झापा ।
पूर्वमा एकैदिन दुई वटा जङ्गली हात्ती मृत फेला परेका छन् । झापाको मेचीनगर र सुनसरीको बराहक्षेत्रमा एक–एक वटा हात्ती मृत फेला परेका हुन् । त्यस्तै हात्तीको आक्रमणमा मेचीनग- १ दुर्जन चोक बस्ने ६८ वर्षीय पूर्ण बहादुर श्रेष्ठ घाइते भएका छन् ।
आज बिहान ८ः५५ बजे मेचीनगर नगरपालिका .१ गणेश टोलस्थित मकैवारिमा जङ्गली पोथी हात्ती मृत अवस्थामा फेला परेको हो । प्रहरी चौकी तिरिङखोलाबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र डिभिजन वन कार्यालय झापालाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै सुनसरीको वराहक्षेत्र नगरपालिका २ रेल्वे लाइन बस्ने प्रल्हाद थापा र मिना राईको मकैवारिको सिमाना आलीमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।
यता आज बिहान ४ः३५ बजे मेचीनगर नगरपालिका १ दुर्जन चोक बस्ने ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका छन् । आफ्नै बारीमा आएको एकल जङ्गली हात्तीलाई लखेट्ने क्रममा उक्त हात्तीले श्रेष्ठलाई आक्रमण गरेको थियो । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
आज दिउँसो पनि मेचीनगर–२ मा जङ्गली हात्तीको बथान नै पसेको छ । जसका कारण यहाँका स्थानीय नागरिक त्रसित छन् । बिहानदेखि नै मेचीनगर–२ स्थित मगर डाँडामा भने २० वटाभन्दा बढी जङ्गली हात्ती डुलिरहेका छन् । उक्त हात्ती चिया बगान, बाँसघारी लगायतका स्थानमा छलिँदै भौँतारिरहेका स्थानीय प्रवीण चापागाईँले जानकारी दिए ।