झिलझिले।
शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखामा आयोजित वडास्तरीय ‘स्काउट क्याम्प फायर’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । ‘एक रात, दुई दिन’ अवधिको यो कार्यक्रम बिहीबार सुरु भई शुक्रबार समापन भएको नेपाल स्काउट शिवसताक्षी नगर समितिका आयुक्त दिगम पराजुलीले जानकारी दिए ।
पूर्वी नेपालको सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा दोमुखालाई चिनाउन मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय बाल निकुञ्ज माध्यमिक विद्यालय, मेची इङ्लिस बोर्डिङ स्कुल, दीपेन्द्र आधारभूत विद्यालयलगायतका शैक्षिक संस्थाबाट करिब २ सय विद्यार्थी सहभागी भए । विभिन्न क्षेत्रका अतिथि गरी ५० जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रम नगरप्रमुख मेगाहङ थोप्राको प्रमुख आतिथ्यमा सम्पन्न भयो । वडा नम्बर १० का वडा सदस्य दीपक पोखरेल, दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष धनबहादुर लावती, बाल निकुञ्ज माविका सहायक प्राचार्य विष्णु खतिवडा लगायतले स्काउट गतिविधिको महत्त्वबारे मन्तव्य दिएका थिए ।
कार्यक्रममा नगर शिक्षा अधिकृत छवि ढकालले स्काउटको कार्य, कर्तव्य, अधिकार र समाजमा सकारात्मक परिवर्तन ल्याउने गतिविधिमा विद्यार्थीको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे । स्काउटमार्फत अनुशासन, नेतृत्व विकास, सेवा भावना र राष्ट्रप्रेम अभिवृद्धि हुने उनले बताए ।
क्याम्प फायरमा विद्यार्थीहरूले सामूहिक गीत, नाटक, टेन्टिङ, समूहगत छलफल तथा साँस्कृतिक प्रस्तुतीमार्फत स्काउट तालिममा सिकेका सीपहरू प्रदर्शन गरे । यस्ता कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास र सामाजिक चेतनाको विकास गर्न सहयोग पु¥याउने सहभागीहरूको भनाइ छ ।
दुई नदीको संगमस्थलमा रहेको दोमुखा हरियाली, शान्त वातावरण, सामुदायिक वन क्षेत्र र धार्मिक आस्थाका दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । स्काउट कार्यक्रमजस्ता गतिविधिले यस क्षेत्रको प्रचारप्रसारमा सहयोग पुगेको स्थानीय दोमुखा धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष लावतीले बताए ।
नगरप्रमुख थोप्राले स्थानीय युवा र समुदायको सक्रियताले दोमुखालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सकिने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे ।
शिवसताक्षी स्काउटको यो कार्यक्रम शिक्षा, युवा विकास, समाजसेवा र पर्यटन प्रवद्र्धनलाई एकैसाथ जोड्न सफल भएको सहभागी शिक्षक, विद्यार्थी र अभिभावकहरूले प्रतिकृया दिएका छन् ।
यसले समुदायमा सकारात्मक ऊर्जा थप्नुका साथै बालबालिका र किशोर–किशोरीमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र देशप्रतिको प्रेमको भावना विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको नगरप्रमुख थोप्राले बताए ।
यो कार्यक्रम शिवसताक्षी नगरपालिका वडा नम्बर १० र दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाको आर्थिक सहयोगमा नेपाल स्काउट वडा नम्बर १० को वडा समितिले आयोजना गरेको हो ।