बिराटनगर,
असार १५ गते, नेपाली सांस्कृतिक परम्परा अनुसार दही चिउरा खाने विशेष दिन हो। साथै, आजकै दिनलाई राष्ट्रिय धान दिवसका रूपमा पनि देशभर विविध कार्यक्रमहरू गरी मनाएको बेला मोरङको सुन्दरहरैंचा – ११, बेलेपुरस्थित सृजनशिल समाजले शान्ति टोलमा रहेको शुक्रबारे गोबिन्दपुरमा सुकुम्बासी वस्ती दहि चिउरा ख्वाउदै धान दिवस मनाएको छ।
सृजनशिल समाजकी अध्यक्ष लक्ष्मी बजगाईको अध्यक्षता तथा सुन्दरहरैंचा – ११ का वडा अध्यक्ष विशनलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सुकुम्बासी वस्तीमा बालबालिका सहित १०० भन्दा बढीलाई दहि चिउरा ख्वाइएको थियो। कार्यक्रममा खुशी हुँदै बालबालिकाहरुले दहि चिउरा खाएका थिए।
प्रमुख अतिथि चौधरीले सृजनशिल समाजले सुकुम्बासी वस्तीमा राष्ट्रिय धान दिवसको उपलक्ष्यमा धान रोपाई तथा दहिचिउरा खाने कार्यक्रम आयोजना गरेको भन्दा खुशी व्यक्त गरेका थिए। उनले सुकुम्बासी वस्तीमा केहि घरलाई खानेपानी वितरण गर्नुका साथै खरको छाना हटाएर टिनको छाना उपलब्ध गरेको बताउदै अब लालपुर्जा वितरण गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको बताए।
कार्यक्रमका विशिष्ट अतिथि, युवा व्यवसयी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले आफूले पनि धेरै दुख पाएको र त्यति बेला तपाईहरु जस्तै एक जोड लूगा फेर्न नसक्ने अवस्था बताउदै आज आएर सुकुम्बासी वस्तीमा आएर संगै बसेर धान दिवस तथा दहिचिउरा खान पाउँदा खुशी लागेको बताए।
उनले सुकुम्बासी वस्तीलाई शान्ति टोल राखिएकोमा ब्यङ्ग गर्दै राजनीतिक दल र नेताहरुले सुकुम्बासी सधैँ भोट बैंकको रुपमा प्रयोग गर्ने र समस्या ज्यूँका त्यूँ हुने गरेको बताए। ‘नेताहरूको झोला बोकेर हिँड्ने, को राम्रो हो नचिन्ने । चुनावको बेला लालपुर्जा खाँचो छ भन्छन्, त्यसपछि जनप्रतिनिधि पनि चिन्न गाह्रो हुन्छ,’ उनले भने, ‘अब हाम्रो मान्छे होइन राम्रो र केहि गर्छु भनेर आउनेलाई मात्र भोट दिनुहोस।’
अहिलेसम्म सुन्दरहरैंचाका सुकुम्बासीहरुले लालपुर्जा नपाउनु स्थानीय सरकारको जम्जोरी हो,उनले थपे। सुकुम्बासीको समस्या समाधान गरेपछि अर्को पल्टबाट भोट पाइँदैन भनेर समस्या जस्ताको त्यस्तै हुने गरेको उनको भनाइ थियो। कार्यक्रममा बोल्दै समाजकी सस्थापक अध्यक्ष निरु बजगाईले अभियन्ता चौलागाईको खुलेर प्रसंशा गर्दै उनकै कारण कार्यक्रम गर्न सफल भएको बताईन्।
कार्यक्रममा समाजसेवी कमला देवि अधिकारी, खेमराज गौतम, रमेश घिमिरे,बिष्णु पोखेरल लगायत समाजका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण अनु बुढाथोकीले गरेकी बताईन्।