नेपाल पत्रकार महासंघ झापाले विभिन्न सात बुँदे मागसहितको ज्ञापनपत्र बिर्तामोड नगरपालिकालाई बुझाएको छ । महासंघले झापाका पन्ध्र वटै पालिकाहरुमा ज्ञापनपत्र बुझाउने अभियान अनुसार आइतबार बिर्तामोडसँगै बाह्रदशी, हल्दिबारी र अर्जुनधारामा पनि मागसहितको ज्ञापनपत्र बुझाएको हो । सञ्चारजगतलाई राज्यको चौथो अङ्गको दर्जा दिइन्छ । यद्यपि यो दर्जा अनौपचारिक हो । तथापि स्वतन्त्र पत्रकारिताले राज्य सञ्चालकहरुलाई खबरदारी गरिरहन्छ । संघीयतापछि वडासम्म पुगेको सरकार र नेतृत्वकर्ता लगायत जिम्मेवार अधिकारीहरुलाई उनीहरुले सम्पादन गरेका काम जनतासम्म पु¥याउन र भएका त्रुटिहरु देखाइदिएर सजग गराउने दायित्व भएकै कारण यस क्षेत्रलाई चौथो अङ्ग भनिएको हो ।
देशभरिका पत्रकारहरुको छाता संगठन महासंघका जिल्लासम्म रहेका इकाइहरु स्थानीय स्रोतबाट उद्देश्य निर्वाह गर्न संघर्ष गरिरहेका छन् । त्यसैले सञ्चारकर्मीहरुलाई आत्मनिर्भर बनाउनेतर्फ स्थानीय सरकार भनिने पालिकाहरुले सहयोग गर्नैपर्छ । वैश्विक महामारी कोरोनाका कारण सुस्ताएको सञ्चार संस्था, सञ्चारकर्मलाई पुनजाग्रत गर्नु सरकारको दायित्व पनि हो । विकासका पूर्वाधारहरु मध्ये महत्वपूर्ण आधारका रुपमा रहेको सञ्चार क्षेत्रमा विद्यमान अनेकन समस्याको निदान गर्न सरकारको अहम् भूमिका रहन्छ । कोरोनाले थलिएका कतिपय सञ्चारगृह र सञ्चारकर्मीलाई संरक्षण र सम्बद्र्धन गर्न सकिए मात्र स्थानीय सरकारका असल अभ्यासहरुलाई सार्वजनिक गर्न सकिन्छ । साथै भएका विकास र सम्भावनाहरुको खोज अनुसन्धान गर्दै तिनको अभ्यासबाट स्थानीय जीवन र स्थानीय क्षेत्रको विकास गर्न सकिन्छ ।
झापाबाट विगतदेखि प्रकाशन तथा प्रशारण भई आएका कतिपय संस्था बन्द छन् । कोरोना प्रभावका कारण बन्द रहेका पत्रपत्रिका एफएम रेडियोलाई सञ्चालन गर्ने चुनौति र भूमिका स्थानीय तहको पनि हुनुपर्छ । यी र यस्ता समस्या र चुनौतिहरुसँग जुध्न झापाका सबै पालिकाहरुको ध्यान आकृष्ट गराउनु महासंघको उद्देश्य रहेको छ । त्यहीकारण, महासंघले समेटेका सात वटा बुँदामा पालिकाले बनाउने सञ्चार सम्बन्धी नीति तथा कानून सञ्चारमैत्री हुनुपर्ने रहेको छ । त्यस्तै सञ्चारमाध्यमहरुको संरक्षण, सञ्चालन र विकासका लागि झापाली सञ्चार संस्थालाई विज्ञापन दिन, पालिकामा रहेका सञ्चारकर्मीको स्वास्थ्य बिमा गरिदिन, पत्रकारको सिप, क्षमताको विकास र मिडिया साक्षरताका लागि बजेट विनियोजन गर्न पनि माग गरेको छ । महासंघले पत्रकारहरुको सामाजिक सुरक्षाका लागि स्थापना गरेको कोषमा सहयोग गरिदिन समेत अनुरोध गरेको छ । पत्रकार संस्थाको जीवन सञ्चार भएमात्र सुरक्षित हुन्छन् । उनीहरु नै पालिका र आफ्नो क्षेत्रको विकासमा बौद्धिक योगदान दिन सक्छन् । तसर्थ पालिका महासंघको मागप्रति गम्भीर हुनुपर्छ ।