ ।

मानवीय सार्वजनिक स्वास्थ्य क्षेत्रमा एक प्रभावशाली क्यारियरका साथ, शरणार्थीहरूले सामना गर्ने चुनौतिहरूको बारेमा एक स्वास्थ्य कार्यकर्ताको रुपमा मियाटामा गहिरो समझ छ । किनकि मियाटा आफै पनि शरणार्थी थिइन् । तपाई किन मानतावादी सेवक हुनुभयो ? भन्ने प्रश्नमा मिटाया भन्छिन्, शरणार्थीको रूपमा मेरो आफ्नै अनुभवको कारण म मानवतावादी भएँ । म लाइबेरियाली हुँ र मेरो बाल्यकाल १४ वर्षको गृहयुद्धले तहसनहस पारेको थियो । जब म लगभग ३ वा ४ वर्षको थिएँ, युद्ध शुरु भयो र ज्यान बचाउन मेरो परिवार गिनीतिर भाग्नु प¥यो । मैले मेरो सम्पूर्ण बाल्यकाल शरणार्थीको रूपमा बिताएँ ।

हामी रहेको शरणार्थी शिविरमा मानवीय सहायताकर्मीहरूले खाना, आवास, स्वास्थ्य सेवा र सुरक्षा प्रदान गरेका थिए । यूएनएचसीआरले शिविरहरूमा हाम्रो हेरचाह ग¥यो र त्यसले मलाई चिरस्थायी प्रभाव पार्यो । बाल्यकालमा म असाध्यै बिरामी भएको र उचित उपचारको अभाव भएको मलाई सम्झना छ । मेरा आमाबाबु मलाई अकुशल स्वास्थ्यकर्मीकहाँ लैजान बाध्य थिए । मलाई गलत तरिकाले दिइएको इन्जेक्सनबाट अझै पनि मेरो शरीरभित्र समस्या छ । यी कारणहरुले म मा विचार पलायो कि, म त्यस्तो व्यक्ति हुन सकुँ जसले खाँचोमा परेका विशेषगरी विस्थापित मानिसहरूको लागि त्यो भूमिका खेल्न सकुँ ।

मानवीय सहायताले के गर्न सक्छ भन्ने कुराको साक्षी म हुँ । त्यो मैले आफैले भोगेर सिकेर आएकी हुँ । आज म मानवतावादी सेवक भएकी छु । मेरो जिम्मेवारीले खाँचोमा परेका मानिसहरूको लागि उनीहरूको परिस्थिति जस्तोसुकै भएता पनि उनीहरूलाई समर्थन गर्न र सेवा दिन कोही छ भनेर सुनिश्चित गर्न अनुमति दिन्छ । मेरो लागि यो गर्वको कुरा हो । मेरा दिनहरू गतिशिल तर अप्रत्याशित पनि छन् । सुडानमा रहेको कार्यालयमा जब म पुग्छु, इमेलहरू जाँच गर्छु र साझेदारहरू वा सहकर्मीहरूलाई रिपोर्टको सम्बोधन गर्दछु । मैले डब्लु.एच.ओ., युनिसेफ, डब्लु.एफ.पी. र सरकारी समकक्षी स्वास्थ्य मन्त्रालय जस्ता, संयुक्त राष्ट्रसङ्घका निकायहरूसँग नजिकबाट काम गरेको छु । सुडानमा हरेक दिन आपतकालिन अवस्था जस्तो महशुस हुन्थ्यो । हैजा, मंकीपोक्स, डेङ्गु वा दादुरा जस्ता प्रकोपसँग जुध्ने शिविर वा केन्द्रहरूमा हामी बारम्बार जान्थ्यौँ । त्यसमाथि, शरणार्थीहरूको पक्षमा वकालत गर्न र सरकार वा अन्य एजेन्सीहरूको कुनै पनि योजनामा उनीहरूलाई समावेश गरिएको छ कि छैन भनेर सुनिश्चित गर्न म बैठकहरूमा उपस्थित हुने गर्छु ।

तपाईं आफ्नो कामको बारेमा सबैभन्दा चुनौतिपूर्ण के कुरालाई ठान्नु हुन्छ ? भन्ने प्रश्नमा मियाटा भन्छिन्– कसैको उपचार भएको सुनिश्चित गर्न शिविरमा आवश्यक औषधिहरू र मेडिकल नियमित आपूर्तिहरू हुनु आवश्यक छ । मैले सुडानमा द्वन्द्वग्रस्त क्षेत्रको रूपमा देखेको सबैभन्दा ठूलो चुनौति भनेको हामीसँग यी वस्तुहरू सधैँ उपलब्ध छन् भन्ने सुनिश्चित गर्नु हो । तर, एउटा उदाहरण दिने हो भने डार्फर क्षेत्रमा द्वन्द्व शुरु भएदेखि नै त्यहाँ पहुँच हुन सकेको छैन । त्यसो भए हामी कसरी यी मानिसहरूका लागि औषधि र उपचार उपकरणहरु प्राप्त गर्न सक्छौं ? हामी कसरी काम गर्न सक्छौं भनेर सुनिश्चित गर्न सक्छौं ? विस्थापितहरूलाई आवश्यक उपचार दिइएन भने यसले विभिन्न रोगहरूबाट हुने महामारी र मृत्युु निम्त्याउन सक्छ । यी कुराहरु मलाई चुनौतिपूर्ण लाग्छन् ।

के हालैको फन्डिङ फ्रिजले सार्वजनिक स्वास्थ्य अधिकारीको रूपमा तपाईंको काममा प्रभाव पारेको छ ? यसको एउटा प्रमुख असर भनेको स्वास्थ्य संस्था बन्द गर्नु वा संख्या र सेवाका आकार घटाउनु हो । पर्याप्त कोष बिना, साझेदारी र जनशक्ति कायम गर्न गाह्रो छ । अर्को समस्या भनेको अपेक्षा गरेभन्दा कम औषधि र आपूर्ति हुनु हो । उदाहरणका लागि, यदि हामीले आवश्यक औषधिहरूको लागि ३० मिलियन डलर छुट्याउने योजना बनाएका थियौं भने अब हामीसँग त्यो रकमको आधा मात्र हुन सक्छ, जसले गर्दा अभाव हुन सक्छ र सबै योजनाबद्ध केसहरूको उपचार गर्न असमर्थता हुन सक्छ । स्वास्थ्य सेवाहरू मानव संसाधनमा निर्भर छन् । मूल्यांकन, निदान र उपचारमा पर्याप्त स्वास्थ्यकर्मी र कर्मचारीहरूको अभावमा गर्न बाध्य हुन्छौं । जसले स्वास्थ्य उपचारको गुणस्तरमा नकरात्मक असर पारेको छ । यद्यपि हाम्रा लागि हरेक भूमिका महत्वपूर्ण छ ।

तपाईंले कसरी अनुकूलन गर्नुभएको छ ? सामान्यतयाः यदि शिविर–स्तरको सुविधामा कुनै केसको उपचार गर्न सकिएन भने हामी बिरामीहरूलाई माध्यमिक वा तृतीयक अस्पतालहरूमा रेफर गर्दछौं । तर अब, कोष कटौतीको कारण, हामी केबल आपतकालीन केसहरूलाई प्राथमिकता दिन्छौं । हामीले ऐच्छिक केसहरू होल्डमा राख्नुपर्छ र आशा छ कि हामी पछि स्थितिमा सुधार हुँदा तिनीहरूलाई हेरचाह गर्न सक्छौं । अब पहिलेभन्दा बढी, हामीले बहु–क्षेत्रीय दृष्टिकोण प्रयोग गरेर अन्य साझेदारहरू अर्थात् अन्य एजेन्सीहरूसँग काम गर्न आवश्यक छ । उदाहरणका लागि, कासलामा हैँजाको प्रकोप हुँदा हामीले प्राप्त गरेका औषधिहरू स्वास्थ्य मन्त्रालय र डब्लु.एच.ओ.मार्फत आएका थिए ।

कोष कटौतीले दीर्घकालीन रूपमा सार्वजनिक स्वास्थ्य कार्यक्रमलाई कसरी प्रभाव पार्छ ? हाम्रो दृष्टिकोण, कार्यक्रमहरूको दिगोपनको दिशामा काम गर्नु हो, तर त्यहाँ पुग्न हामीले स्वास्थ्य मन्त्रालयहरूको क्षमता निर्माण गर्न आवश्यक छ । कम रकमको साथ यो गाह्रो हुन्छ । उदाहरणका लागि सुडानलाई लिन सकिन्छ । शरणार्थी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने त परै जाओस्, स्वास्थ्य प्रणालीले आफ्नै जनसंख्याको आवश्यकता पूरा गर्न संघर्ष गरिरहेको छ । यदि त्यहाँ कुनै कोष छैन भने हामी कसरी दीर्घकालीन स्थिरताको आशा गर्न सक्छौं ? रोकथामका अभियानहरू कम हुनेछन्, मातृ तथा शिशु स्वास्थ्य सेवाहरू कम उपलब्ध हुनेछन् र रोग निगरानी प्रयासहरू कमजोर हुनेछन् । यदि यही अवस्था रहिरह्यो भने हामीले अत्यावश्यक स्वास्थ्य सेवामा ठूलो कमी देख्नेछौं, जसले दीर्घकालीन दिगोपना हासिल गर्न अझ कठिन बनाउने छ ।

मानवीय काममा करियर बनाउने विचार गर्ने जनशक्तिलाई तपाईं कस्तो सल्लाह दिनुहुन्छ ? म पनि कुनै समय शरणार्थी थिएँ र मानवीय कार्यले मेरो जीवन परिवर्तन गर्यो । भूमिका सानै भएतापनि यसको अर्थ सबै कुरा हुन सक्छ । सानै भूमिकाले पनि संकटमा परेकाहरुका जीवन बचाउन सकिन्छ । समर्पण, धैर्य, मेहनत र लचिलोपन अत्यावश्यक हुन्छ । विशेष गरी सरकार वा प्रभावित समुदायहरूसँग काम गर्दा । सबैभन्दा महत्वपूर्ण कुरा, अरूलाई मदत गर्ने साँचो इच्छा, समर्पण र मानवीय सेवाभावले नै यस क्षेत्रमा अघि बढ्न मदत गर्छ ।

तपाईंको कामको सबैभन्दा अविस्मरणीय अनुभव कुन हो ? सुडानमा फैलिएको हैजाको प्रकोपको बेला हामीसँग कुनै औषधि थिएन र शरणार्थीहरू मरिरहेका थिए । हाम्रा आइसोलेशन सेन्टरहरू भरिभराउ थिए र म असहाय महशुस गर्थेँ । तर, संयुक्त राष्ट्रसंघका हाम्रा समकक्षीहरू र स्वास्थ्य मन्त्रालयसँग बलियो सहकार्य गर्न सकेका कारण हामीले केसहरूको उपचारको लागि आवश्यक औषधिहरू सुरक्षित गर्न सफल भयौं । हाम्रो गोदाम रित्तो थियो, तैपनि हामीले जीवन बचाउने उपाय भेट्टायौं ।

नीति–निर्माताहरूलाई वैदेशिक सहायताको ममहत्वबारे के सन्देश दिनुहुन्छ ? भन्ने प्रश्नमा मियाटा भन्छिन्– मानवीय सहायता भनेको विश्वव्यापी स्थिरता र सार्वजनिक स्वास्थ्य सुरक्षाको विषय हो । जब स्वास्थ्य प्रणाली ध्वस्त हुन्छ, यसले तत्कालको क्षेत्रमा मात्र असर गर्दैन, यसले हामी सबैलाई असर गर्छ । जब सुडान जस्तो देशमा संकट आउँछ, त्यसले छिमेकी क्षेत्र र त्यसभन्दा बाहिरका क्षेत्रमा पनि तरंग फैलाउँछ । मानवीय सहायतामा लगानी गरिएको प्रत्येक डलर हामी सबैका लागि सुरक्षित र स्थिर संसार बनाउनका लागि हो ।

मानवीय सार्वजनिक स्वास्थ्यमा एक प्रभावशाली क्यारियरको साथ, शरणार्थीहरूले सामना गर्ने चुनौतिहरूको बारेमा मियाटाको गहिरो समझ, स्वास्थ्य कार्यकर्ताको रूपमा उनको व्यावसायिक अनुभव र शरणार्थीको रूपमा उनको व्यक्तिगत इतिहास दुबैबाट आएको हो । उनको अनुभव, सिकाई, अन्तरदृष्टि र सेवाभावले मानिसहरुले अवश्य केही सिक्न सक्छन् र आर्थिक रुपमा सम्पन्न देशहरुले मानवीय संकटमा परेकाहरुका लागि आर्थिक सहायता जारी राख्न प्रेरणा पाउन सक्छन् ।

अमेरिकाले हाल अमेरिकी सहयोग नियोग (यू.एस.ए.आई.डी.) मार्फत गरिने मानवीय आर्थिक सहायता रोकेकाबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी र विचार आएका छन् । मानवीय सेवाका लागि आर्थिक सहयोग रोकिँदा के असर पर्छ ? भन्ने मियाटा जोनसनको अनुभव र विचारबाट दाताहरुमा सटिक मार्गदर्शन मिलोस् । (लिङ्कडइनको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here