मानवको विकास र पृथ्वीमा आउने परिवर्तन

0
19

पृष्ठभूमि :

हाम्रो ब्रम्हाण्ड विशाल छ । हामीले कल्पना गरेभन्दा पनि विशाल छ ब्रम्हाण्ड । यही ब्रम्हाण्डको एउटा विन्दु हो पृथ्वी । त्यस विन्दुका विभिन्न प्राणी र वनस्पति मध्ये मानव नामक प्राणी एक विन्दु हो । अमेरिकाका एक खर्बपति एक रकेटमार्फत पृथ्वीलाई पनि आकाशमै देख्ने ठाउँमा पुगेछन् । फर्किएर आएपछि उनलाई उनका अरु केही खर्बपति र अर्बपतिहरुले सोधेछन् तिम्रो अनुभव के छ । उनले भनेछन्– पृथ्वीभन्दा माथि पुगेर पृथ्वीलाई एउटा विन्दु जस्तो देखेपछि मेरो घमण्ड चकनाचुर भयो । अरुले भनेछन् कारण । उनले जवाफ दिएछ्न्– त्यत्रो विशाल ठानेको मेरो पृथ्वी त्यति सानो देखिन्छ भने यस ब्रम्हाण्डमा म भुसुनु जत्रो पनि रहेनछु भन्ने महशुस गरेपछि म ठूलो हुँ, धनी छु भन्ने घमण्ड चकनाचुर भयो र मलाई सत्य थाहा भयो ।

यो ब्रम्हाण्डको सृष्टि कसरी भयो कसले गर्यो भन्ने विषय बहस र छलफल तथा तर्क गरेर पार नलाग्ने बहस हो । विभिन्न धर्म मान्नेहरुले आ–आफ्ना ईश्वरले यस ब्रम्हाण्डसँगै पृथ्वीसहित मानव, वनस्पति र अन्य प्राणीको पनि सृष्टि गरेको मान्छन् भने बैज्ञानिकहरु विगव्यांगबाट ब्रम्हाण्डसँगै पृथ्वीको पनि सृष्टि भयो र पृथ्वीमा भएका ९२ तत्वहरुको समिश्रणबाट मानवसहित विभिन्न प्राणी र वनस्पति बनियो भन्छन् । बिगव्यांग अघिको विन्दु कसरी बन्यो भन्ने जवाफ वैज्ञानिकहरुसँग छैन भने ईश्वर कसले सृष्टि ग¥यो भन्ने जवाफ धर्म मान्नेहरुसँग पनि छैन । सबै कल्पना र तर्क मात्र हुन् । वास्तविक कुरा कसैलाई थाहा छैन, हुँदैन पनि । त्यसैले यसमा बहस र तर्क गरेर समय खेर फाल्नु हुँदैन । जे छ त्यसैलाई सत्य मानेर अघि बढ्नुपर्छ भन्छन् अनिश्वरवादीहरु ।

मानवको विकासक्रम :

विभिन्न धर्म मान्नेहरुले विभिन्न प्राणीसँगै मानवको पनि सृष्टि भयो भन्छन् । यसलाई दैवी उत्पत्तिको सिद्धान्त भनिन्छ भने वैज्ञानिकहरु पृथ्वीमा हुने विविध रासायनिक क्रिया प्रतिक्रियाबाट शुरुमा जल त्यसपछि वनस्पति, त्यसपछि अन्य प्राणी र अन्त्यमा मानवको विकास भयो भन्छन् । मानव र अरु प्राणी तथा वनस्पतिको पनि क्रमिक विकास भएको उनीहरुको कथन र विश्लेषण छ । यस आलेखको उद्देश्य मानव विकासक्रम भएकोले अरुलाई छोडेर मानवकै विकासको चर्चा गर्छु ।

विकासवादी सिद्धान्तले भन्छ– जलचरबाटै अन्य प्राणीसँगै मानव प्राणीको पनि विकास भएको हो । त्यसैले मानव नजिकको प्राणी माछा हो । व्याक्ेटिरयाको विकाससँगै घस्रने जीव र त्यसबाट विकासको क्रममा पृथ्वीमा विभिन्न रुप र आकारका बानर देखिन थाले । ती बानरमा पनि चिम्पान्जी नामक बानर मानव नजिक मानिएको छ । चिम्पान्जीमा पनि मानवरुपी गुण भएको बानर जसको पुच्छर पनि थिएन त्यसको मष्तिष्कको विकास भएसँगै मानवको रुपमा आयो भनिएको छ । बानर मानव भएको होइन । नत्र त संसारमा बानर रहने थिएनन् ।

नेपालमा पनि ८० लाख वर्ष पुरानो मानव हुन अति प्रयत्नशील मानव गुण भएको बानरको माथिल्लो बंगारा बुटवलको तिनाउँ नदी पारी खस्यौली बजार माथिको चुरे पर्वतमा सन् १९३१ मा एक जना फ्रान्सेली नृतत्वशास्त्री लेविसले फेला पारेका थिए । त्यसको नाम रामापिथेकस राखिएको छ । यही रामापिथेकस नै हामी नेपालीको भेटिएका मध्ये नजिकको पुर्खा हो ।

वैज्ञानिकहरु भन्छन्– अफ्रिकाबाट यतातिर क्रमश विकसित आधुनिक मानवहरु बसाईं सर्दै आए र संसारमा फैलिए । अहिलेका मानवलाई होमो सेपियन्स भनिन्छ । हामी सबै होमो सेपियन्स हौं । अर्को अनुसन्धान नभएसम्म यसै तर्कलाई मानिएको छ । यसलाई विकासवादी सिद्धान्त भनिन्छ ।

यी दुबै सिद्धान्तमा वैज्ञानिकहरुको विकासवादी सिद्धान्तको कुरा प्रचारमा आउनुअघि दैवी उत्पत्तिकै सिद्धान्त हावी थियो । दैवी उत्पत्तिको सिद्धान्तमा पनि पूूर्वीय जीवन दर्शनमा पनि मानवको उत्पत्तिमा विकासकै क्रम उल्लेख भएको पाइएको छ । तर, यसमा ईश्वरको अवतारको कथा जोडेर सर्वसाधारणलाई मानव विकासक्रमलाई बुझाउन खोजिएको छ ।

जस्तैः प्रथम अवतार प्रभु मत्स्यरुप धारणम् । द्वितीय अवतार प्रभु कुर्मरुप धारणम् । तृतीय अवतार प्रभु बराहरुप धारणम् । चतुर्थ अवतार प्रभु नृसिंह अवतार धारणम् । पञ्चम अवतार प्रभु बामन अवतार धारणम् । छैठौंमा पर्शुराम, सातौंमा राम, आठौंमा कृष्ण, नवांैमा बुद्ध, बुद्धलाई विष्णुको अवतार मानिएको कुरामा बौद्धहरुले आपत्ती प्रकट गरेका छन् र दशौंमा हुनेवाला कल्की अवतारको उल्लेख छ ।

यसको अर्थ हो भगवान विष्णुले पृथ्वीमा अवतारको रुपमा अवतरण गरे । त्यस अनुसार पहिलो अवतार माछाको, दोस्रो कछुवाको, तेस्रो बराह अर्थात् सुंगुरको, चौथो मानव र सिंहको संयुक्तरुप नरसिंहको र पाँचौं अवतार मानवको पनि बामन अर्थात् सानो मानवको अवतार लिए भनिएको छ । पाँचौं अवतारदेखि पृथ्वीमा विकसित मानव देखा परेको छ ।

नरसिंहको अवतार हिरण्यकशिपु नामक राक्षसलाई मार्न र पाँचौं बामन अवतार बलि राजाको दानरुपी घमण्ड तोड्न लिएको कथा भनिएको छ । अर्थात् पृथ्वीमा मानवभन्दा अघि राक्षसको उत्पत्ति भएको कथा रहेको छ । पूर्वीय दर्शनका विविध पुराण र ग्रन्थमा उल्लेख भएका कुरा सोही रुपमा बुझियो भने हाँस्यास्पद पनि लाग्छ । तर, तिनमा सांकेतिक अर्थ वा लाक्षणिक अर्थ लुकेको हुन्छ । त्यसलाई आमजनतालाई बुझाउन कथात्मक रुप दिइएको भन्ने बुझेर गुढ अर्थ खोज्ने हो भने वैज्ञानिकता पाइन्छ भन्छन्– विश्लेषक विद्वानहरु । माथि उल्लेखित कुरामा कुन ठीक कुन बेठीक अथवा यस्तै हो जे लाग्छ त्यो पाठक वर्गलाई जिम्मा दिन चाहन्छु । यसमा पंक्तिकारको आग्रह–पूर्वाग्रह छैन ।

पृथ्वीमा आउने परिवर्तन :

पूर्वीय दर्शनले आजभन्दा एक अर्ब ९५ करोड ५८ लाख ८५ हजार एक सय २६ वर्षअघि सृष्टि भएको बताएको छ । त्यही समयमा पृथ्वीको पनि सृष्टि भएको भन्ने उसको संकथन छ । शुरुमा पृथ्वी जलमग्न थियो र क्रमश जल घटन थालेपछि माटो देखिन थाल्यो र ईश्वरले मावसहित प्राणी र वनस्पतिको सृष्टि गरे भनिएको छ । पृथ्वीको उत्पत्तिसँगै उसले सुर्यको परिक्रमा गर्न शुरु गरेको हो ।

सूर्यले ब्रम्हाण्डको परिक्रमा गर्दो हो । पृथ्वी गोलो छ । पूर्वीय दर्शनले भूगोल भनेर पृथ्वीलाई गोलो मानेको थियो भने पश्चिमा देशमा शुरुमा पृथ्वीलाई चेप्टो मानिन्थ्यो । पृथ्वी गोल छ भन्ने इटलीका ग्यालिलियोलाई चर्चले फाँसीको सजाय दिएपछि माफी मागेर आजीवन काराबासको जीवन बिताउनु परेको थियो । सन् १५६४ मा जन्मेका ग्यालिलियो नै टेलिस्कोपका आविष्कारक र आधुनिक विज्ञानका पिता हुन् । हुन त उनीभन्दा अघिका वैज्ञानिक कोपर्निकस थिए ।

वैज्ञानिकहरुले १३ अर्ब ८० करोड बर्ष पहिले विगब्यांगबाट संसारको सृष्टि भयो भनेका छन् । त्यसमै पृथ्वी पनि देखियो । शुरुमा त्यो पृथ्वी तातो थियो अनि सेलाउँदै गएपछि हिउँले ढाकियो र हिउँ पग्लिएपछि पानी र समुद्र भयो । त्यसपछि क्रमश वनस्पति र प्राणीहरुको विकास भएको हो । जे होस् । आधुनिक विज्ञानको विकाससँगै पृथ्वीको बारेमा, पृथ्वीमा विकसित सभ्यताको बारेमा, मानव उत्पत्तिको विकासवादी सिद्धान्तको बारेमा अध्ययन अनुसन्धान, विश्लेषण, व्याख्या, पुनव्र्याख्या भइरहेको छ । नयाँ नयाँ कुराहरुको उद्घाटन पनि भइरहेको छ । अझ क्वान्टम फिजिक्स आएपछि भने यस लोकमा अभुतपूर्व वैज्ञानिक विकास भइरहेको छ ।

पृथ्वीको अध्ययनमा ओसोनोग्राफी अर्थात् समुद्र विज्ञानको अध्ययनमा पनि धेरै प्रगति भएको छ । पृथ्वीले सूर्यको परिक्रमा गर्दा उसमा आउने भौगर्भिक परिवर्तन र मौसममा आउने परिवर्तन, त्यसले प्राणी र वनस्पतिमा पार्ने प्रभाव आदिको बारेमा व्यापक वैज्ञानिक अध्ययन भएको छ । साथसाथै यस सौर्यमण्डल र ब्रम्हाण्डमा पनि आँखाले देखिने र शक्तिशाली टेलिस्कोपले हेरेर देखिएका ग्रह नक्षत्रको बारेमा पनि अध्ययन भएको पाइन्छ र अझै भइरहेको छ ।

यी सबै अध्ययनको सबै कुरा यस आलेखमा अटाउन सकिन्न । तर, मैले बुझेको जति सबैले बुझिने भाषामा भन्दा पृथ्वी र हाम्रो सौर्य मण्डलमा हुने भौगर्भिक परिवर्तनले नै मानव सभ्यताको विकास र विनास भएको कुरा प्रष्ट हो । यसलाई पूर्वी दर्शनले भने प्रलयको कुरा गर्छ कथाका रुपमा । अनि हरेक पूजा वा श्राद्ध होस वा पुराण लगाउँदा होस संकल्पको माध्यमबाट भन्ने गरेको छ । त्यस अनुसार अहिलेको समय भनेको २८औं मन्वन्तर हो ।

भौगर्भिक अध्ययनबाट हरेक २६ हजार पाँच सय वर्षमा पृथ्वीमा आउने ठूलो मौसमी परिवर्तनले पुरानो सभ्यताका अधिकांश कुरा र अधिकांश मानव र प्राणी तथा वनस्पति नष्ट हुन्छन् । पुनः क्रमश मानवको संख्यामा वृद्धि हुनुका साथै अन्य प्राणी र वनस्पतिको विकास हुँदै जान्छ । यो क्रम पृथ्वीमा १२ हजार बर्षदेखि शुरु हुन्छ र २६ हजार पाँच सय वर्षमा एक चक्र पूरा हुन्छ ।

अर्थात् पृथ्वीले सूर्यको परिक्रमासँग आफ्नै अक्षमा पल्टिँदै जाँदा अहिलेको पृथ्वी कोल्टिँदै लगभग पहाड र हिमाल सूर्यको नजिक पुग्छन् र क्रमशः तापक्रम बढेर हिउँ पग्लिँदै जान्छ । पहाडमा गर्मी बढ्दै जान्छ र हिउँ पग्लेर बगेको पानीले समुद्र भरिँदै गएर समुद्र नजिकको सभ्यता नष्ट हुँदै गएपछि मानिस पहाड र हिमालतिर सर्दै जान्छन् । हिउँको बदला पानी पर्दै जाने र भएको हिउँ पग्लिएपछि पहाडसम्मै पानी भरिन्छ । खाने कुराको कमी बस्ने बासस्थानको समस्या आदि बढ्दो तापक्रम आदि झेल्नेहरु हिमालका कुना कन्दरामा मुश्किलले केही मानव र प्राणी बाँच्छन् ।

पृथ्वीले सुर्यको परिक्रमा गरिरहने र आफ्नै अक्षमा पनि पल्टनेक्रम निरन्तर चलेसँगै क्रमश पृथ्वी पुरानै अवस्थामा आउन शुरु गर्छ । हिमामा हिउँ जम्न शुरु हुन्छ । समुद्र घट्न शुरु गर्छ । त्यो परिवर्तनसँगै बाँचेका मानव र अन्य प्राणीहरुको खानपानमा सुधार, वनस्पतिको विकास भएपछि क्रमशः सभ्यता पनि शुरु हुन्छ । बाँचेका मानिसहरुको स्मृतिमा रहेका कुराहरु उनीहरुले सन्तान दरसन्तानलाई कथा जस्तो भन्दै जान्छन् । नयाँ कुराहरुको पनि खोजी हुँदै जान्छ । पुनः मानव र अन्य प्राणी तथा वनस्पतिले पृथ्वी हराभरा हुन्छ । वैज्ञानिक विकास हुन्छ । नयाँ–नयाँ आविस्कार हुन्छ । नष्ट भएका पुराना सभ्यताको खोजि हुन्छ ।

यो क्रम निरन्तर चलिरहन्छ । पृथ्वीमा तापक्रम बढेको अनाबृष्टि भएको, प्रलय भएको, समुद्र सुकेको, समुद्रमा पानी भरिएर सभ्यता डुबेका कुरा अहिले पत्ता लागिरहेको छ भने हाम्रा धर्म ग्रन्थमा यस्ता घटनाको चर्चा पाइन्छ । जसलाई हामी कथा किंबदन्ती भनेर पत्याउँदैनौं । तर, ओसोनोग्राफीको अध्ययनबाट समुद्रमा पानी भरिएको, आसियन युग समाप्त भएको, समुद्र सुकेको प्रमाणित भएको छ । हाम्रै धर्म ग्रन्थमा कृष्णजीको द्वारका डुबेको कथा महाभारत ग्रन्थमा उल्लेख छ । त्यसको अवशेष पाइएको पुरातत्वविदले बताएका छन् ।

त्यसैगरी हालको कलकत्ता शहरको १५ किलोमिटर भित्र एउटा शहरी सभ्यताको अवशेष पाइएको वैज्ञानिकले बताएका छन् । अहिले हामी ग्लोबल वार्मिङको अवस्थाबाट गुज्रिरहेका छौं । हाम्रा हिमालहरु कालपहाडमा रुपान्तरित हुँदैछन् । यो क्रम क्रमशः बढ्दै गएर अबको १२ हजारभित्रमा अहिलेको उन्नत सभ्यता लगभग समाप्त हुन्छ । अनि पुनः पृथ्वीमा अर्को सभ्यताको शुरुवात हुन्छ । यसअघि यस्ता घटना हजारौं भए होलान् । जसको लेखाजोखा भेट्न मुश्किल छ । कुरा र कथा धेरै छन् । आजलाई यत्ति नै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here