विनोद सापकोटा
झापा।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार झापाको शिवसताक्षी नगरपालिका–४ मा अवस्थित १० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना झापा इनर्जी लिमिटेडको अवलोकन गरेकी छन्। सौर्य ऊर्जाको प्रयोग र उत्पादनबारे विस्तृत जानकारी लिए पनि उनले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाइनन्।
पूर्वराष्ट्रपति सचिवालय स्रोतका अनुसार भण्डारीको यो भ्रमण औपचारिक कार्यक्रम नभई अवलोकनको लागि मात्र हो। उहाँ झापा आएको सन्दर्भमा मुलुककै चर्चित सौर्य आयोजना आफैंले नजिकबाट हेर्ने इच्छा राखेपछि यसको तारतम्य मिलाइएको हो,’ स्रोतले भन्यो।
झापा इनर्जी लिमिटेडका अध्यक्ष एलपी सावा लिम्बुले आयोजनाको भौगोलिक स्थिति, प्राविधिक पूर्वाधार, उत्पादन क्षमताका साथै आर्थिक प्रतिफलबारे पूर्व राष्ट्रपति भण्डारीलाई विस्तृत जानकारी गराएका थिए।
‘झापा इनर्जी केवल ऊर्जा उत्पादनको परियोजना होइन, यो पर्यटन, रोजगारी र समृद्धिको सम्भावनाको आधार हो,’ सावा ले भने। भ्रमणमा नेकपा एमालेका नेता समेत रहेका पूर्व कोशी प्रदेश प्रमुख शेरधन राई लगायतका झापा इनर्जी का सञ्चालक समितिका पदाधिकारी तथा सदस्य स्थानीय नेताको पनि सहभागिता थियो। यो आयोजनालाई झापा र कोशी प्रदेशको आर्थिक, सामाजिक र पर्यावरणीय सम्भावनाको केन्द्रका रूपमा झापा इनर्जीको स्थापना भएको कतिपयले व्याख्या गरे ।
नगरप्रमुख मेगाहाङ थोप्राले भने, ‘झापा इनर्जीले नगरको मात्र होइन, समग्र कोशी प्रदेशको विकासमा टेवा पुर्याएको छ। शिवसताक्षीको आर्थिक, सांस्कृतिक, सामाजिक र पर्यटन पक्षलाई यसले जोडेको छ।’ झापा इनर्जीले यहाँको पहिचानलाई ऊर्जा–केन्द्रित पर्यटन र हरित विकासतर्फ मोडिदिएको उनले बताए । यो आयोजनालाई वातावरणीय शिक्षा र ऊर्जा पर्यटनको अवसरको रूपमा उपयोग गर्न सकिने नगर प्रमुखले बताएका छन्।
झापा इनर्जी लिमिटेड २०७५ असार १६ मा स्थापना भएको हो। आयोजनाको शिलान्यास स्वर्गीय सुवास नेम्वाङले २०७८ मंसिर २७ मा गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० माघ २३ मा उद्घाटन गरेका थिए। व्यावसायिक उत्पादन २०८० माघ १० गतेदेखि सुरु गरिएको हो।
२२ विघा क्षेत्रफलमा फैलिएको आयोजनामा हाल २२,२३२ वटा सोलार प्यानल जडान गरिएका छन्। उत्पादन भएको विद्युत् प्रति युनिट ७ रुपैयाँ ३० पैसामा नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिन्छ। कम्पनीले दैनिक ५० हजारदेखि १ लाख युनिटसम्म विद्युत् उत्पादन गरिरहेको छ। मौसमअनुसार उतारचढाव भए पनि वार्षिक १७.५ मिलियन युनिटभन्दा बढी उत्पादन गर्ने लक्ष्य झापा इनर्जीले राखेको छ ।
झापा इनर्जीको प्रारम्भिक लागत करिब ८७ करोड रुपैयाँ रहेको छ । जसमा निजी क्षेत्र माछापुच्छ्रे बैंक र सिभिल बैंकको लगानी छ। आयोजनाले वार्षिक १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ। दीर्घकालीन योजना अन्तर्गत २५ मेगावाट क्षमताको सौर्य ऊर्जा विस्तार गर्ने तयारी भइरहेको अध्यक्ष लिम्बुले जानकारी गराए।
पूर्वराष्ट्रपति भण्डारीले आयोजनाको गहन अवलोकन गरे पनि कुनै औपचारिक मन्तव्य नदिएकोले राजनीतिक अथवा नीतिगत सन्देशभन्दा यो भ्रमणलाई बढी व्यक्तिगत चासोको रूपमा लिएको झापा इनर्जी पुगेका एक नेताले बताए। तथापि, उनले स्वेच्छाले यस्ता आयोजनाको अवलोकनमा देखाएको रुचिले हरित ऊर्जाको राष्ट्रिय महत्वतर्फ संकेत गरेको विश्लेषकहरू बताउँछन्।
भ्रमणपछि उनी आजै हुलाकी राजमार्ग हुँदै विराटनगरतर्फ प्रस्थान गरेकी छन्।