शिवसताक्षीमा रोजगार संवाद कार्यक्रम सम्पन्न, स्वरोजगार अभिवृद्धिमा जोड

0
75

शिवसताक्षी।

झापाको शिवसताक्षी नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रको आयोजनामा सोमबार एकदिने रोजगार संवाद कार्यक्रम सम्पन्न भएको छ। नगर क्षेत्रभित्र रहेका रोजगारमूलक अवसरहरूको पहिचान, समस्या समाधानका उपायहरू र रोजगारी सिर्जनाका सम्भावनाबारे सुझाव संकलन गर्ने उद्देश्यले संवाद कार्यक्रम गरिएको हो।

शिवसताक्षी नगरपालिकाको बैठक कक्षमा सम्पन्न कार्यक्रममा नगर प्रमुख मेगाहाङ थोप्रा, कार्यपालिका सदस्य रामनरेश शर्मा, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे, लेखा प्रमुख प्रकाश योङहाङ, कृषि शाखा प्रमुख रबिन भट्टराई, नेपाली कांग्रेसका महासमिति सदस्य भक्ति सिटौला, नेकपा एमाले नगर अध्यक्ष मेदनी दङ्गाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष गङ्गाराम कडरिया, विभिन्न वित्तीय संस्थाका प्रतिनिधि, स्थानीय उद्यमी, कृषक, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा विषयगत शाखाका प्रमुखसहित ४० जनाको सक्रिय सहभागिता थियो। कार्यक्रमको सहजीकरण शिवसताक्षी रोजगार सेवा केन्द्रका प्रमुख विदुर तिम्सिनाले गरेका थिए।

कार्यक्रममा सहभागी अधिकांश वक्ताले स्वरोजगार अभिवृद्धिमा स्थानीय सरकारको ध्यान केन्द्रित गरिनुपर्ने सुझाव दिएका थिए। उनीहरूले कृषि, पशुपालन, साना तथा घरेलु उद्योग, तालिममार्फत सीप विकास तथा लगानीमैत्री वातावरण निर्माण गरी युवाहरूलाई स्थानीय तहमै रोजगार सिर्जना गर्न सकिने तर्क राखे।

नेपाली कांग्रेसका भक्ति सिटौलाले नगरपालिकाले स्वदेशमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन रणनीति बनाउनु पर्नेमा जोड दिए भने नेकपा एमालेका मेदनी दङ्गालले उद्यमशिलताको प्रवर्द्धनका लागि सहुलियत ऋण प्रणाली प्रभावकारी रूपमा लागू गरिनुपर्ने धारणा राखे। राष्ट्रिय स्वतन्त्र पार्टीका गङ्गाराम कडरियाले वैदेशिक रोजगारमा जाने युवाको व्यवस्थापन तथा फर्किएपछि सीपअनुसार रोजगारीमा जोड दिनुपर्ने बताए।

कृषि तथा पशुपालन क्षेत्रमा रहेका अपार सम्भावनालाई उपयोग गर्नुपर्ने सुझाव पनि बलियो रूपमा उठ्यो। नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय सरकार स्वरोजगारका अवसर सृजना गर्न प्रतिबद्ध रहेको बताए। उनले तालिम, सीप र लगानीसँग जोडिएको कार्यक्रमलाई प्राथमिकता दिइने जनाउँदै भने, “रोजगारी सिर्जना विकासको मूल आधार हो, यसलाई हाम्रो नीतिगत कार्ययोजनामा जोड दिइनेछ।”

कार्यक्रमले रोजगार अभावका जरा खोज्दै समाधानमुखी योजना बनाउन स्थानीय सरकारका लागि सहजीकरण गरेको सहभागीहरूको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here