धरमपुर, शिवसताक्षी नगरपालिका–१ धरमपुरमा रहेको स्व. नर बहादुर–तारादेवी थापा स्मृति खानेपानी तथा सरसफाइ आयोजना समितिको १०० केभीए क्षमताको ट्रान्सफर्मर चोरी भएको छ।
स्थानीयवासीका अनुसार यो घटना शुक्रबार राति अर्थात् शनिबार बिहानको समयमा भएको हुन सक्छ। ट्रान्सफर्मर चोरीसँगै आयोजना मार्फत सञ्चालित खानेपानी आपूर्ति अवरुद्ध हुँदा सयौं उपभोक्ता प्रभावित भएका छन्। प्रारम्भिक अनुमानअनुसार ट्रान्सफर्मर चोरीबाट आयोजनालाई करिब १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। घटनापछि प्रतिक्रिया जनाउँदै नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ ‘क’ का सभापति विनोद ढकालले दोषीलाई चाँडो पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन्। उनका अनुसार ट्रान्सफर्मर खोल्ने र झार्ने काम सामान्य व्यक्तिबाट सम्भव छैन ।
त्यसका लागि प्राविधिक सीप आवश्यक पर्छ। विद्युत आपूर्ति बन्द गराएर करिब २५ फिट अग्लो पोलमा चढी ट्रान्सफर्मर फुकालेर भुइँमा झार्न सक्ने व्यक्ति तालिम प्राप्त हुनुपर्ने भन्दै ढकालले यस्तो कार्य कुनै प्राविधिकको संलग्नतामा भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनले लागू औषध दुर्व्यसनी समूहले पनि कुनै प्राविधिक प्रयोग गरेर चोरी गराएको सम्भावना औंल्याए। इलाका प्रहरी कार्यालय झिलझिलेले घटनाको अनुसन्धान सुरु गरेको छ। चोरीको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा चोरले प्रयोग गरेका केही औजारहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ। ५५५ देखि ७४० किलोग्राम तौल हुने ट्रान्सफर्मर खोल्ने र भुइँमा झार्ने कार्य एक व्यक्तिबाट सम्भव नहुने स्थानीयवासीको भनाइ छ। उनीहरूका अनुसार यो कार्य निश्चित योजनाका साथ समूहमा आएर गरिएको हो। चोरहरूले उपभोक्ता समितिको स्वामित्वमा रहेको ट्रान्सफर्मर खोलेर त्यसभित्र रहेको तामा निकालेर लगेका छन्।
यस घटनाले सार्वजनिक सम्पत्तिको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासी आक्रोशित छन् र यस्ता चोरीका घटनाबाट जोगिन निगरानी प्रणाली सुदृढ गर्नुपर्ने माग राखेका छन्। आयोजनाले पनि सेवा पुनः सञ्चालनका लागि वैकल्पिक उपायबारे छलफल अगाडि बढाएको जनाएको छ। ट्रान्सफर्मर चोरीको यो घटनाले केवल खानेपानी आपूर्ति मात्र नभई, सुरक्षा र सार्वजनिक सेवा प्रणालीमै गम्भीर असर पुर्याएको छ।