राजनीतिको मूल लक्ष्य देश र समाजको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रको विकास गर्नु हो । यसकै माध्यमबाट जनताको जीवनस्तर उकासेर देशलाई समृद्धिको मार्गमा हिँडाउनुपर्ने हो । संविधानले पनि राजनीतिलाई त्यही लक्ष्य प्राप्तिको आधार मानेको छ । तर, हामीकहाँ यथार्थमा राजनीति त्यो लक्ष्य र गन्तव्यमा छैन र राष्ट्रलाई असफल बनाउन उद्यत छ । राजनीति स्वयम् सञ्चालन हुने कुनै उपकरण वा यन्त्र होइन, यसलाई सजीव तुल्याउने राजनीतिकर्मी हुन्छन् । त्यसैले राजनीतिकर्मी नैतिक तथा कर्तव्यपरायण र सक्षम हुनुपर्छ जसले राजनीतिलाई आदर्शको मार्गमा डोहो¥याउन सकोस् ।
राजनीतिबाटै राज्यबाट प्रवाह हुने अन्य नीति निर्देशित हुन्छन् । तर, राजनीति स्वयम् सञ्चालन हुँदैन र यो राजनीतिकर्मीबाटै चलायमान हुन्छ । त्यसैले राजनीतिकर्मी स्फटिक जस्तै सफा, उच्च आदर्शवान र सदाचारी हुुनुपर्छ । तर, हामीकहाँ राजनीतिकर्मीहरु वा राजनीति गर्छाैं भन्नेहरु आपराधिक क्रियाकलापमा जोडिँदै गएका छन् । स्थायी सरकार भनिने कर्मचारीतन्त्र स्वयम् पनि अनियमित कार्यको विवादमा मुछिएका मात्र छैनन् केही दोषी प्रमाणित भइसकेका छन् । त्यस्तै सांसद हुन् वा मन्त्री अथवा स्थानीय सरकारमा रहेकाहरु कतिपय राष्ट्रिय कोषको दुरुपयोगमा संलग्न भएकाहरु भ्रष्टाचारमा तानिएका छन् । यस्ता उदाहरणहरुका कारण राजनीतिकर्मीहरु जनताको नजरबाट राम्रो आचरण भएको देखिन छाडेका छन् ।
अधिकारको दुरुपयोग गरी व्यक्तिगत वा दलगत स्वार्थ पूर्तिमा कोही नलागून् भन्ने उद्देश्यले गठन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई अदालतमा पु¥याएको छ । यसले उच्च पदस्थ व्यक्तिहरुको आचरण र नैतिकतामा संशय उत्पन्न भएको छ । अहिलेकै अवस्थामा सामान्य जनताको दृष्टिमा पनि देशमा भ्रष्टाचार तीव्ररुपमा बढ्दै गएको छ । महालेखाको प्रतिवेदनले पनि स्थानीय तहमा आर्थिक अनियमितता अत्यधिक भएको देखाएको छ । यी र यस्ता अनेक कारणले देशको छविमा धक्का मात्र लागेको छैन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत दुर्नाम चलेको छ । यस्तै कारणले विदेशी अनुदान घट्दै गएको छ, विदेशी लगानीकर्ता आकर्षित भइरहेका छैनन् ।
पछिल्लो समय नेपाल ग्रे लिस्टमा परेको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको विश्वास कायम नरहन सक्छ । भरपर्दो भनिएका बैंकहरु नै जोखिम बोकेर जसोतसो सञ्चालन भइरहेका छन् । त्यसैले यस्तो अव्यवस्था, दुरावस्था र दुर्नामबाट देशलाई जोगाउन राजनीतिकर्मीहरु सुध्रिनुपर्छ । उनीहरुमा राजनीति कटिबद्धता र सदाचार हुनुपर्छ । होइन र सत्ता सुखकै लागि जेसुकै गर्न तयार हुने अवस्थाले कोही पनि सुरक्षित रहने छैन ।