फाल्गुनन्द र मिक्लाजुङमा मेलमिलाप तालिम

0
14

युद्धबहादुर बोहोरा,
पाँचथर ।

फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका न्यायिक समिति पाँचथरले मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न गरेको छ ।

जेठ ३ गतेबाट दुई पालिकाको संयुक्त आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो । पालिकाले वडामा रहेका मेलमिलाप केन्द्रमा आवश्यक जनशक्ति थप गर्न र सूचीकृत मेलमिलापकर्ताहरू बृद्धि गर्दै गाउँ, टोल र वडास्तरमै विवाद समाधानलाई प्रथामिकता दिइने उद्देश्यले तालिमको आयोजना गरिएको जनाएको छ ।

मानव अधिकार मञ्च नेपाल, इलामको प्राविधिक सहयोगमा सञ्चालित आवसीय तालिममा पालिकाका वडास्तरबाट छनौट भएका २७ जना नयाँ मेलमिलापकर्ताका लागि प्रशिक्षार्थीको रुपमा सहभागिता जनाएको फाल्गुनन्द गाउँपालिका न्यायिक समिति उजुरी प्रशासक थमराज जैसीले जानकारी दिए ।

तालिममा मञ्चका सहजकर्ताद्वय योगराज सापकोटा र मणिराज केरुङले सहजीकरण गरेका थिए । प्रशिक्षणमा द्वन्द्व र हिंसाको परिभाषा, द्वन्द्व रुपान्तरण र व्यवस्थापन, विवाद र यसको असर, मेलमिलापको परिभाषा, फाइदा, सिद्धान्तहरु, यसका चरण, मेलमिलापकर्ताको भूमिका, दायित्वलाई सैद्धातिक, प्रयोगात्मक र खेल विधिसँगै अभ्यास मार्फत शिक्षण गराइएको बताइएको छ ।

सहभागीहरुले शून्य अवस्थाबाट दैनिक सिकाइको अभ्यासमा न्यायिक प्रक्रिया, कानुनी शब्दहरुको सिकाई, व्यवहार, आचरण, सोच परिवर्तन बारे ज्ञान, मानव अधिकार सम्बन्धमा साथै मनोपरामर्शका बारेमा समेत थप सिकाइ उपलब्धी हासिल गरेको सहभागी मध्येबाट महेन्द्रविक्रम नेम्वाङ र पार्वतीदेवी निरौला(पारू)ले अनुभव प्रस्तुत गरे ।

तालिममा मेलमिलापमा आवश्यक सिपहरु, सहजीकरण सिपहरु, कानूनी तथा न्यायिक पक्षहरु, विवाद समाधानका तरीकाहरु, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलाप सम्बन्धी ऐन र नियामावली, मेलमिलापमा प्रसंशनिय दृष्टिकोणको परिचय, बहुसरोकार रहेको विवाद मेलमिलाप लगायतका विषयमा जानकारी गराइएको थियो ।

मेलमिलाप सम्बन्धी तालिम लिएपछि गम्भीर प्रकृतिका मुद्दा बाहेक अन्य विवादहरुलाई आफ्नै गाँउ ठाँउमा मेलमिलाप केन्द्र मार्फत समाधान गर्न सकिने क्षमता बढेको र आगामी दिनमा आवश्यकता अनुसार तालिम लिनुपर्ने उनीहरुको बुझाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि पाँचथर जिल्ला अदालतका न्यायाधीश कुमार मास्केले कानून सम्बन्धी ज्ञान, अदालत र न्यायिक समितिको सम्बन्ध लगायतका विषयमा सहभागीहरुलाई करिब डेढ घण्टाको प्रशिक्षण दिए । उनले समाजमा सचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक रहेकोले सचेतना अभिवृद्धिमा जोड दिन मेलमिलापकर्ताहरुलाई आग्रह गरे । जिल्लाका आठ स्थानीय तह मध्ये केही पालिका बाहेक जिल्ला अदालतले गर्ने अनुगमन, सहयोग, सुझावहरु निरन्तर दिँदै आएको जनाए ।

फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक ठाकुरसिंह नेम्वाङको अध्यक्षतामा सम्पन्न तालिममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार शेर्माको आतिथ्यमा भएको थियो । न्यायिक समिति संयोजकद्वय नेम्वाङ र शेर्माले मेलमिलाप सम्बन्धी (४८ घण्टे) तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तान सहभागीहरुलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here