मुकुन्द उप्रेती _
झापालाई कर्मथलो बनाएर दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार तीर्थ सिग्देलले संस्मणात्मक पुस्तक ‘जीवनको गतिः पत्रकारिताको दुई दशक’ लिएर साहित्यिक क्षेत्रमा आएका छन् । झापालाई केन्द्र बनाएर लेखिएको पुस्तकले समग्र मोफसलको यथार्थ प्रस्तुत गरेको छ । ४१ खण्डमा विभाजित पुस्तकमा हरेक खण्डले हाम्रो देशको विगत र वर्तमानको यथार्थ चित्रण गरेको छ । आफूले बिताएको पत्रकारिताको दुई दशकमा देशमा भएका ठूल्ठूला आन्दोलन, त्यसले निम्त्याएको हिंसा र जनमानसमा परेको प्रभावलाई लेखकले पुस्तकको सार बनाएका छन् सिग्देलले । २०४६ सालको वर्गीय खाँडलमा भाँसिएको नेपाली समाजको यथार्थतादेखि लिएर बढ्दो असन्तुष्टीलाई लेखकले बढो सभ्य भाषाशैलीमा प्रस्तुत गरेका छन्, खण्ड एकको ‘जीवनको गति’ शिर्षक भित्र । लेखककै शब्दमा, ‘मानिस सन्तुष्ट छैन । भएर पनि नभए पनि । प्राप्तिमा पनि । अप्राप्तिमा पनि । जसले मानिसलाई सन्तुष्टि दिएन, जसले उभित्र कहिलै शान्ति छाएन ।’ यसलाई केलाउन कति पनि कञ्जुस्याई नगरेका लेखकले समाजको मनोविश्लेषणको राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।
एउटा पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण, उसको काम, कर्तव्य र अधिकारको मुद्दालाई केलाएका लेखकले पत्रकारको जीवन कुमालेको चक्रको रुपमा विश्लेषण गर्न भ्याएका छन् । पत्रकारितामा भविष्य देख्ने र हामीजस्ता पत्रकारिताका विद्यार्थीका लागि अग्रजले पत्रकारिता पेशा र त्यसभित्र भोग्नु परेका संघर्ष, प्राप्त उपलब्धी बुझ्न चाहनेका लागि गतिलो पुस्तको हो, जीवनको गति । आफैं पत्रकार भएता पनि पत्रकारिता पेशाभित्र भएका विकृतिलाई उठान गरेका लेखकले पत्रकारिताको खोल ओढेर तस्करसँगको साँठगाँठदेखि लिएर सीमा क्षेत्रमा बसेर एउटा पत्रकारले देखेको यथार्थ चित्रणले सिङ्गो राष्ट्रलाई नै समेटेको छ ।
आफूलाई शान्तिप्रेमी भन्न रुचाउने लेखकको पुस्तकले समग्र देशको हिसांत्मक गतिविधिले आम जनमानसमा पारेको प्रभावलाई चित्रण गरेको छ । हिंसाविरोधी लेखकले पत्रकारितामा बिताएको दुई दशक नैै महत्वपूर्ण छ । त्यही दुई दशकमा नेपालमा ठूल्ठूला राजनीतिक घटना भए । ०४६ सालको आन्दोलन, माओवादीको हिंशात्मक जनयुद्ध, ०६२÷०६३ को जनआन्दोलन, लिम्बूवान आन्दोलन, थारुहट आन्दोलन, मधेश आन्दोलन, राजा विरेन्द्रको वंशनासदेखि लिएर तत्कालीन राजा ज्ञानेन्द्रको गद्धी त्यागसँगै सदियौ पूरानो राजतन्त्रको अन्त्यसमेत यही दुई दशकमा भए । यही दुई दशक लेखकले पत्रकारितामा बिताए । जहाँ जे देखे तत्कालीन समयमा समाचार बनाएका लेखकले लामो खोजपछि, देखेको भोगेको यथार्थ, तथ्य र प्रमाण पुस्तकको रुप हो ।
तत्कालीन माओवादी जनयुद्धले सिङ्गो नेपाललाई आगो लगाईरहँदा झापा पनि अछुतो रहेन । दशवर्षे जनयुद्धमा राम्रा काम पनि भए, नराम्रा पनि । तर, राम्राभन्दा नराम्रा बढी । देशको विकास निमार्ण त ठप्पै भयो, भएका संरचनाहरु पनि ध्वस्त पारिए । मानवीय क्षतिको त कुरै नगरौं । दोषी पनि मारिए, निर्दोष पनि । झापामा काहाँ को मान्छे कहिले, कसरी, कोबाट मारिए, समातिए, एकएक पुष्टी गर्नु लेखकको खोज पत्रकारिताको पुष्टी हो । आखिरी कुनै स्रोतबीना एउटा पत्रकारले यस्त्रो प्रमाण कसरी जुटाउन सक्छ ? प्रश्नचिन्न खडा हुनसक्छ । तर, लेखक सिग्देल यसको ठाडो प्रतिकार गर्छन् । लेखकसँगकोे भेटमा उनले भनेका छन्, ‘यो सबै प्रमाणको स्रोत म नै हुँ । मैले पत्रकारिता गर्दागर्दै यी स्रोत जुटाएको हँु, जुन झापामा भए । माओवादीले कति मान्छे मारे, कति बेपत्ता पारे, सेनाले कतिलाई मारे, कति बेपता पारे, खुद माओवादी र सेनासँग पनि यो तथ्य छैन ।’ लेखकको दाबी छ ।
‘देश नबुझी केही बुझिन्न । मुलुक बुझ्नलाई समाज बुझ्नुपर्छ ।’ हरि शर्माको यो भनाइलाई आधार मान्ने हो भने नेपालमा त्यही भएको छ । समाज नबुझी मुलुक बुझ्ने ढोङले शुरु भएको जातीय नारा, वर्गीय नाराले नेपालमा मधेश, थारुहट, लिम्बूवान, खम्बूवानजस्ता जातीय राज्यको मागमा भएको आन्दोलनदेखि भारतको सिक्किम, दार्जिलिङको गोर्खाल्याण्डको मागसम्मलाई छोएको घटना केलाएर पुस्तकमा पहिचानको मुद्दालाई जोडदार रुपमा उठाएका छन्, लेखकले । देशमा शान्ति प्रक्रिया टुङ्गो लाग्न सकेको छैन । युद्धका अवशेषहरु अझै जनमानसमा छन् । हत्या, हिंशाका घटना रोेकिएका छैनन् । जसले जे गरेपनि छुट पाउने स्वतन्त्र भएको छ मान्छे । स्वतन्त्रताले मान्छेलाई अन्धो बनाएको छ । अधिकारको माग गर्दैगर्दा कर्तव्य बिर्सिएको देशमा शान्ति प्रकृयासँगै सहिदको खेती शुरु भएको छ । सहिदको परिभाषा विपरित सहिद थपिइरहेका छन्, देश र जनताको लागि जीवनको बली चढाउने महान सहिदहरुको नाम जुन हाम्रो मानसपटलमा थियो, त्यो अब रहेन । जो मरे पनि सहिद । वास्तविक सहिद को त ? लेखकले प्रश्न गरेका छन् ।
पार्टीगत सहिद घोषणा गरेका छन् । कांग्रेसका सहिद, एमालेका सहिद, माओवादीकोे हिंसात्मक युद्धमा मर्न र मार्न हिंडेर मारिएका सहिद, माओवादीले मारेका सहिद, राज्यले मारेका सहिद, लिम्बूवानका सहिद, मधेसका सहिद, आखिर कति धेरै सहिद जन्माएछ राज्यले । आखिर मर्ने र मार्नै कसम खाएर युद्धमा निस्कने सबैलाई सहिदको पगरी थम्याउनु ठीक कि बेठीक ? यो विषयमा कसैले गम्भीर भएर सोचेको छ ? लेखकले सहिदको खेती शीर्षकभित्र आखिरी वास्तविक सहिद को र किन सहिद घोषणा गरिन्छ भनेर सहिद शब्दको अपव्याख्याको भण्डाफेर गरेका छन् । र, सोच्न बाध्य बनाएका छन्, सहिद घोषण गर्ने वर्गलाई । पुस्तकले ठूल्ठूला राष्ट्रिय मुद्दादेखि लिएर सामान्य विषयवस्तुलाई उजागर गरेको छ । स्वतन्त्रताको नाममा नाइटो देखाउने सौन्दर्य प्रतियोगितालाई नरुचाएका लेखकले स्वतन्त्रताको नाममा समाज र संस्कृतीलाई ध्वस्त पार्ने क्रियाकलापको विरोध गर्दै धनी र गरिबबीचको वर्गीय विभेदलाई उठान गरेका छन् । एउटा गरिव आङ छोप्ने एकसरो कपडा नभएर लाज छोप्न नसकेर नाइटो देखाउन बाध्य हुन्छ । अनि त्यहि समाजको अर्को धनी स्वतन्त्रताको नाममा नाइटो देखाउन पाउनुपर्छ भन्दै उफ्रिन्छ । यसलाई स्वतन्त्रताको हद मानेका छन्, पुस्तकमा लेखकले ।
इतिहास जित्नेको लेखिन्छ, हार्नेको होइन । इतिहाँस पल्टाएर हेर्ने हो भने पनि त्यो सत्य हो । जित्नेको इतिहास लेख्नेले हार्नेको पाटो बिर्सिएको पाइन्छ । तर, जित्नेको इतिहास भइरहँदा हार्नेबीना सम्भव अवश्य छैन । यस कुरामा भने लेखकको धारण बेग्लै छ । पुस्तकमा लेखकले हार्नेको इतिहास खोतल्ने प्रयास गरेका छन् । जित्नेको इतिहास कोरिन्छ । उ अमर हुन्छ । हार्ने गुमनाम रहन्छ । तर, हार्नेहरुको पनि जीवन छ । उसले जिताउन महत्वपूर्ण योगदान गरेको छ । तर, कसले सम्झने उसलाई । नेपालकै सन्दर्भमा पनि त्यही भएको छ । २००७ सालको आन्दोलन, झापा विद्रोहमा सक्रिय व्यक्ति, जो गुमनाममै सिमित छन् । तीनको योगदानले आज केपी ओली प्रधानमन्त्री भए । उनले जीते, उनको इतिहास बन्यो । तर, तिनै ओलीसँगै विद्रोहमा होमिएका कयौं गुमनाम छन् । तिनको एक एक नाम प्रस्तुत गरेका छन्, लेखकले तर, छोटकरीमा मात्र । तीनको योगदानलाई अलि व्याख्या गर्न लेखकले लोभ नगरेका भए सार्थकता थपिन्थ्यो पुस्तकको । तरपनि गुमनामलाई पुस्तकमै भएपनि चिनाउन खोज गर्ने साहस गर्नु लेखकको पत्रकारितामा बिताएको दुई दशकको खोजको सर्वोतम उपलब्धी हो ।