सन्त कवीर मध्ययुगीन समयका भारतीय क्षेत्रका एकजना विख्यात रहस्यमय कवि, दार्शनिक, सन्त, भक्तिमार्गका एक सूत्रधार थिए । उनको जन्म कहिले र कहाँ भएको थियो भन्ने बारेमा एकमत छैन । धेरैको मत अनुसार उनको विक्रम सम्वत् १४५५ अर्थात् सन् १३९८ जेठ पूर्णिमाको दिन लहरतारा तलाउको कमलको फूलमा अवतरण भएको थियो । अर्थात् उनी तलाउको ठूलो कमलको फूलमा प्रकट भए । त्यसपछि उनलाई निरुनीमा नामका दम्पत्तिले उठाएर लगेका थिए र प्रेमपूर्वक पालनपोषण गरेका थिए । त्यसकारण उनका अनुयायीहरू उनको जन्मजयन्तीभन्दा पनि प्राकट्य उत्सवको रुपमा मनाउने गर्दछन् ।
हेन्डरसनको कल्चर एण्ड कस्टम अफ इन्डिया नामको सन् २००२ मा प्रकाशित पुस्तक तथा डेभिड लरेन्जनको डेभोसनल ट्रेडिसन अफ इन्डिया नामको सन् १९८७ मा प्रकाशित पुस्तकहरूमा उनको जन्मको बारेमा फरक–फरक मतहरू लेखिएका छन् । केही अन्वेषकहरूको अनुसार उनको जन्म विक्रम सम्वत् १४४० मा वाराणसीमा भएको थियो । मृत्यु भने १५१८ मा मगहर भन्ने स्थानमा भएको थियो । उनको बारेमा सुभाषचन्द्र मल्लिकले सन् १९७७ मा डिसेन्ट प्रोटेस्ट एण्ड रिफर्म इन इन्डिया सिभिलाइजेशन भन्ने पुस्तकमा मज्जाले लेखेका छन् । त्यस्तै डाक्टर केदारनाथ दुवेदीले सन् १९६५ मा कवीर र कवीर पन्थ भन्ने ऐतिहासिक पुस्तक लेखेका छन् ।
कवीरले साकाहार भोजन गर्नुपर्ने, मध्यपान धुम्रपान गर्न नहुने, परस्त्रीलाई बहिनी–दिदी र आमा समान व्यवहार गर्नुपर्ने, तास जुवा खेल्न, व्यभिचार गर्न नहुने, सधैँ मनमा सकारात्मक र ईश्वरीय चिन्तन गरिरहनुपर्ने बताएका थिए । यस्तो चिन्तनले आत्मकल्याण र शरीर शुद्धि गर्न सहयोग पुग्दछ भन्ने उनको भनाइ रहेको थियो । उनी बहुईश्वरवादका विरोधी थिए । उनका अनुयायीहरू एक–आपसमा अभिवादन गर्दा बन्दगी शब्दबाट नमस्कार गर्दछन् । उनको समयमा सन्त कवीरको ख्याती व्यापक थियो ।
विभिन्न मतहरूमा विभाजित त्यतिबेलाको समाज अत्यन्त अन्धकारयुक्त थियो । समाजलाई लुटपाट, व्यभिचार, असहिष्णुता, हत्या हिंसाले आक्रान्त पारेको थियो । यस्तो परिस्थितिमा उदाएको उनको मतलाई के हिन्दू के मुसलमान धेरैले स्वीकारेका थिए । हिन्दू कवीरले राम र मुस्लिम कवीरहरूले खुदा शब्दको प्रयोग गर्दथे ।
कवीर मत अनुसार कवीर ब्रह्माण्डका सर्वोच्च पुरुष हुन् । उनलाई धेरैले परब्रह्म परमात्मा स्वरूप कवीर साहेव समेत भनेर मान्दछन् । कवीरका प्रथम शिष्यको रुपमा उनकै पुत्र चुडामणि र धर्मदासको नाम आउँछ । सत्य सद्गुरुको रूपमा उनको भक्तिमार्गलाई कवीरपन्थ भनिन्छ । उनका शिष्य सन्त सुरत गोपालले वाराणसीमा कवीर चौरा मठको स्थापना गरेका थिए । यो नै कवीर मत अनुसारको प्रथम संस्थाको रूपमा रहेको विश्वास गरिन्छ । कवीर पन्थमा महन्त परम्परा हुन्छ । यस पन्थमा महन्तहरू ब्रह्मचारी या गृहस्थ दुबै हुन सक्छन् ।
गृहस्थ महन्तहरूलाई गृहस्थ सन्यास पनि भनिन्छ । भारतीय उपमहाद्वीप बाहिर समेत कवीर पन्थहरूको विभिन्न संस्थाहरू रहेका छन् । तिनीहरू मध्ये त्रिनिडाह र टोबागो प्रमुख छन् । यी संस्थाहरूमा क्यानडा, फिजी, मरिसस, नेदरल्यान्डका भक्तहरू संलग्न छन् । सन्त कवीर का शिष्य धर्मदास तथा अन्य केही मिलेर उनका वाणीहरूलाई मिलाएर ‘कवीर सागर’को सम्पादन गरेका थिए । सन्त कवीरदासले आफ्नो समयमा धेरै भविष्यवाणी समेत गरेका थिए । उनले धर्मदासको सातौं पुस्तामा कालको दूतले जन्म लिएर मौलिक मन्त्र तोडमोड गर्दछन् र धर्ममा विचलन आउँछ भनेका थिए । कवीर दास भन्छन्–
‘सुन धर्मनी जो वंशन साई
जिनकी कथा कहु समभाई ।
काल धपेटा देवै आई
मम सीर नही दोष कछु भाइ ।।
कवीर सागरको कवीरवाणी नामक अध्यायमा १२ पन्थको विवरण बताइएको छ । जस अनुसार यागौदास पन्थ, सुरत गोपाल पन्थ, मूल निरञ्जन पन्थ, टक्सार पन्थ, भगवान दास पन्थ, सत्यनामी पन्थ, ममाली पन्थ, राम कवीर पन्थ, प्रेम धाम अर्थात् परम्धाम पन्थ, जीवा पन्थ, गरीबदास पन्थ रहेका छन् । विक्रम सम्वत १७७५ मा जन्मेका सन्त गरीबदास उनको एक पन्थको रुपमा रहेको विश्वास गरिन्छ । उनले स्वयम् कवीर साहेवको दर्शन प्राप्त गरेका थिए । सन्त गरीबदासलाई प्रेम प्रकट गर्ने पन्थीको रुपमा मान्यता दिइएको छ । किनभने यसको बारेमा स्वयम् कवीरदास भन्छन् –
सम्वत् सत्रसै पचहत्तर होई ।
ता दिन प्रेम प्रकटे जग सोई ।।
साखी हमारीले जीव समभावै ।
असंख्य जन्म ठौर नही पावे ।।
विभिन्न मतमा विभाजित पन्थहरूको कारण भक्तहरूमा दिगभ्रमित हुने र तेह्रौं पन्थको रुपमा स्वयम् कवीर प्रकट भएर सबै पन्थहरू नाश गरी एउटै सम्प्रदायको स्थापना गरिन्छ भन्ने कुरा गरीब दासले ‘असुर निकन्दन रमैनी’मा बताएका छन् । त्यसको बारेमा स्वयम् कवीर दासले यसरी बताएका थिए–
बारहवे वंश प्रकट होए अजियारा ।
तेरहवे वंश मिटे सकल अन्धियारा ।।
सन्त कवीर अनन्त ब्रह्माण्ड नायकको रूपमा परब्रम्ह परमात्माको अस्तित्व स्वीकार गर्ने एक सन्त थिए । उनी क्षर ब्रह्माण्डदेखि पर कहिल्यै कुनै पनि प्रलयले नछुने अक्षर मण्डलदेखि पनि पर पूर्णब्रह्म परमात्माको अस्तित्व छ र उनलाई युगल स्वरूपको रुपमा स्मरण गर्नुपर्दछ भन्ने कुरामा विश्वस्त थिए । उनले भनेका थिए –
अक्षर लोकके उपर, अक्षरातित अनुप ।
निरख हंश कौतुहल, करे दरसे युगल स्वरूप ।।
उनका छोरा चुडामणि अत्यन्त ज्ञानी सन्त थिए । तर, उनमा आफ्नो ज्ञानको घमण्ड अत्यधिक थियो । उनी आफू जस्तो ज्ञानी अरु कोही छैन भन्दै हिँड्दथे । शास्त्रीय ज्ञानमा आफू जोसँग पनि टक्कर लिन सक्ने छु भन्ने उनलाई घमण्ड थियो । यसै क्रममा समकालीन सन्त स्वामी प्राणनाथको बारेमा उनले पनि केही सुने । त्यसबेला ठट्टानगर भन्ने ठाउँमा ब्रह्मज्ञानी स्वामी प्राणनाथ अध्यात्मको खुब प्रचार गर्दै हिँडिरहेका थिए । ब्रह्मज्ञानको चर्चा भइरहेको कुरा चुडामणिले पनि सुने अनि शास्त्रार्थ गर्न उत्सुक भए । उनी प्राणनाथलाई भेट्नको लागि अत्यन्त लालायीत भएका थिए भनिन्छ । उनले जब प्राणनाथको ब्रह्मज्ञानको बारेमा सुन्न थाले आफ्नो घमण्ड पूर्णरुपले नष्ट हुन थाल्यो । उनी स्वामी प्राणनाथको ज्ञानमा समाहित हुन थाले । अन्त्यमा उनका शिष्यसहित स्वामी प्राणनाथबाट आध्यात्मिक जागनी भएको कुरा लालदास विरचित वीतकको प्रकरण २४ (१) र २४ (१५) ले यसरी बताउँछ –
चिन्तामणि ढुँढल फिरे, कहाँ है उन साध का ठौर ।
आया पुछत कथा मिने, मोहे ढुँठत भइ भोर ।।
कहया श्री तारतम यिनको, सब सेवको समेत
पर हेज कराया चार बातका, ए कबुल कर दिल लेत
यस प्रकार सन्त चुडामुनि र उनका शिष्यहरू सन्त कवीरले निर्देश गरे झैं अक्षर धामभन्दा परको साकार जुगलस्वरूप श्री राधाकृष्ण, श्रीजी, किशोरीजी, श्रीराजश्यामाजी, श्रीठाकुरजी ठकुराणीजी, श्रीश्यामाश्यामजी, श्री राधामाधवजी आदि नामका सेवकको रूपमा त्यो मतलाई स्वीकार्दै आइपुगेको देखिन्छ । सन्त कबीरदास परमात्माको मूल नाम निजनाम हो भनेर मान्दथे । जसले परमात्माको निज स्वरूप बुझ्न सक्यो त्यो अमर बन्न सक्छ । जो मनुष्य त्रिगुणका फन्दामा प¥यो ऊ कहिले पनि पार पाउन सक्दैन र सधैँ दुःखको सागरमा छटपटिन पुग्दछ भन्ने कुराकै सन्देश उनले दिएका छन् । उनी सधैँ परमात्मा चिन्तन गरिरहनुपर्ने र मानव सेवामा जुटिरहनुपर्ने कुरामा सबैलाई यसरी जगाउँछन् –
मूल नाम निज नाम है
बुझिलियो जो सन्त ।
जिनु जाना निजनामको
अमर भयो वंश ।।
त्रिगुण फाँसीके फन्दमे
भोल प¥यो संसार ।
कहे कवीर निज नाम
बिना कैसे उत्रे पार ।।
यसले पनि प्रमाणित गर्दछ कि सन्त कवीरले देखाएको बाटो आत्मनन्दको बाटो हो । निजानन्दको बाटो हो । ब्रह्मानन्दको बाटो हो । सचिदानन्द प्राप्तिको बाटो हो । आज ज्येष्ठ पूर्णिमा, सन्त कबीरको जन्मदिन । आज समस्त मानव जातिले उनले देखाएको अनुष्ठान को बाटोमा, ब्रह्मचिन्तनको बाटोमा, निजानन्दको बाटोमा तथा मानव सेवाको बाटोमा हिँड्न सक्यौँ भने उनीप्रतिको वास्तविक श्रद्धा समर्पण हुनेछ । कवीर जयन्तीको सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।