नरेन्द्र ढकाल
झापा ।
नेपालमा अपराध गरेर अन्यत्र देशमा गएर लुकेर बस्ने तथा देशकै कतिपय स्थानमा लुकेर बस्ने गरेका घटना नौलो होइन् । सरकारको बलियो सुरक्षा नीति नहुँदा नेपालमा अपराध गरेर भारत लगायतका देश तर्फ भाग्ने गरेका घटना हाम्रै समाजमा रहेका छन् । भाडा तथा होटलमा बस्न आएका मानिसहरु बस्ता हुन् ? उनीहरु कहाँ आएका हुन् ? के प्रयोजनका लागि आएका हुन् ? कुनै पनि विवरण न त सुरक्षा निकायसंग हुन्छ न त राज्यले कसैलाई यस्तो विवरण राख्न बाध्यकारी नियम नै बनाएको छ । केही नियमहरु बने पनि ति विवरण देखावटी मात्रै पाइएको छ ।
तर, झापाको कनकाई नगरपालिका–३ ले डेरामा बस्नेको घरवालाले परिचय खुल्ने कागजातसहित विवरण वार्डमा बुझाउनुपर्ने नियम बनाएसंगै अहिले वडासंग कति मानिस भाडामा बस्छन्, उनीहरु के पेशा वा ब्यवसाय गर्छ, कहाँबाट आएका हुन् लगायका सम्पूर्ण विवरणहरु सुरक्षित रहेको वडाध्यक्षा युवराज चम्लागार्ईंले जानकारी दिए । उनले यो अभियानमा वडाबासीले सहयोग गरेको भन्दै यो अभियान देशभर सञ्चालन गरे आपराधिक मानसिकता भएका ब्यक्तिहरु तत्काल पक्राउ पर्ने उल्लेख गरे ।
कनकाई–३ मा १३ वटा टोल विकास समिति रहेको र झण्डै तीन हजार घरहरु रहेको वडाध्यक्ष चम्लागार्ईंको भनाई छ । वडामा २० हजारभन्दा धेरै जनसंख्या रहेको र भाडामा बस्नेको तथ्याङ्कलाई अझ प्रभावकारी रुपमा संकलन गर्ने प्रतिबद्धता जनाए । उनले जुन रुपमा अभियान सञ्चालन हुनुपर्ने हो त्यो अवस्थामा नभएको स्वीकार गर्दै पूर्वाञ्चलसंग भने -‘यो अभियानलाई प्रभावकारी बनाउने विषयमा हामी गम्भिर बनेका छौं । हाम्रो कमजोरी भएकाले सबै विवरणहरु आउन अझै सकेका छैनन् ।’
उनले अहिले अन्तर जिल्ला तथा अन्तरदेशको मात्रै डेरावालाको विवरण भए पनि अब डेरामा बस्ने जो कोहीको विवरण प्रभावकारी रुपमा संकलन गर्ने प्रतिबद्धता जनाए । उनले भाडामा बस्न आउने र जाने क्रम चलिरहने भएकाले संख्यामा फेरबदल भइरहने उल्लेख गरे ।
यो अभियान सञ्चालन गरेपछि वडाबासीले सुरक्षाको प्रत्याभूति गरेको उनको दाबी छ । कनकाई नगरपालिका वार्ड नं ३ को वडा समितिको बैठकले प्रत्येक घरको सबै विवरण राख्ने निर्णय गर्दै डेरामा बस्नेको विवरण पनि वडामा संकलन गरेको थियो ।
गौहत्या भएपछिको घटनाले कनकाई–३ असानत बनेपछि घटनामा संलग्नको विवरण घरधनीसंग पनि नभएको पाइएपछि वडाले तत्काल सबैको विवरण संकलन गर्ने निर्णय गरेको थियो । वार्ड नं ३ का सम्पूर्ण घरबहाल लगाउने घरबेटीहरुलाई आफ्नो घरमा भाडामा बस्ने सम्पूर्ण डेरावासीको परिचय खुल्ने नेपालीका हकमा नागरिकता प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्र र विदेशीको हकमा आधारकार्ड वा राहदानीको फोटोकपी राखी ३५ दिनभित्र विवरण बुझाउनु पर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय झापासहितका विभिन्न जिल्लामा अपराधका घटना घटाएर फरार हुने क्रम बढी रहेका बेला यस्ता अभियानलाई अन्य वडा तथा पालिकाहरुले समेत अनुसरण गर्दै आफ्नो वडाको सबै विवरणहरु सुरक्षित गर्नुपर्ने जानकारहरु बताउँछन् ।