विराटनगर । नख्खु कारागारबाट भागेका अपहरणकारी भारतीय नागरिक विराटनगरमा पक्राउ परेका छन् । प्रहरीका अनुसार भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्तालाई सोमबार पक्राउ गरिएको हो ।
गुप्ता अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भएका अपहरणकारी हुन् । उनी अदालतले तोकेको कैद सजाय काठमाडौंको नख्खु कारागारमा भुक्तान गरिरहेका थिए । जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते कारागारबाट भागेर उनी विराटनगर आएको पाइएको छ ।
विराटनगर महानगरपालिका–७ मा लुकेर बसेका गुप्तालाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो । गुप्तालाई सोमबार नै मोरङ कारागारमा बुझाएको प्रहरीले जनाएको छ ।































