कुनै पनि देशको शान्ति, समृद्धि, स्थायित्व र आर्थिक विकासका लागि गरिबी प्रमुख शत्रु हो । त्यसैले गरिबीको उन्मुलनका संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष आजका दिन गरिबी निवारण दिवस विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ । विश्व बैंकको तथ्यांक अनुसार विश्वमा करिब बाह्र करोड मानिस गरिबीको चपेटामा छन् । तिनीहरु अधिकांश दक्षिण एशिया र सब–सहाराका देशहरु मध्येका छन् । त्यसैले यस्तो चरम गरिबीबिरुद्ध एकजुट भएर लड्न तथा गरिबी सम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष अक्टोबर १७ का दिन दिवस मनाइने गरेको छ ।

अझै पनि तीन अर्बभन्दा बढी मानिस गरिबीको रेखामुनी रहेका छन् । पृथ्वीमा रहेका हरेक मानिसलाई बाँच्नका लागि खाना र सुरक्षित रहन कपडा र घर अनिवार्य हुन्छ । त्यही प्राथमिक आवश्यकता पूरा गर्न नसक्ने अवस्थालाई संयुक्त राष्ट्र संघले गरिबी भनेर ब्याख्या गरेको छ । नेपालको सन्दर्भमा झण्डै अठार प्रतिशत मानिस गरिबीको रेखामुनि रहेका छन् । एकातिर मानिस बाँच्नका लागि खानाको खोजीमा छ भने अर्कातिर ठूला भनिने देशहरु परमाणु शक्ति हासिल गर्न अर्बौं डलर खर्च गरिरहेका छन् । आणविक हतियार निर्माण, संकलन र प्रयोग मानिसकै विनाशको कारण बनिने गरेको छ ।
यही अवस्थामा नेपालमा गरिबीको अन्त्य गर्न भन्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ । दिगो विकासको लक्ष्य निर्धारण गर्दै सरकारले संघदेखि स्थानीय तहसम्म अर्बौं रुपैयाँका फरक–फरक कार्यक्रमहरु सञ्चालनमा छन् । तर ती कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन हुन नसकेर सरकार नै लोभीपापीको नियन्त्रणमा रहँदा गरिबी निवारणको लक्ष्य अपेक्षित रुपमा सफल भइरहेको छैन । यद्यपि विभिन्न तथ्यांकहरुले नेपालमा बर्सेनि एक प्रतिशतका दरले गरिबी घटिरहेको देखाएको छ, तर गरिबीको रेखामुनि रहेका मानिसको समूहको जीवनस्तरमा परिवर्तन हुन सकेको छैन ।
नेपालको संविधानले आधारभूत आवश्यकताबाट कोही पनि वञ्चित हुनु नपर्ने व्यवस्था गरेको छ । तर, त्यही आवश्यकताले एउटा समूह पिरोलिएकै छ । संविधानले प्रत्येक नागरिकलाई रोजगारीको प्रत्याभूति गरेको छ, तर त्यसकै अभावमा लाखौं युवाशक्ति विदेशिएका छन् । यस्तो अवस्थामा विद्यमान नीतिनियम परिवर्तन गरी गरिबी निवारण सम्बन्धी कार्यक्रम लक्षित वर्गसम्म पु¥याउन जरुरी छ । त्यसैगरी देशमै रोजगारीको अवसर सृजना गर्दै व्यवस्थित गर्नुपर्छ । शासक झन–झन धनी हुँदै जाने र जनता झन–झन गरीब हुँदै जाने अवस्थाले न गरिबी अन्त्य हुन्छ, न त राष्ट्रले समृद्धि हासिल गर्छ । त्यसैले गरिबी निवारणका लागि सरकारका सबै निकाय क्रियाशील भएर लाग्नुपर्छ अनि मात्र मुख्य शत्रुलाई परास्त गर्न सकिन्छ ।





























