झापा,
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिमा विकास बैंकले शिवसताक्षी नगरपालिका–८ स्थित अरुणोदय आधारभूत विद्यालयका अति विपन्न वर्गका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।
दमकमा शाखा रहेको बैंकले विद्यालयमा अध्ययनरत ९३ जना छात्रछात्रालाई स्ट्यान्डर्ड ब्याग प्रदान गरेको हो। बैंकका अनुसार यो कार्यक्रम सामाजिक उत्तरदायित्वअनुरूप ग्रामीण क्षेत्रका विद्यार्थीलाई सहुलियत दिनका लागि सञ्चालन गरिएको हो।
अरुणोदय विद्यालयमा दलित, सीमान्तकृत, अल्पसंख्यक र अन्य अति विपन्न समुदायका बालबालिका अध्ययनरत छन्। महिला शिक्षिकामात्र रहेका कारण विद्यालय संरचनामा पनि विशिष्टता देखिन्छ। यो विद्यालयमा पूर्व प्राथमिक देखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ।
कार्यक्रममा शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदेन, बैंकका अनुपालन विभाग प्रमुख मिन सुवेदी, क्षेत्रीय प्रमुख दीपेन्द्र पोखरेल र दमक शाखा प्रमुख ज्ञानेन्द्र बस्नेत ले वास्तविक लाभग्राही विद्यार्थीले बैंक ले प्रदान गरेको ब्याग पाएको बताए ।
बैंकको केन्द्रीय अनुपालन प्रमुख सुवेदीले भने, “हामीले विद्यालयसँग टेलिफोन सम्पर्कमार्फत कार्यक्रम तय गरेका थियौं। तर विद्यालयमा आएपछि थप सहयोग गर्नुपर्ने आवश्यकता महसुस भयो।” उनले सबै बैंक तथा वित्तीय संस्थाहरूले यस्ता विद्यालयमा सामाजिक जिम्मेवारी बोध गर्नुपर्ने धारणा व्यक्त गरे।
विद्यालयकी प्रधानाध्यापक तारा लावतीका अनुसार ब्याग वितरणले विद्यार्थीको विद्यालय आउन छुट्ने (dropout) दर घटाउने छ। “खान–लाउन पनि गाह्रो हुने अभिभावकले पाठ्यपुस्तक बोक्ने झोला किन्ने अवस्था हुँदैन। अहिले सबै विद्यार्थी हर्षित छन्,” उनले भनिन्।
अभिभावक मनिका टुडुले भनेकी छन्, “बैंकले त निकै राम्रो ब्याग दिएको छ। अब मेरा छोराछोरी खुसीसाथ विद्यालय जान्छन्।” सरकारले एक वर्षका लागि पाठ्यपुस्तक दियो तर त्यसलाई सुरक्षा गर्ने ब्याग दिएको छैन । बैंकले ब्याग दिएपछि पाठ्यपुस्तक सुरक्षित हुने टुडुले बताएकी छन् ।
गरिमा विकास बैंक नेपाल अधिराज्यभर १२५ शाखा, १ एक्सटेन्सन काउन्टर र ५० वटा एटीएममार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको राष्ट्रियस्तरको ‘ख’ वर्गको बैंक हो।