बिर्तामोड ।
उद्योगमा उत्पादन हुने खाद्यवस्तुको गुणस्तरमा ‘कम्प्रोमाइज’ गर्न नसकिने बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताएका छन् । खाद्य स्वच्छता तथा गुण नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संग्रौलाले खाद्यवस्तुको गुणस्तरमा कम्प्रोमाइज गर्न नहुने बताएका हुन् ।
‘उद्योगको सरसफाई, खाद्यवस्तुको उत्पादन प्रक्रिया र भण्डारणमा ध्यान दिनु पर्छ,’ उपप्रमुख संग्रौलाले भने, ‘उत्पादनको परिमाणमा पनि ध्यान दिनु उत्तिकै जरुरी छ ।’
उत्पादकले जानी नजानी गल्ती गरेमा कानुनी सजायको भागिदार हुनुपर्ने संग्रौलाले बताए ।
उद्योग भित्र र बाहिरको फोहोर व्यवस्थापनमा ध्यान दिन उनले आग्रह गरे । उद्योगीहरुलाई व्यवसायसँगै समयमा कर तिर्ने बानी बसाल्नसमेत उनले सुझाए। स्थानीय उत्पादनको प्रयोगमा ध्यान दिँदै अन्य ठाउँको जस्तै बिर्तामोडको पनि केही खाद्यवस्तुलाई ब्रान्डको रुपमा स्थापित गर्न उनले आग्रह गरे ।
कार्यक्रममा खाद्यवस्तुको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्तीले कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजना तथा बेकरी व्यवसायी संघ झापाको सहआयोजनामा भएको हो ।
बेकरी व्यवसायी संघ झापाका अध्यक्ष सुमन चिमारियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागीलाई सचिव दिनेश अधिकारीले स्वागत गरेका थिए । संस्थापक सदस्य तथा कञ्चन बेकरी उद्योगका सञ्चालक भिमा शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्ष नरबहादुर वनसहित ५० बढी व्यवसायी सहभागी थिए ।