एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार राजधानीको हयात होटलमा वितरण गरियो । अवार्ड भनेपछि सबभन्दा बढी चर्चा पुरस्कार विजेताको हुन्छ । त्यसपछि कार्यक्रममा भएका अन्य गतिविधिको । आर्यन सिग्देल र प्रियंका कार्कीले हिरो हिरोइनको अवार्ड पाएको यो कार्यक्रममा हिरोइनको फेसन र हिरोहरुका भाषण पनि चर्चित बन्यो । माला लिम्बु र गौरी मल्लको डान्सले तताएको स्टेजमा अवार्ड वितरण गर्न पुगेका कलाकारहरुले देशको राजनीतिमाथि टिप्पणी गरे ।
आफ्नै नामको जुरी अवार्ड दिन पुगेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बेलैमा संविधान आएदेखि नेताहरुलाई पनि यस्तै अवार्ड दिन पाइन्थ्यो भने । अहिले जातियताको कुरा आइरहेको छ । ‘हामी बाहुन र नेवार हौं, तर एक–अर्काका बुबालाई पानी चढाउँछौं,’ उनीहरुले भने । एक्सनको अवार्ड दिन राजेन्द्र खड्गी र योगेन्द्र श्रेष्ठसँग आएका हिरो निखिल उप्रेतीले पनि देशको अवस्थाबारे बोले । ‘म एक्सन हिरो हुँ, एक्सनकै कारण चिनिएको हुँ । तर, म चाहन्छु यस्तो एक्सन फिल्ममा मात्रै होस्, अहिले भइरहेजस्तो देशमा एक्सन नहोस् ।’
छोटो प्रहसनका लागि आएका दीपकराज गिरी र दिपाश्री निरौलाले पनि राजनीतिमाथि बोले । उत्कृष्ट अभिनेत्रीको पुरस्का जितेकी प्रियंका कार्कीको फेसन पनि कार्यक्रममा चर्चाको विषय बन्यो । हिजोकी हिरोइन गौरी मल्लको नयाँ हिरो गौरव पहारीसँगको नृत्य पनि चर्चित बन्यो । गरिमा पन्त, ऋचा शर्मा, अनु शाह, नन्दिता केसीजस्ता हिरोइनहरुको पहिरन पनि चर्चाको विषय बन्यो ।