कोशी भ्रमण वर्ष २०८२ शुरु भइसकेको छ । पहाडकी रानी उपनामले परिचत इलाम प्रकृति र संस्कृतिको सङ्गम नै पर्यटन विकास र व्यवसायको मुख्य आधार मानिन्छ । यहाँ पर्यापर्यटन, कृषि पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन लगायतका पर्यटनको सम्भावना पाइन्छ । धेरैले इलामलाई स्वर्गको उपमा दिन्छन् । कसैले ‘नकुँदिएको हिरा’ – ‘अ नै अ को जिल्ला’ समेत भन्ने गरेका छन् । इलाममा एउटा मात्र हैन, यहाँ धेरै वटा पर्यटकीय स्थलहरु छन् । प्राकृतिक रुपमा सुन्दर यहाँका ठाउँहरू मन नपराउने को हाोलान र ? जिल्लाका पर्यटकीय गन्तव्यहरूको स्याहार पुग्न सकेको छैन । सिंगार्न सके पर्यटकीय हिसाबमा इलाम अब्बल गन्तव्यको रुपमा चिनिन सक्ने विज्ञहरू बताउँछन् ।
प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरूको मौलिक संस्कृतिको अवलोकन गर्न पर्यटकहरू बर्षेनी इलाम आउने गर्छन । नेपाल–भारत सिमानाको सिंहलीला पर्वत शृंखला र महाभारत पर्वतशृंखला तथा त्यहाँबाट उत्पन्न नदी, ढपक्क चियाले ढाकेका डाँडाहरू, विश्वमै दुर्लभ एवम् लोपोन्मुख जीव र वनस्पतिहरू, मेहनती किसानहरूले गरेको कृषि र पशुपालनले आन्तरिक र वाह्य आगन्तुकको मन लोभ्याउने गरेको छ । इलाममा पर्यटन पूर्वाधारको विकास भइरहे पनि प्रचार–प्रसार नहुँदा ती क्षेत्रहरू ओझेलमा परेका छन् । इलाम भ्रमणका लागि आउने अधिकांश पर्यटक कहाँ–कहाँ घुम्ने भन्नेमा अझै पनि अलमल्ल हुने गरेको पाइन्छ ।
अग्र्यानिक चिया, ओलन, अकबरे, अम्लिसो, अलैँची, आलु लगायतका नगदेबाली उत्पादनमा उत्कृष्ठ भूमिको रुपमा समेत इलाम चिनिन्छ । चियाको जिल्ला भनेर चिनिने इलाम अन्य थुपै्र कुरामा अगाडि छ । इलामको पहिचान नेपालमै पहिलो चिया बगान सँगै क्षणभरमै बादल र घाममा लुकिरहने डाँडाहरू मात्र होइनन, यहाँको भौगोलिक बनोट, नगदे बालीले अनि यसले सुधारिएको जीवनशैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया, पशु चौपाया, सिमसार क्षेत्र र झुल्केघाम लगायतले पनि इलाम भित्रिने आगन्तुकलाई स्वर्गको आभास तुल्याउँछ । झापाको चारआलीबाट अघि बढेपछि इलामको जोरकलशदेखि पहाडको घुमाउरो बाटो शुरु हुन्छ । यात्रामा भेटिने पाथीभरा मन्दिर दर्शनपछि कन्यामको चिसो हावा अनि छिनमै कुइरोमा लुकामारी गर्दै अघि बढेपछि आउने छिपिटार त्यहिबाट छुट्छ अन्तु । राजमार्गकै यात्रामा भेटिने फिकल बजार जहाँबाट पशुपतिनगर जान सकिन्छ भने राज मार्गबाटै अघि बढ्दा इलाम सदरमुकाम पुगिन्छ ।
चारआलीबाट तीन साढेतीन घण्टामा इलाम सदरमुकाम आएपछि बजार नजिकै छ ऐतिहासिक चिया कारखाना र चिया बगान अनि बजारमै पर्छ निसान राखिएको मन्दिर माईस्थान । इलाम बजार वरिपरि निकै पर्यटकीय स्थलहरु रहेका छन् । सेतीदेवी, भालुढुङ्गा, नारायथान, लबडाँडा अनी इलाम बजार हेने भ्यू–टावर । यति मात्रै होइन इलाम बजार आइसकेपछि नजिकै पर्छ माईपोखरी । रामसार सूचीमा सुचिकृत माइपोखरी धार्मिक र जैविक विविधताको धनि रहेको छ । माईपोखरी पुगेपछि नेपालको घुम्नै पर्ने ठाउँमा अवस्थित पर्यटकीय स्थल सन्दकपुर समेत पुग्न सकिन्छ । कच्ची सडकको यात्रामा पुगिने सन्दकपुर विदेशी पर्यटकहरुको आर्कषणको रुपमा रहेको छ । जैविक विविधता र प्रकृतिले भरिएको छिन्टापु इलामको माईमझुवा र पाँचथर जिल्लाको सीमा क्षेत्रमा रहेको छ । फागुन, चैत र बैशाखमा विभिन्न किसिमका गुराँसहरूको फूलले रमणीय बन्दै आएको छ । छिन–छिनमा फेरिने मौसम र चिसो बतासले पर्यटकलाई रोमाञ्चित पार्ने गरेको छ । कञ्चनजङ्घा, सगरमाथा लगायतका नेपाल, भारत र भुटानका हिमालशृंखलाहरू आँखै अगाडि देख्न सकिन्छ । लालीगुराँसको घना जङ्गल, भौगोलिक बनावटको अवलोकन आदि छिन्टापुमा जसरी अन्य स्थानमा पाउन सायदै गाह्रो पर्ला ।
त्यस्तै इलाम बजारबाट नजिकै रहेको पाटेनागी र पानीटार पर्यटकीय आकर्षणको केन्द्रबिन्दु नै रहेको छ । त्यसको नजिकै पर्छ सिद्धिथुम्का । जहाँ सूर्योदय र सूर्यस्थ हेर्न पर्यटकहरुको भीड लाग्ने गर्दछ । पानीटा सिदिथुम्काको यात्रापछि इलामको पश्चिमी क्षेत्रको मंगलबारे बजार पुगेपछि थोरै यात्रामा पुग्न सकिन्छ गजुरमुखी । गजुरमुखी धार्मिक पर्यटनको रुपमा परिचित छ भने बोली नआउने बच्चालाई दर्शन गराएपछि बोली आउने किम्बदन्ती रहेको छ । त्यहाँ पुगेपछि उत्तरतर्फ रहेको फाकफोकथुम गाउँपालिका जहाँ सन्त ज्ञान दिलदासको जन्मभूमि समेत रहेको छ । अन्तर जातीय विवाह गर्न पाउनुपर्छ भनेर आन्दोलन उठाएका ज्ञानदिल दास त्यहाँ छोडेर गई भारतमा गएर बसे पनि उनले पानी खाएका जोर धारा र उनी बस्ने गुफा अहिले पनि छन् । त्यो सँगै महाभारा पर्वत श्रृंखला अनि पाँच पाण्डव वनबास बस्दा पानी खाएको ठाउँ पाण्डव धारा र खाना खान प्रयोग गरिएको ओखल अहिले पनि देख्न पाइन्छ । त्यहाँबाट पश्चिमतर्फ इलाम पाँचथर सिमानाको रबि बजारबाट झापाको दमकको यात्रामा भेटिन्छ माङमालुङ । सोही ठाउँमा पर्छ एउटै औँलाले हल्लाउन सकिने बडेमानको ढुङ्गा । यो सँगै जिल्लामा धेरै पर्यटकीय गन्तव्यहरु रहेका छन् । कतिपय पर्यटकीय क्षेत्र अझै पनि प्रचार–प्रसारको अभावमा ओझेलमा छन् भने कतिपय ठाउँ विकासको प्रतिक्षामा रहेका छन् । उक्त पर्यटकीय स्थलहरुको विकासको लागि कोशी भ्रमण वर्षले थप टेवा पु¥याउने आशा इलाम बासीको रहेको छ ।
यस वर्ष १६ लाख पर्यटक भित्र्याउने योजनासहित ‘रमणीय कोशी’ भन्ने नाराका साथ कोशी भ्रमण वर्ष घोषणा भइसकेको छ । कोशीमै पहिलो पाइला टेक्ने विदेशीको संख्या ६०–६५ हजारको हाराहारीमा हुने अनुमानसहित कोशी प्रदेशले यस वर्षलाई भ्रमण वर्षको रुपमा हेरेको छ । भारत लगायतका देशबाट वार्षिक पाँच लाखभन्दा बढी पर्यटक नियमित आउने गरेको सरकारको अनुमान छ । कोशी प्रदेशमा विभिन्न चार वटा पदमार्ग निर्माण भइरहेका छन् । मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र चियाबारी पदमार्ग निर्माणको लागि सम्झौता भइसकेको छ । दुई अर्ब ३५ करोड लागतको यो परियोजनाले २९ वटा पालिकालाई छुन्छ ।
२०८५ सालसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको यो पदमार्गको निर्माणपछि कोशी प्रदेशको पर्यटनलाई ठूलो सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ । भ्रमण वर्षसँगै इलाम पुग्दा मेची राजमार्गको दायाँ–बायाँको चियाबारी पर्यटकको स्वागतका लागि ओछ्याइएको हरियो गलैंचा झैं लाग्छ । त्यसमाथिको कोणधारी सल्लाको रूखको सौन्दर्यले सबैको मन लोभ्याएको हुन्छ । कोही शैक्षिक भ्रमणको बहानामा त कोही घुमघामको शिलशिलामा पिकनिक खान इलाममा पुग्दछन् । कार्तिक–मंसीरबाट शुरू हुने पिकनिक चैत–बैशाखसम्म भइरहन्छ । सिरसिर चल्ने बतास त एकैछिनमा ढपक्कै छोप्ने कुहिरोभित्रको चियाबारीमा लुटपुटिँदै रमाउन उमेरले कसैलाई छेक्दैन । त्यसमाथि घोडा चढेर चियाबारी फन्को मार्दाको मज्जै बेग्लै हुन्छ । इलाम पुगेपछि पर्यटकहरूलाई घुमफिर गर्न सन्दकपुर छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्का जस्ता रमणीय पहाडका श्रृंखलाहरू रहेका छन् । जहाँ सयौं प्रजातिका चराहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू समेत इलाममा पाइन्छ । धार्मिक तथा पर्यटकीय स्थल पुग्नेहरूका लागि सेती देवी, पञ्चकन्या, सिंहबाहिनी, पाथीभरा, गजुरमुखी आदि धार्मिक स्थलहरू रहेका छन् ।
इलामको विकासमा कृषि पर्यटन
समग्रमा इलामको विकासमा कृषि पर्यटनको महत्वपूर्ण योगदान छ । इलाम अन्य स्थानभन्दा पर्यटनको पूर्वाधार छुट्टै किसिमको छ । आन्तरिक पर्यटनको लागि इलामले अलग पहिचान कमाएको छ । इलाम भनेकै कृषि र चिया पर्यटन हो । उसो त ओलन अर्थात् दूध, अदुवा, कुचो बनाउने अम्रिसो र आलु पनि इलामको मुख्य नगदेबालीहरू हुन् । चिज बनाउने कम्पनी, डेरी उद्योगहरू, दूध चिस्यान केन्द्र, गाईपालन जस्ता कृषिजन्य पेशाले इलामलाई समृद्ध बनाएको छ । खोल्साहरू समेत मूल्यवान अलैंची र स्कूसका बोटले ढाकिएका छन् । इलाम पुगेपछि खान बस्नलाई कुनै समस्या पर्दैन । इलाम पुगेपछि धेरैलाई मन पर्ने खानेकुरा मःमः, थुक्पा नै पहिलो रोजाइमा पर्छन् भने इच्छा मुताविक छ्याङ अर्थात् लोकल जाँड र तोङ्बा पनि निकैले रूचाउँछन् । शुद्ध दूधबाट बनेको मिठाई ललिपप इलामको चर्चित परिकार हो । ३० रुपैयाँदेखि एक सय रूपैयाँसम्मको प्याकेटमा यस्तो मिठाई किन्न पाइन्छ । इलाममा गुणस्तरीय छुर्पी पनि पाइन्छ । विभिन्न किसिमका चिया प्याकेटमा उपलब्ध हुन्छन् । ग्रीन टी, ह्वाइट टी र ब्ल्याक टी इलामका उत्पादन हुन् जुन ५० रुपैयाँदेखि दुई हजार रूपैयाँसम्मको प्याकेटमा पाइन्छन् । इलाम घुम्न आउने पर्यटक ललिपप, चिया र छुर्पी नबोकी सायद कोही फर्किदैन । कृषि पर्यटन इलामबासीको आर्थिक स्तर उकास्ने आधार स्तम्भ नै बनेको छ भन्दा फरक मत हुँदैन ।
कोशी प्रदेशको लगानीमा ‘टी टेस्टिङ सेन्टर’
चियाको राजधानीको रुपमा परिचित इलामको कन्याममा ‘टी टेस्टिङ सेन्टर’ निर्माण भएको छ । मुलुकमै पहिलो पटक इलामको कन्याममा टी टेस्टिङ् तथा अनुसन्धान केन्द्र निर्माण भएको हो । विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको १३ करोड ६५ लाख लगानीमा टी टेस्टिङ्सहितको अनुसन्धान केन्द्र निर्माण भएको हो । अनुसन्धान केन्द्रमा टी टेष्टिङ् सेन्टर, चिया सग्र्रहालय, चिया बिक्री कक्ष, गेष्ट हाउस र सभाहल रहेको छ । चिया पारखी स्वदेशी वा विदेशी पर्यटक, चिया चाख्न कै लागि आउनै स्थानीय र अनुसन्धान गर्नका आउनेका लागिे अनुसन्धान केन्द्र एउटा राम्रो ठाउँ तयार भएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । यो सँगै प्रदेश सरकारले अन्य पर्यटकीय क्षेत्रको विकासमा पनि लगानी गरेको छ । पर्यटन मार्गदेखि पर्यटकीय स्थलसम्म १४ वटै जिल्लाका पर्यटकीय स्थलको विकासका लागि काम गरिरहेको भन्दै कोशी भ्रमण वर्ष निकै महत्वपूर्ण रहने कोशी प्रदेशका मूख्यमन्त्री हिकमत कार्कीले बताए । उनले आगामी दिनमा पनि पर्यटकीय स्थलको विकास र पर्यटन प्रवद्धनका लागि कोशी प्रदेशले लगानी गरिरहने प्रतिबद्धता जनाए ।
होटलमा छैन ‘हस्पिटालिटी’
इलामको पर्यटन प्रवद्र्धनका लागि व्यावसायी स्वयम् र प्रदेश तथा स्थानीय सरकारले पर्याप्त लगानी गरेता पनि पर्यटकहरुको आधारभूत आवश्यकताका आधारमा पूर्वाधार निर्माण र व्यवसायिक सेवा प्रवद्र्धन गर्ने पक्षको क्षमता विकास गनै सकिएको छैन । आधारभूत आवश्यकताका बारेमा पर्यटकहरुकले प्रायः गुनासो गरिरहेका सुनिन्छ । गाडी चढ्दा गाडी स्टाफ र होटलमा खाँदा–बस्दा होटल स्टाफबाटै हस्पिटालिटी (सत्कार) नपाएको गुनासो पर्यटकहरु नै गरिरहेका हुन्छन् । सदरमुकाम लगायत पर्यटकीय क्षेत्रका ठूला भनिएका केही होटलमा समेत पर्यटक माथि अपमानजनक व्यवहार गरिएको गुनासो बारम्बार आउने गरेको छ । इलाम सदरमुकामकै एक होटलमा पश्चिमी जिल्लाबाट आएका पर्यटक राति करिब २ बजे होटलमा आइपुगे तर दिउँसै बुक गरेको कोठा पाएनन् । त्यसबारे गुनासो गर्दा होटलका कामदारले जस्तो छ, त्यस्तैमा सुत्नुहोस् । यतिबेला अब कहाँ तपाइँले खोजे जस्तो भेटिन्छ ? भन्ने जबाफ दिए रे ती पर्यटकले भने– ‘चियाबारीको सौन्दर्यले घेरिएको होटल हेर्दा जति सुन्दर छ, त्यसभित्र पर्यटकलाई गर्ने व्यवहार चाहिँ ज्यादै रुखो रहेछ ।’ यो त प्रतिनिधिमूलक उदाहरण मात्र हो यस्तो व्यवहार हामी नेपालीहरु जहाँ पनि गरिरहेका छौं जसले हाम्रो मान प्रतिष्ठा र ग्राहक समेत घटाइरहेको छ ।
चालकको रुखो बोली
सुनसरीबाट पहिलो पटक इलाम घुम्न आउँदा बिर्तामोडबाट इलामको जीप चढेका पर्यटक सुनिल ठाकुरले इलामका पर्यटकीय स्थलबारे चालकबाट जानकारी लिन खोजेछन्, चालकले बताउन चाहेनछन् । उनको जवाफ थियो रे– ‘म गाडी चलाउने मान्छेलाई केको पर्यटकीय स्थल सोध्नु भएको ?’ उनले चालकबाट पाएको जवाफ सुनाए, म पहिलो पटक इलाम आएको भन्दा पनि ‘झर्किंदै ती चालकले कन्याम, अन्तुहरू त होला नि भनेर थप बोल्न चाहेनन !’ यो जवाफ पाएर उनी छक्क परे ।
इलाम चारैतिर सुन्दर छ । पहिलोपटक घुम्न आएका पर्यटक त यहाँको सौन्दर्यमा रमाउने नै भए, पटक–पटक आउनेलाई पनि इलामको सौन्दर्यले धीत मार्दैन । तर, जब पर्यटक यहाँका सवारीका साधन, होटल र अन्य सेवाप्रदायकसँग ठोक्किन्छन्, सोचे जस्तो व्यवहार र सत्कार पाइरहेका छैनन् । घुम्न आएका पर्यटक प्रायः इलामबाट फर्किंदा गुनासो गर्न थालेका छन् । जिल्लाका होटल, यातायात व्यवसायी आवद्ध संघ–संस्था र सरकारी–गैरसरकारी निकायले समेत पर्यटक प्रति सेवा प्रदायकले गर्नुपर्ने व्यवहारबारे तालिम, प्रशिक्षण दिएकै छन् । तर, तालिम लिने थोरैले मात्र व्यावहारिक रूपमा आफूले सिकेको ज्ञान र सीप कार्यान्वयन गर्ने गरेको त्यहीँ क्षेत्रका अगुवा समेत स्वीकार्छन् ।
होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल भन्छन्– इलाम जस्तो पर्यटकीय जिल्ला घुम्न आएका पर्यटकले सत्कार नपाउनु दुःखद् कुरा हो । उनले एसोसिएसन र व्यवसायी पर्यटक मैत्री व्यवहारमा सचेत हुँदाहँुदै पनि सोचे जति सुधार्न नसकेको भन्दै सवीकार गरे । ‘आफूले दिने सेवा र सुविधा राम्रो बनाउने प्रयास त सबै व्यवसायीले गरेकै छन् । तर, कहिलेकाहीँ पर्यटकको स्तर, चाहना र आवश्यकता होटलले थाहा नपाएर पनि यस्तो गुनासो आउने गरेको पनि अध्यक्ष पौडेलले प्रष्ट्याए । यातायात क्षेत्रले पनि व्यवसायी र श्रमिकलाई पर्यटकप्रति गर्नुपर्ने सत्कार तथा व्यवहारबारे सचेत गराउने गरेको छ । तर, बेला–बेला सवारीसाधनमा कार्यरत श्रमिकको व्यवहारबारे गुनासो आउने गरेको पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका कार्यालय सचिव सुमन काफ्ले बताउँछन् । ‘हामीले श्रमिकलाई कहिलेकाहीँ पर्यटकलाई गर्नुपर्ने सत्कार र व्यवहारबारे प्रशिक्षण दिने गरेका छौं’ –उनले भने– ‘तर, त्यति भएर पनि बेला–बेला गुनासो आउँछ, दुबै पक्षलाई सम्झाइ–बुझाइ गर्छाैं ।’ उनले सवारी चालक र अन्य स्टाफलाई प्रालिले पटक–पटक सचेत गराउने गरेको बताए ।
पर्यटनमा कोशी प्रदेशको जोड
कोशी भ्रमण वर्ष २०८२ शुरु भइसकेको छ । २०८२ शुरु हुनु अगावै आर्थिक वर्ष २०८१÷०८२ को मध्यावधि पछि कोशी प्रदेश सरकारले ‘कोशी प्रदेश विकासको आधार, सवल पर्यटकीय पूर्वाधार’ भन्ने नाराका साथ पर्यटकीय क्षेत्रहरुको विकासका लागि बजेट नै विनियोजन गरेर अघि बढेको छ । कोशी प्रदेशभित्र चियाबारी, फाल्गुनन्द, लाली गुँरास र मुन्धुम पदमार्ग निर्माणको काम अघि बढाएको छ । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यले शुरु गरिएका उक्त योजनाको काम शुरु भएको छ । कोशी प्रदेशभित्रका प्राकृतिक, सांस्कृतिक, धार्मिक पर्यावरणीय साहसिक पर्यटकीय क्षेत्रहरुको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको हो । मुख्य धार्मिक पर्यटनकीय स्थलहरु पाथीभरा, बराहा क्षेत्र, हलेसी, तुवाचुङ– जायाजुङ, सिलौटी लब्रेकुटी, खुवालुङ जस्ता क्षेत्रहरुको विकासका लागि बहुबर्षे योजना अघि बढिसकेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले जनाएका छन् । उनका अनुसार ‘प्रदेशका धेरै पर्यटकीय स्थलहरुको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको भन्दै २०८२ लाई कोशी पर्यटन वर्षको रुपमा मनाउन १० करोड रुपैयाँ विनियोजन भएको छ ।’
इलाममा कोशी प्रदेशको लगानी
इलाममा वर्षेनी पर्यटकको संख्या बढ्न थालेपछि तीनै तहका सरकारले पूर्वाधार निर्माणको क्षेत्रमा सक्रियता देखाएका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि विशेषत कोशी प्रदेश सरकारले सडक, खानेपानी, पदमार्ग व्यवस्थापन र गन्तव्य प्रचार–प्रसारका काममा सबैभन्दा बढी लगानी गर्दै आएको छ । जिल्लाको पर्यटकीय क्षेत्र सन्दकपुरस्थित जौबारी क्षेत्रमा पूर्वाधार निर्माणको काम सबैभन्दा बढिरहेको कोशी प्रदेश सभाषद तथा पूर्व पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले बताइन् । कोशी प्रदेशले रोङ गाउँपालिका–५ मा रु.२५ लाखमा थालेको किरात सांस्कृतिक पार्क निर्माणमा पुनः रु.५० लाख थप गरी निर्माण कार्यलाई तीव्रता दिएको छ । यस्तै कन्याममा गत वर्ष रु. ६० लाखको लागतमा पदमार्गमा रेलिङ लगाउने काम भएकोमा चालू आर्थिक बर्षमा रु. २५ लाख थपेर काम हँुदैछ । हर्कटदेखिे गुगल प्वाइन्टसम्मको पदमार्ग निर्माण पनि रु.२५ लाखकै लागतमा भइरहेको छ । सूर्योदय नगरपालिकाको जिमी खादमा जिमी राजारानीको ऐतिहासिक दरवार संरक्षणको काम भइरहेको छ । सतसर्ग पोखरी संरक्षणमा पनि प्रदेश सरकारले रु. २५ लाख रकम बिनियोजन गरेको छ । माई–५ मा जस्मिनी धर्म अन्तर्गत कमलचरण शिवधामको संरक्षणको काम रु. २५ लाखको लागत अनुमानमा काम अघि बढेको छ ।
यस्तै माइको शुक्रबारेमा महागुरु फाल्गुनन्दको शालिक निर्माण भइरहेको छ । सूर्योदयन नगरपालिका–२ को पशुपतिनाथ मन्दिर मर्मतको कामलाई २५ लाख रुपैयाँ विनियोजन भएको थियो । माईजोगमाई–५ को मलुपोखरी संरक्षणको काम रु.२५ लाख, माईजोगमाईको तारेभीरमा पर्यटन प्रवद्र्धनको काम रु. २५ लाख, सन्दकपुरमा रु.२५ लाख लागतमा सामुदायिक भवन निर्माण, इलाम बजारको इलाम दरवारको संरक्षणको काम रु.२५ लाख, माईको तेह्कुने पोखरी संरक्षणको काम रु. २५ लाख सँगै जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि लगानी भएको छ । प्रदेश सरकारका साना, ठूला गरी इलाममा दर्जनभन्दा बढी योजना सञ्चालनमा रहेका छन् । कतिपय योजना सञ्चालनमा रहे पनि अनुगमन र समन्वयकोे अभावमा राम्ररी काम हुन सकेको छैन । कोशी प्रदेश सरकारले कृषि, पर्यटन र जलविद्युत क्षेत्रलाई कोशी प्रदेश विकासको मेरुदण्ड मानेर यसरी लगानी बढाएको हो ।
बंगालबाट आउने पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने
आन्तरिक पर्यटक सँगै इलामको पर्यटन विकासलाई अझ मजबुत पार्न नजिकमा रहेको पश्चिम बङ्गाल (भरत)बाट आउने पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने देखिन्छ । उनीहरु देवी–देवता र धार्मिकस्थलप्रति अत्यधिक आस्था राख्ने, विश्वास गर्ने भएकोले त्यहाँबाट आउने पर्यटकहरुलाई यहाँका पाथीभरा, दन्तकाली लगायतका स्थलको महŒव बुझाउन सके थप पर्यटक तान्न सकिन्छ । पूर्वी नेपालको पर्यटकीय विकासलाई लक्ष्य गरी नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रमहरु गरिरहेको भए पनि अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ । जसबाट बंगालका पर्यटकहरुसम्म यहाँको भौगोलिक बनौट, इलाममा उत्पादित चिया, अलैंची लगायतका नगदे बाली, यहाँको जीवनशैली, जैविक विविधता र जातीय संस्कृति, पु¥याउन सकेको खण्डमा पर्यटन व्यवसाय निकै फस्टाउने अवस्था देखिन्छ ।
पर्यटकको रोजाईमा होमस्टे
सुकिलो सडकमा हुइँकिँदै तारे होटलमा बसेर रमाउँदा बेग्लै मजा होला तर, गाउँघरमा फन्को लगाउँदै गाउँले घरमा खादै–बस्दै रमाउँदाको आनन्द र अनुभूति त्यो भन्दा मञ्जाले लिन सकिन्छ । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा अचेल कि त लामो दूरीको ट्रेकिङ कि त होमस्टे पर्ने गर्दछ । फरक गाउँको फरक–फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा पाइन्छ । होमस्टेमा लोकल कुखुुरा, खसी, बोकाको मासुदेखि सेलरोटी, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास, केराउ लगायतका स्थानिय उत्पादनबाट तयार परिएका खानाका विभिन्न परिकारहरुको स्वाद मज्जाले लिन पाइन्छ । होमस्टेका नाममा सूविधासम्पन्न होटल निर्माण भइरहेका छन्, तर ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूमा पनि आकर्षण बढेको हो । महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा पाइन्छ । होमस्टेमा बस्र्ने पर्यटकहरुले एकै परिवारको सदस्य झैं बस्न पाउँछन् ।
अनलाइनबाटै हुन्छ होमस्टे बुकिङ
करफोक खलङ्गा सामुदायिक होमस्टेले इलाममा एउटा छुट्टै पहिचान बनाउँदै आएको छ । फिक्कल बजार पार गर्दै इलामतर्फ लाग्दा मेची राजमार्गको छेउमै रहेका खलङ्गा सामुदायिक होमस्टे यतिबेला विदेशी पाहुनाको रोजाइमा पर्न थालेको छ । ६० जनासम्म पाहुना अट्ने सुविधा भएको यो सामुदायिक होमस्टेमा पाहुनाले स्थानीय परिकार, संस्कृति, तथा ग्रामीण जीवनशैलीको अनुभव लिन पाउँछन् । विगत तीन वर्षदेखि शुरु गरिएको यो होमस्टेमा छिमेकी देश भारतका बङ्गाली, बिहारी तथा अन्य विदेशी पाहुना ‘बुकिङ डट कम’ जस्ता अनलाइन प्लेटफर्म मार्फत बुकिङ गरेर आउने गरेका छन् । होमस्टेलाई डिजिटल प्रविधिसँग जोड्ने काम चन्द्र सापकोटा (अस्ट्रेलिया निवासी इञ्जिनियर)का छोरा किरण सापकोटाले गरेका हुन् । उनले ‘बुकिङ डट कम’मार्फत होमस्टेको पँहुच अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउने उद्देश्यले अनलाईन बुकिङ शुरु गरेका हुन् ।
अहिले बेलायत निवासी सु चेम्बरलिन अनलाइन बुकिङ मार्फत होमस्टेमा आएकी छन् । उनले इलाम खुबै मन परेको र यहाँ ढुक्कसँग बस्न, हिँड्न पाएको भन्दै खुशी व्यक्त गरिन् । ‘यहाँको खाना पनि मीठो, मान्छे पनि मिजासिला रहेछन्’ –उनले भनिन्– ‘करिब ४४ वर्षअघि पनि नेपाल आएकी थिएँ ‘तर अहिले इलाममा प्लास्टिकको फोहोर बढेको रहेछ’ –उनको सुझाव छ– ‘फोहोर व्यवस्थापनमा काम गर्नसके इलामको पर्यटकीय भविष्य राम्रो छ ।’ उनले पहिला आउँदा पोखरा घुमेको, त्यो बेला पोखरा, फेवाताल ज्यादै रमाइलो लागेको तर अहिले दुःखलाग्दो अवस्था भएको भन्दै ‘अहिले त्यो पोखरा पुरानो पोखरा जस्तो लागेन, सबैतिर कंक्रिट, धुँवा, फोहोर, बार, डिस्कोले त्यहाँको सौन्दर्य कुरूप भएछ’ –उनले भनिन्– ‘पोखरा बस्न नसकेर इलाम आएँ, इलाम साँच्चीकै शान्त र आनन्दको लागीरहेछ ।’
होमस्टेमा विदेशी पर्यटकको आकर्षण
इलामको सन्दकपुर गाउँपालिका–३ माई पातलमा विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटक होमस्टेमा बस्ने गरेका छन् । इलाम घुम्न आएका विदेशी पर्यटक महिनौंसम्म पनि होमस्टेमा बस्ने गर्दछन् । ग्रामीण पर्यटनको अवधारणा अनुरूप गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन आएका विदेशी पर्यटक धेरै समय बस्ने गरेका हुन् । इलामको माइपोखरी, पाटेनागी, फिक्कल लगायतका होमस्टेमा पालैपालो २० वटाभन्दा बढी देशका पर्यटकहरु महिनौंसम्म बस्ने गरेको इलाम माई पातलका होमस्टे सञ्चालक टीका खतिवडा बताउँछन् । धेरै विदेशी हिमालको पदयात्रामा जाने भए पनि अहिले इलामलाई गन्तव्य बनाउन थालेका छन् । पर्यटकलाई खान र बस्न सहज हुने भएकाले पनि घुम्न आउने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् । उनीहरु धेरै होमस्टेमा गाइको थलो भकारो गर्ने, घाँस काट्ने, घरको काम सघाउने खाना पकाउने, दूध डेरीमा पु¥याउने समेत गर्दछन् । धेरैजसो पर्यटकहरु हप्ता दिनदेखि एक महिनासम्मको समय मिलाएर बस्ने गरेका छन् । होमस्टेबाट यहाँको कला, संस्कृति, भेषभुषा, खानपानमा रमाउन पाउँदा खुशी हुँदै उनीहरुले इलामको बसाई ज्यादै राम्रो भाएको बताएका छन् ।
पर्यटनमा चुनौती
पर्यटन व्यावसायको गुणस्तर सुधारका लागि अझै धेरै काम गर्नुपर्ने देखिन्छ । नेपालका पर्यटकीय गन्तव्यहरूमा सरसफाईको कमी, आधारभूत पूर्वाधार विकासको कमि, असुरक्षा, दीगोपनप्रति शंका र आकर्षण व्यवस्थापनको परिपूर्ति गर्न व्यवसायी र सरकारले तत्काल ध्यान पु¥याउनुपर्ने अवस्था छ । जिल्लामा सञ्चालित सबै प्रकारका होटलहरूमा शैक्षिक योग्यता कम भएका, व्यावसायिक दक्षता नभएका र व्यावसायिक लगाव समेत कम भएका कर्मचारीहरूको बाहुल्यता भएका कारण प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न कठिनाइ भएको छ । पदयात्रा मार्गका साना चिया पसलमा उपलब्ध हुने बासदेखि होटलका कोठाहरूसम्म पर्यटकमैत्री वातावरण बनाउनुपर्ने देखिन्छ । होटलहरूमा दिइने सेवा एकनासको पाइँदैन । पर्यटकको अपेक्षा अनुसारको सेवा र गुणस्तरका बारेमा व्यवसायी तथा तिनका कर्मचारी सचेत हुन जरुरी देखिन्छ ।