विनोद सापकोटा
झापा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पछिल्ला दिनहरूमा गृहप्रदेश कोशीका झापा, मोरङ्ग र सुनसरी का विभिन्न कार्यक्रममा सक्रिय छन् । गएको शुक्रबार देखि विशेषतः झापामा भएको सक्रियता राजनीतिक वृत्तमा गहिरो चासोको विषय बन्न थालेको छ ।
शनिवार झापाको विर्तामोडमा उनले नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदेश स्तरिय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटनका लागि उनि आएकी थिइन् । यो कार्यक्रममा मात्र होइन । कोशीका राजनीतिक र सामाजिक कार्यक्रममा आउने उनको हुटहुटीलाई यस पटक भने एमालेको विज्ञान तथा प्रविधि विभागका प्रदेश संयोजक गणेश पोख्रेलले पुरा गरिदिए ।
तीन दिनको भ्रमणको क्रममा उनले विभिन्न शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक कार्यक्रमहरूमा उपस्थिति जनाइन् । दुई दिन त विर्तामोडको होटल शिद्धार्थमा बसेर झापाको राजनीतिक बस्तुस्थितीमा राम्रो जानकारी लिइन् । शनिवार नारी संचार गृहको एउटा कार्यक्रममा पनि उनको उपस्थिती थियो । उनलाई बोलाईएका अधिकांस कार्यक्रमका आयोजकले पूर्वराष्ट्रपति भनेर संबोधन गरिरहदा उनी पूर्वराष्ट्रपतिको औपचारिक भूमिकामा सीमित नरही राजनीतिक पुनर्सक्रियताको संकेत दिइरहेकी छन् भन्ने आँकलन गर्न कसैलाई पनि बेर लाग्दैन थियो । किन भने वरिपरी एमालेका नेता, कार्यकर्ता र नातेदार देखिन्थे ।
विशेषतः एमालेको गढ मानिने झापा जिल्लामा उनको तीन दिने बाक्लो उपस्थितिले धेरैको ध्यान खिचेको छ । विद्यादेवी भण्डारीको राजनीतिक जीवनको प्रारम्भ झापा, मोरङ र सुनसरीबाटै भएको हो । उनी २०५१ सालमा काठमान्डौ १ क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् र त्यसपछि मन्त्री, पार्टी उपाध्यक्ष हुँदै संविधानसभासम्म पुगेकी हुन् । पार्टीभित्र संगठन निर्माणमा विशेषगरी महिलाहरूको प्रतिनिधित्व बलियो बनाउने अभियानमा उनी अग्रपङ्क्तिमा रहिन् । यही ऐतिहासिक सन्दर्भमा हेर्दा उनको हालको सक्रियता केवल संयोग होइन ।
एक सुनियोजित रणनीतिक पुनःप्रवेशको संकेत हो भन्ने विश्लेषण गर्न सकिन्छ । झापा भ्रमणका क्रममा एमालेका स्थानीय तथा क्षेत्रीय नेताहरूसँग भण्डारीको भेटघाट, एकै मञ्चमा उपस्थिती, र परोक्ष रूपमा दिएका मन्तव्यहरू सबै राजनीतिक अर्थ राख्छन् । उनले सिधै पार्टीको औपचारिक भूमिका त नलिएको भए पनि, सार्वजनिक अभिव्यक्तिमा वर्तमान सत्तारूढ गठबन्धनप्रति असन्तुष्टि देखाउँदै मुख्य विपक्षी दल नेकपा एमालेको विचारलाई नै मजबुत बनाउने खालका संकेत दिएकी छन् । विशेषतः नेपाली कांग्रेसप्रति प्रकट गरिएको आलोचनाले उनी अझै पनि विपक्षी राजनीति र एमाले विचारधारासँग निकट रहेको प्रमाण दिन्छ । पार्टीभित्रको सन्दर्भमा हेर्दा, अहिले नेकपा एमाले आन्तरिक गुटबन्दी, नेतृत्वको आलोचना र वैचारिक अस्पष्टताबाट गुज्रिरहेको छ ।
केपी शर्मा ओलीको लामो नेतृत्वपछि पार्टीभित्र नयाँ पुस्ता र वैकल्पिक नेतृत्वको माग उठिरहेको छ । यस्तै अवस्थामा विद्यादेवी भण्डारीजस्तो अनुशासित, जनधारणा भएका र अनुभवसम्पन्न नेतृको सक्रियता त्यस नेतृत्व परिवर्तनको सन्दर्भमा निर्णायक बन्न सक्छ । यद्यपि, यो सहज छैन । उनले राष्ट्रपति पद सम्हालेको व्यक्ति भएकाले प्रत्यक्ष पार्टी राजनीतिमा फर्कनु संवैधानिक रूपमा विवादास्पद ठहरिन सक्छ । तर व्यवहारिक राजनीति भित्र ‘किंगमेकर’को भूमिका निर्वाह गर्ने सम्भावना भने पूर्ण रूपमा खुला छ ।
महिला नेतृत्वको पाटोमा हेर्दा, भण्डारीको पुनर्सक्रियता विशेष महत्वको छ । विगतमा एमालेभित्र महिला नेतृहरूको सहभागिता बलियो देखिए पनि पछिल्ला केही वर्षयता नेतृत्व तहमा महिला सहभागिता कमजोर देखिएको छ । यस्ता बेला भण्डारीजस्तो नेतृको सक्रियताले त्यो शून्यता पूर्ति गर्न सक्छ । उनी आफैं पनि विगतमा पार्टीभित्र महिला सशक्तीकरणका प्रमुख स्वर रहेकी थिइन् र अहिलेको अवस्था हेर्दा त्यही अभियान पुनः जगेर्ना गर्न सक्ने सामथ्र्य राख्छिन् । उनको केपी ओलीसँगको सम्बन्धमा आएको चिसोपनले पनि वर्तमान परिस्थितिमा थप चासोको विषय उत्पन्न गरेको छ ।
ओलीले विगतमा भण्डारीको राष्ट्रपतिमा चयनदेखि लिएर, राजनीतिक उचाइमा पु¥याउन मुख्य भूमिका खेलेका थिए । तर हालको दूरी र छलफलविहीन सम्बन्धले यी दुईबीच शक्ति सन्तुलनमा नयाँ मोड आएको संकेत गर्छ । ओलीप्रति बढ्दो असन्तुष्टि र आलोचनाबीच भण्डारीको सम्भावित उदयलाई पार्टीभित्रका केही समूहहरूले समर्थन गर्न सक्ने सम्भावना पनि बलियो छ । भण्डारीको कोशी केन्द्रित भ्रमणले उनको भूगोलप्रतिको भावनात्मक सम्बन्ध मात्रै झल्काउँदैन यो रणनीतिक राजनीतिक आधारको पुनः सक्रियता पनि हो भन्ने बुझाउँछ ।
झापा, मोरङ, र सुनसरी—तीनै जिल्ला कम्युनिष्ट आन्दोलनका ऐतिहासिक केन्द्र हुन् । भण्डारीका लागि यी क्षेत्रहरू राजनीतिक रुपमा सुरक्षित, प्रभावशाली र सन्देशमूलक छन् । यस्तो क्षेत्रमा देखिएको सक्रियता राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुअघि शक्ति सँगाल्ने प्रयासको रूपमा व्याख्या गर्न असजिलो छैन । अब प्रश्न उठ्छ—के विद्यादेवी भण्डारी एमालेको आगामी नेतृत्वको दावेदार बन्न सक्छिन् ? वा उनी केवल अन्तरिम संयोजक वा मार्गनिर्देशक भूमिकामा सीमित रहनेछिन् ? यो पूर्णतः पार्टीको आन्तरिक समीकरण, भावी परिस्थितिहरू र ओलीको स्थितिमा निर्भर गर्नेछ । तर, अहिलेसम्मका संकेतहरूबाट प्रष्ट बुझिन्छ की भण्डारी न त निष्क्रिय छन्, न त ‘पूर्वराष्ट्रपति’ का रूपमा विश्राममा छिन् । उनी राजनीतिक भविष्यलाई गहिरो ढंगले अध्ययन गरिरहेकी छिन् । उपयुक्त समय र भूमिकाको उनि तयारीमा छन् ।