मनसुनजन्य विपद् र सचेतता

0
20

नेपालमा यस वर्षको मौसम शुरु भएसँगै बाढीपहिरोको कहर शुरु भएको छ । नियमितभन्दा पन्ध्र दिनअघि नेपाल प्रवेश गरेको मौसमले पूर्वी नेपालका विभिन्न क्षेत्रमा बाढीले आर्थिक एवम् भौतिक क्षति पु¥याएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको थियो । विभागले यस वर्षको मनसुन ऋतुको अधिकतम् तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको उल्लेख गरेको थियो । विभागले यस वर्ष वर्षाका कारण आउने बाढी र पहिरोजन्य विपद्का घटनाहरु बढी हुनसक्ने भएकाले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुझाव दिएको थियो । यस्तो तयारीले विपद्बाट हुन जाने मानवीय, आर्थिक तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

मानव जीवन जहिल्यै संकट र त्रासको अवस्थामा गुज्रिरहेको हुन्छ । त्यसमाथि अप्रत्याशित रुपले आउने प्राकृतिक र मानवीय त्रुटिबाट उत्पन्न हुने विपद्को पनि सामना गरिरहनु पर्दछ । बाढी–पहिलो, डुबान, गर्मी, भूकम्प, सुख्खा जस्ता प्रकृतिजन्य विपद् मात्रै होइन आगलागी जस्ता विपद्बाट जोगिन बेलैदेखि सावधानी अपनाउनु पर्छ । त्यस्तै त्यही प्रयोजनका लागि स्थापित संघ, संस्था, सरकारी निकाय र तीन वटै तहका सरकारले विपद् व्यवस्थापनका लागि चाहिने सामग्री, उपकरण तथा जनशक्तिको परिचालनमा समन्वयकारी भूमिका निर्वाह गर्नु पर्दछ । गृह मन्त्रालयको मातहतमा विपद् व्यवस्थापनका लागि छुट्टै योजनासहितको इकाइ गठन पनि गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको व्यवस्था पनि गरिएको छ, तर त्यसका लागि पर्याप्त तयारीमा भने मन्त्रालय सधैँ चुकिरहेको छ ।

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमानसँगै जोखिम पनि बढी हुने प्रक्षेपण गरिएको सन्दर्भलाई पूर्वी नेपालका विभिन्न क्षेत्रमा पु¥याएको क्षतिले राज्यलाई सचेत गराउनुपर्छ । मौसमी वर्षा भएको चौबीस घण्टामै पूर्वी नेपालमा ठूलो क्षति भएको छ । अविरल वर्षाका कारण ‘झापाको दुःख’ भनिने कन्काई नदीमा आएको बाढीले दक्षिणी झापाको झापा गाउँपालिकास्थित सुगाबथान क्षेत्रमा गाउँ नै डुबानमा प¥यो । त्यस क्षेत्रमा साठ्ठी, बिगाहभन्दा बढी क्षेत्रमा लगाइएको मकैबालीमा क्षति पुगेको छ । यता स्तरोन्नति भइरहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको झापा खण्डको ‘डाइभर्सन’ बाढीले बगायो । जसका कारण बिर्तामोडबाट पूर्व काँकरभिट्टासम्मको यातायात अवरुद्ध हुन पुग्यो । त्यस बाहेकका क्षेत्र पनि अविरल वर्षाका कारण प्रभावित हुन पुग्यो । त्यसो त बाढीको प्रभाव पश्चिमी नेपालमा पनि देखिएको छ र यो नियमितता नै हो । विपद् पछि मात्र चासो देखाउने प्रवृत्ति सरकारकै रोग हो । जोखिम–न्यूनीकरण राज्यको दायित्वमा छ भने समय छँदै सचेतना, सावधानी र सुरक्षाका उपाय अवलम्वन गरिनुपर्छ । यसो गर्न सकिए र सबै पक्षले समन्वयात्मक सहकार्य मार्फत सर्तकता देखाएर विपद्को सामना गर्नु बुद्धिमानी ठहरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here