शिवसताक्षीमा खुल्ला छोडिएका कुकुरको समस्या , १५५ घरपालुवा चौपाया मारिए

0
86

विनोद सापकोटा
झापा, 
झापाको शिवसताक्षी नगरपालिकामा खुल्ला छोडिएका कुकुरको समस्या  चुलिँदो छ । कुकुरको समूहले घरपालुवा चौपायामाथि आक्रमण गरेर मारेपछि किसान त्रसित बनेका छन् ।

नगरपालिकाका ३, ५, ६, ७ र १० नम्बर वडामा मात्रै पछिल्लो एक वर्षमा १५५ वटा चौपाया छाडा कुकुरले मारेर खाएको स्थानीय वडाध्यक्षहरूले जनाएका छन् । गाई, बाख्रा, गोरु, भैँसीलगायतका चौपायामाथि आक्रमण हुँदा किसानको लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
शिवसताक्षी ३ का वडाध्यक्ष भास्कर न्यौपाने भन्छन्, ‘मेरो वडामा मात्र होइन, सम्पूर्ण नगर क्षेत्रमा यो समस्या देखिएको छ । चौपायालाई चराउन लगेका बेला छाडा कुकुरले आक्रमण गर्छन् । एक वर्षमा हाम्रो वडामा मात्रै २२ वटा चौपाया मरे ।’
५ नम्बर वडाका अध्यक्ष सिकिन पासवानका अनुसार एक वर्षमा १३ वटा बाख्रा छाडा कुकुरको सिकार बने । ६ नम्बर वडाका किसान रत्नप्रसाद दाहालले एकै दिनमा तीन वटा बाख्रा गुमाएका छन् । वडा अध्यक्ष मनोज खुलालका अनुसार वडामा ४४ चौपाया छाडा कुकुर द्धारा मारिएका छन् ।

७ नम्बर वडामा अझ भयावह अवस्था देखिएको छ । वडाध्यक्ष भवानी चेम्जोङका अनुसार ६३ वटा बाख्रा छाडा कुकुरले मारेको छ । ‘तीन दिनअघि मकैबारीमा भेटिएको एक युवकको सबसमेत कुकुरले खाएको अवस्थामा भेटिएको थियो,’ चेम्जुङ भन्छन्, ‘१५ दिनअघि हराएका ती युवकको सब भेटिँदा हड्डी मात्र बाँकी थियो ।’ मासु र छाला कुकुरले खाइदिएको स्थानीयले बताएका छन् ।

१० नम्बर वडामा पनि समस्या उस्तै छ । वडा सदस्य मंगलादेवी बिकका अनुसार २० वटा चौपाया कुकुरले पारेको छ ।
नगरपालिकाका पशुप्राविधिक रामअवतार यादवका अनुसार छाडा कुकुरहरूले खाना नपाउँदा चौपायामाथि आक्रमण गरिरहेका छन् । ‘छाडा कुकुरुले आफ्नो आहारा नपाएपछि उनीहरू हिंस्रक बन्छन् । किनभने कुकुर मांसहारी प्राणी हो,’ यादव ले भने ।

गाउँमा समुह बनाएर डुलुवा कुकुर पहिला मानिस आफैले पाल्थे । अहिले घर धनिले छोडेपछि समस्या थपिएको जानकार बताउछन् । समयमा खान नपाउँदा छाडा कुकुरले चौपाया माथि आक्रमण गर्ने पशु प्राविधिक याववले बताए ।
किसानहरूले नगरपालिकासँग छाडा कुकुर व्यवस्थापन गर्न वा क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेका छन् । ‘हाम्रो पाल्तु जनावर मरे । चौपाया पाल्न नसकिने अवस्था आयो । पालिकाले या त क्षतिपूर्ति दिनुपर्यो, या त कुकुर व्यवस्थापन गरिदिनु पर्यो,’ किसानहरूले भने ।

पशु विज्ञ भन्छन, शिवसताक्षी नगरपालिका जनावर व्यवस्थापनबारे स्पष्ट नीति नभएकाले समस्या चुलिएको हो । ‘कुकुर, बिरालो, बाँदर जस्ता जनवार र पशुपंक्षि पाल्न दिनेमात्र होइन, कसरी पाल्ने भन्ने पनि कानुनी व्यवस्था हुनुपर्छ,’ पशु अधिकारकर्मी भन्छन्, ‘धनीहरूले छाडेपछि ती जनावरले बाँच्नकै लागि हिंस्रक बन्दै जान्छन् । जनवारका धनिले पाल्ने र छाड्ने गर्नाले गाउँमा समस्याको चाङ बढ्दै गएको हो ।’

विशेषज्ञले घरपालुवा जनावरको अनिवार्य दर्ता पालिकाले गर्नुपर्ने सुझाव दिएका छन् । जनावरमा अनिवार्य बन्ध्याकरण र खोप, छाडा छोडेमा दन्ड वा जरिवाना, जनावर संरक्षण र पुनःस्थापना केन्द्रको व्यवस्था जस्ता नीति नगरपालिकाले तत्काल बनाएर कार्यान्वयनमा ल्याए मात्रै दीर्घकालीन समाधान सम्भव हुने बताएका छन् ।

शिवसताक्षी नगरपालिकाले छाडा छोडिएको कुकुर नियन्त्रण र बन्ध्याकरणका लागि हरेक वर्ष ५ लाख रुपैयाँ सम्म खर्च गर्दै आएको छ । नगरपालिकलो सामुदायिक कुकुरको व्यवस्थापनका लागि भन्दै उक्त रकम खर्च गर्दै आएको हो । नगरका पशु प्राविधिक राम अवतार यादवका अनाुसार पछिल्लो तीन वर्षमा हामीले ६०० छाडा कुकुरको बन्द्याकरण गरिएको छ । यो शीर्षकमा १२ देखि १५ लाख रुपैयाँ पैसा नगरपालिकाको व्यय भार छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here