अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकाले कार्यस्थलमा हुने हिंसा, दुव्र्यवहार बिरुद्ध सामुहिक प्रतिबद्धतासहित विभिन्न बुँदा सार्वजनिक गरेको छ ।
नगरपालिका अन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा झापाको अर्जुनधारा–९स्थित सुखानी शहीद स्मृति उद्यानको सभाहलमा सम्पन्न भएको कार्यस्थलमा हुने हिंसा रोक्न सचेतना कार्यक्रमका सहभागीहरुको सामुहिक प्रतिबद्धतासहित उक्त बुँदाहरु सार्वजनिक गरिएको हो ।
जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सामुहिक प्रतिबद्धतासहित सार्वजनिक गरिएको बुँदाहरुमा आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग नगरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा नपारी वा हतोत्साहित नगरी सबै सहकर्मी वा सेवाग्राहीलाई समान व्यवहार गर्नेछौं, यौनजन्य आशयले कसैको शरीरको कुनै पनि अंगमा छुने प्रयास गर्ने छैनौं, अश्लिल तथा यौनजन्य क्रियाक्लापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, शब्द दृश्य, सूचना प्रविधिका साधन, वस्तु, सामग्री प्रयोग वा प्रदर्शन गर्ने छैनौं रहेका छन् ।

त्यसैगरी अन्य बुँदाहरुमा कसैलाई पनि यौनजन्य क्रियाक्लापका लागि प्रस्ताव गर्ने छैनौं, यौनजन्य आशयले जिस्क्याउने वा हैरानी दिने छैनौं, यौनजन्य आशयको कुनै पनि बोली, व्यवहारहरु गर्ने छैनौं र आ–आफ्नो सोचलाई परिवर्तन गरी आ–आफ्नो संघ–संस्थाहरुमा यसै निती बमोजिमको निती निर्माण गरी आचारसंहिता लागु गराउने प्रतिबद्धता व्यक्त गर्दछौं रहेका छन् ।
सहजकर्ता प्रदीपकुमार पुरीले सहजिकरण गरेको कार्यक्रममा ४० जना बढीको सहभागिता रहेको थियो । कार्यक्रममा यौन, यौनजन्य हिंसा, कार्यालयमा हुने यौनजन्य दुव्र्यवहार, कार्यालयमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन् २०७१, यौनजन्य दुव्र्यवहारका संकेतहरु, यौनजन्य दुव्र्यवहार बिरुद्धका प्रमुख कानूनहरु, दण्ड सजायलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
अर्जुनधारा नगर कार्यपालिका सदस्य एवम् आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरीयाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललगायतले आफ्नो धारणा राखेका थिए । त्यसैगरी कार्यक्रममा सहभागीहरुकोतर्फबाट अर्जुनधारा–१० नं. वडा कार्यालयका वडासचिव त्रिविक्रम पोखरेल र कालिस्थान माध्यमिक विद्यालयकी शिक्षक गंगा पोखरेलले कार्यक्रमको अनुभव प्रस्तुत गरेका थिए ।
सामाजिक विकास शाखाकी कर्मचारी पुष्पा पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखाकी प्रमुख सूर्यमाला पन्धाक लिम्बूले गरेकी थिइन् ।