साइबर अपराध नियन्त्रण प्रभावकारी बनाऊ

0
11

डिजिटल प्रविधि र इन्टरनेटको बढ्दो प्रयोगले मानवीय कार्यलाई छिटोछरितो र प्रभावकारी बनाई लाभान्वित गराएको छ । यो सँगसँगै यही लाभदायक प्रविधि अपराधीका निम्ति पनि सहज माध्यम बन्दैछ । सूचना प्रविधिको विकास र इन्टरनेटको सहज प्रयोग बढ्दै गएसँगै साइबर अपराध सम्बन्धी घटना पनि बढेको छ । विश्वभर फैलिएको साइबर अपराधको प्रभाव नेपालमा पनि बढ्दो छ । हाम्रो समाजमा अहिले साइबर अपराध मुख्य चुनौति मध्येमा पर्दछ । अपराधीले यसलाई औजारका रूपमा प्रयोग गरिरहेका छन् । साइबर अपराधले व्यक्तिलाई मात्र होइन संघ–संस्था र राष्ट्रलाई नै पीडित बनाउँछ । यस सम्वन्धी ज्ञान अभाव र चेतनाको कमीले अहिले दिनहुँ साइबर अपराधका घटनाबाट पीडित हुनेहरुको संख्यासमेत उल्लेख्य हुने गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानले पनि साइबर अपराधको खतरा र यसको महत्वको बारेमा थप शिक्षाको आवश्यकता औँल्याएको छ । विशेषगरी साइबर अपराधका घटनामा युवा समूह बढी सक्रिय रहेको प्रहरीको निष्कर्ष छ । साइबर अपराध गरेकै कारण कतिपयले जेल जीवन समेत व्यतित गरेका छन् ।

सामाजिक सञ्जाल लगायतको दुरुपयोग गर्दै आर्थिक लाभ लिनेदेखि अश्लिल श्रव्यदृष्य सामग्री पोष्ट गर्दै व्यक्तिको चरित्र हत्या गर्नेसम्मका उजुरी साइबल व्यूरोमा पर्ने गरेको र उजुरीका आधारमा धेरैलाई पक्राउ गरिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समयमा साइबर अपराध नेपालमा बढ्दो चिन्ताको विषय हुन पुगेको छ । जसको गहिरो सामाजिक, आर्थिक, मानसिक र सुरक्षा प्रभावहरू रहेका छन् । चार वर्षमा झापासहित देशभरमा साइबर अपराधका घटना बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता रहेका छन् । टिकटक, ह्वाट्सएप प्रयोगकर्ता पनि उत्तिकै पीडित छन् । अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता पनि उल्लेख्य संख्यामा पीडित रहेको प्रहरीको भनाइ छ । प्रहरीले तयार गरेको तथ्याङ्क अनुसार सामाजिक सञ्जाल ह्याक सम्बन्धी बढी उजुरी परेको छ । तथ्याङ्कलाई हेर्दा साइबर अपराधबाट सबैभन्दा बढी युवापुस्ता पीडित भएको देखिन्छ । विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थी र आफैँ केही गर्नसक्ने युवा साइबर अपराधबाट पीडित बनेको पाइएको छ । साइबर अपराध सम्बन्धी कानूनबारे सचेत नहुँदा घटनाहरु हुने गरेको बताइन्छ । चिनजानका आधारमा मोबाइल बैंकिङका पासवर्ड अरुलाई दिने र अपरिचित लिङ्क खोल्दा धेरैको फेसबुक ह्याक हुँदा धेरै मानिसहरु पीडित हुनुपरेको बताइन्छ । साइबर अपराध कम गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत हुन जरुरी छ । साइबर अपराध नियन्त्रणको दृष्टान्तका निम्ति इन्डोनेसियाको व्यवस्थालाई लिन सकिन्छ । इण्डोनेसियामा सरकारले कानून प्रवर्तन एजेन्सी, निजी कम्पनी र सरकारी निकायका प्रतिनिधिसहितको अलगै राष्ट्रिय साइबर अपराध कार्यदल स्थापना गरेको छ । कार्यदल आफ्नो जिम्मेवारीप्रति संवेदनशील छ । यसले साइबर अपराधीको पहिचान गरी कारबाही गर्न गराउन तथा साइबर अपराधबाट बच्न सर्वसाधारणलाई जनचेतना जगाउन उत्कृष्ट उपलब्धि प्राप्त गरेको छ । कार्यदलको काम कार्यबाट राज्य मात्र होइन सर्वसाधारण नागरिक नै प्रभावित बनेका छन् ।

नेपालमा साइबर अपराध नियन्त्रण गर्न सबै सरोकारवालाको सामूहिक पहल जरुरी छ । यसको अगुवाई सरकारले गर्नुपर्छ । तीनै तहमा यस सम्वन्धी कानूनको प्रभावकारी कार्यान्वयनको संयन्त्र बन्नु आवश्यक छ । सबै लक्षित समूहहरूका लागि सूचना सुरक्षा, डाटा सुरक्षा र साइबर अपराधको मुद्दालाई सम्बोधन गर्न डिजिटल साक्षरतालाई कार्यान्वयन गर्न जरुरी छ । सूचना सुरक्षा संस्कृतिको सिर्जनातर्फ पहिलो कदम भनेको राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नु नै हो । डिजिटल शिक्षाले सबै प्रयोगकर्तामा चेतना जगाउन र दैनिक जीवनमा साइबर सुरक्षा प्रविधिहरू लागु गर्न प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खल्ने एक अध्ययनको निष्कर्ष रहेको छ । साइबर अपराधविरुद्ध बलियो साइबर सुरक्षाका उपायहरू, प्रभावकारी नीति, कानून र व्यापक जनचेतना अभियानहरू सञ्चालन गर्न समग्र दूरदृष्टिकोण आवश्यक छ । घर परिवारका सदस्यहरू, विद्यालयका शिक्षक प्रशिक्षकहरू, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरू, पत्रकार जगत्बाट नागरिक जागरणका विषयमा बहस, छलफल गर्नु आवश्यक छ । टोल–टोल, विद्यालयका कक्षा कोठामा साइबर सुरक्षाका विषयमा शिक्षक र विद्यार्थीबिच अन्तव्रिर्mया हुन आवश्यक छ । स्थानीय तहहरूले सामाजिक संघ–संस्थामार्फत नागरिक जागरणका कार्यक्रम बनाएर गाउँ टोल बस्तीहरूका नागरिकलाई डिजिटल साक्षरताका विषयमा ज्ञान सिप अभिवृद्धि हुने गरी प्रशिक्षित गर्नु आवश्यक छ । सरकार, निजी क्षेत्र र नागरिकहरूले नेपालको साइबर स्पेसको सुरक्षा गर्न र डिजिटल क्षेत्रमा सँधै विकसित हुने खतराबाट आफ्ना नागरिकहरूलाई जोगाउन सहकार्य गर्नु पर्छ । संघ, प्रदेश र स्थानीय तहहरू बिच सहकार्य र समन्वय आवश्यक छ । यस्ता सामुहिक प्रयासबाट मात्र नेपालमा हुने साइबर अपराधका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै डिजिटल संसारलाई सुरक्षित गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here