झापा, बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चालूआर्थिक वर्षमा भइरहेका विकास योजनालाई निरन्तरता दिँदै थप विकास योजनाका कार्यक्रम अघि बढाइने उल्लेख छ ।
बिर्तामोड नगरपालिकाले सोमवार एक अर्ब ५१ करोड ८३ लाख ८२ हजार बराबरको बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, उद्योग, महिला वालवालिका, पूर्वाधार, ज्येष्ठ नागरिक, अपाङ्गता तथा लक्षितवर्ग, खेलकुद, पर्यटन, वन वातावरण तथा विपद व्यवस्थापन लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा २२३ वटा बुँदा समेटिएका छन् ।
फोहोरमैला व्यवस्थापनको दिगो व्यवस्थापन गर्न नसकेको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्षका लागि फोहोर मैला व्यवस्थापनमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको कनकाई बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा कम्पनीलाई पूर्ण रुपमा सञ्चालनमा ल्याई फोहोर मैलाको व्यवस्थापन गरिने महत्वाकांक्षी
नीति पालिकाले अघि सारेको छ । यस अघि पनि बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाले सो ऊर्जा कम्पनीका लागि बजेट बिनियोजन गर्दै आएका थिए । यद्यपि अहिलेसम्म सो कम्पनी सञ्चालनमा नआएपछि बिर्तामोड नगरपालिकाले निजी क्षेत्रलाई फोहोर मैला व्यस्थापनको जिम्मेवारी दिँदै आएको छ ।
नगरको दोस्रो नगरसभाको सातौं अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बजेट सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको बजेटमा नगरको आन्तरिक आय र संघ तथा प्रदेशले प्रदान गर्ने सशर्त र समानीकरण अनुदानलाई समावेश गरिएको छ ।
बजेटमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को विभिन्न शीर्षकमा प्राप्त हुन सक्ने रकमलाई आम्दानीको रुपमा प्रक्षेपण गर्दै संघीय समानीकरणतर्फ २० करोड ३२ लाख, संघीय राजश्व बाँडफाँटतर्फ रु. १४ करोड ७६ लाख, प्रदेश समानीकरणतर्फ रु. १ करोड ९७ लाख ५२ हजार, प्रदेश राजश्व बाँडफाँट रु. १ करोड ४५ लाख १४ हजार, आन्तरिक श्रोततर्फ रु. २१ करोड, जग्गा रजिष्ट्रेशनतर्फ रु. १२ करोड ५० लाख, संघीय सशर्त कार्यक्रम ७६ करोड ३ लाख र प्रदेश सशर्त कार्यक्रम २ करोड ८० लाख १६ हजार र प्रदेश समपूरक १ करोड बजेट प्रस्ताव गरिएको छ ।
उपप्रमुख संग्रौलाले चालू आ.व. २०८१÷०८२को जेठ मसान्तसम्मको यथार्थ आय–व्ययको विवरणसमेत प्रस्तुत गरेका छन् । चालू आ.व.मा आन्तरिक राजश्व २० करोड ५० लाख अनुमानित गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा १३ करोड ९६ लाख ८१ हजार ४२, घरजग्गा रजिष्ट्रेशनमा १२ करोड अनुमानित गरिएकोमा ८ करोड ५९ लाख ९५ हजार ९ सय ६०, त्यसैगरी संघीय समानीकरण १९ करोड ४८ लाख ६हजार ४ सय ८०, संघीय सशर्तमा २८ करोड ९ लाख ९ हजार १ सय ८०, संघीय विशेष अनुदान ५५ लाख ४५ हजार ६१, संघीय समपुरक १५ करोड ८० लाख २४ हजार १ सय ४५ र संघीय राजश्व बाँडफाँटबाट १० करोड ८६ लाख १९ हजार ९ सय ३५ रुपैयाँ प्राप्त भएको छ ।
यसैगरी प्रदेश समानीकरणमा १ करोड ३ लाख २ हजार ७ सय ५०, प्रदेश सशर्तमा १ करोड ७१ लाख २९ हजार ९ सय ८९, प्रदेश समपूरकमा ४३ लाख ३३ हजार ३ सय ३३ र प्रदेश राजश्व बाँडफाँट १ करोड ४० लाख ३६ हजार ७ सय ९९ रुपैयाँ, जनसहभागिता रु. ३ करोड ११ लाख ९५ हजार ४६१ समेत गरी जम्मा १ अर्व ५ करोड ३५ लाख ८० हजार १ सय ३५ रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
प्रस्तुत बजेटमा वडा स्तरीय योजना १० करोड,क्रमागत वहुवर्षीय योजना ५ करोड, समपूरक ५ करोड, विपद व्यवस्थापन ५० लाख, मर्मत संभार एक करोड, नदीजन्य सामग्री खरिद, संकलन, हेभी इक्यूपमेन्ट मर्मत तथा इन्धन ८० लाख, नगरअस्पताललाई दुई करोड ५० लाख विनियोजन गरिएको छ । विपन्न बिमा स्वास्थ्य कार्यक्रम ७० लाख उज्यालो नगर कार्यक्रम ३० लाख खानेपानी पाइपलाइन विस्तार १८ लाख, शिक्षा क्षेत्रको विकासका लागि ३ करोड, कृषि क्षेत्रको विकासका लागि एक करोड १० लाख पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम सञ्चालनका लागि ८३ लाख ६ हजार, स्वास्थ्य क्षेत्रका लागि एक करोड, महिला लक्षित कार्यक्रमका लागि १५ लाख, वालवालिकाका लागि १० लाख, दलित आदिवासीका लागि १५ लाख, अन्य लक्षित कार्यक्रमका लागि २५ लाख मेयर केयर कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै खेलकुल क्षेत्रको विकासका लागि ४० लाख वजेट विनियोजन गरेको नगरपालिकाले अपाङ्गता सम्बन्धी कार्यक्रमका लागि ३५ लाख विपन्न आवास कार्यक्रमका लागि एक करोड, रुपैयाँ बजेट विनियोजन गरेको हो । सभामा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडाध्यक्ष सहितका जनप्रतिनिधि, सञ्चाकर्मी लगायतको उपस्थिति रहे को थियो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख जय तिम्सिनाले गेका थिए ।