त्याग र समर्पणका रुप हुन् आमाबुवा

0
21

संयुक्त राष्ट्रसंघको महासभाको घोषण अनुरुप आज अंग्रेजी महिनाको जुन १ तारिखका दिन विश्व आमाबुवा दिवस मनाइन्छ । सन् २०१२ मा घोषणा गरिएको दिवसले आज विश्व नै परिवारप्रति केन्द्रीत भएको देखाएको छ । हुन त हामीकहाँ खासगरी वैदिक संस्कृतिमा आमाबुवालाई जीवित देवता भनिन्छ । त्यसै अनुसार इतिहासदेखि नै आमाबुवा, गुरु र अतिथिलाई देवताकै श्रेणीमा राखिन्थ्यो । त्यही परम्परामा मातृ औंशी अर्थात् आमाको मुख हेर्ने र कुशे औंशी अर्थात् कुशको स्थापना र बुवाको मुख हेर्ने दिनको छुट्टै महत्व छ । यही मान्यता र परम्परालाई आज विश्व समुदायले पनि महत्वका साथ विश्वव्यापी बनाउन थालेको छ ।

आमाले जन्म दिएर हुर्काउन, बढाउन र पढाउनका लागि जुन कठिन संघर्ष गरेको हुन्छ, त्यसको ऋण मानिसले त्यस्तै सेवाबाट मात्र तिर्न सक्छ भन्ने विश्वास छ । त्यसैगरी बालकको सम्पूर्ण रेखदेखसँगै परिवारको संरक्षण र समृद्धिमा बुवाको पनि अतुल्य भूमिका र योगदान रहन्छ । त्यसैले वर्षदिनमा एकपटक आउने यस्ता पर्वलाई दिवस भनेर मात्रै आमाबुवाप्रति न्याय हुँदैन । गर्भमा बोकेर मृत्युसँग संघर्ष गर्दै आमाले दिने जीवन र त्यसलाई सञ्चालन गर्न प्रदान गर्ने मातृत्वको न्यानो, सुरक्षित र निश्चिन्त छहारी र नवजात शिशुलाई सक्षम, कुशल र समाजमा प्रतिष्पर्धी गर्नसक्ने बनाउन बुवाले गरेको संघर्ष र त्याग कुनै रुपी ऋणबाट मानिस उऋण हुन सक्दैन ।

हिजोआज पश्चिमीकरणको अन्धाधुन्ध अनुशरण गर्ने भएर आमाबुवाको महत्व गौण हुन थालेको छ । आमाबुवा केबल औपचारिकताको नाता मात्रै बन्न थालेको छ । वर्षमा एकदिन सामाजिक सञ्जालमा तस्वीर र भावना टाँसेर राख्ने प्रवृत्ति संस्कार जस्तै बन्न थालेको छ । त्यही आधुनिकता र सभ्यताका नाममा आमाबुवाहरु अवहेलनाको शिकार बन्दै गएका छन् । सुन र समृद्धि प्राप्त गर्ने होडमा सेवा, त्याग र समर्पणका प्रतिरुप आमाबुवाहरु शरीर, मन र मस्तिष्कले दुर्बल हुन थालेपछि आश्रममा पु¥याइन थालेको छ । वर्षका हरेक दिन पूजा गरिनुपर्ने आमाबुवा सन्तान भएर पनि बेसाहारा हुन थालेका छन् । यसले एकातिर हाम्रो गौरवपूर्ण संस्कृतिमा आघात पुगेको छ, हामी कर्तव्यच्यूत हुन थालेका छौं ।

जन्मदाता र कर्मदाता हुन्– आमा–बुवा । त्यसैले आमाबुवाको महत्वलाई पश्चिमी समाजले पनि स्वीकार गरेको यो दिवसले प्रमाणित गर्छ । आमा–बुवालाई वर्षमा एकदिन खान, लाउन दिएर सन्तानको कर्तव्य पूरा हुँदैन, बरु बाँचुञ्जेल सम्पूर्ण रुपमा सेवा गर्दै मृत्युपर्यन्त श्रद्धा गर्ने कार्यले मात्र उहाँहरु प्रतिको श्रद्धा हुनेछ । हाम्रो उत्कृष्ट यो संस्कृति नवपुस्तासम्म हस्तान्तरण गर्न पनि यो दिवसले सबैलाई प्रेरित गरोस् । सबै आग्रह, स्वार्थ, शर्त र सम्झौता आमाबुवाको सेवा गरौं यही धर्म हो र जीवनको सार्थकता पनि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here