घैलाडुब्बा ! सबै बढे तिमी किन बढेनौ

0
515

[पुकार भट्टराई]
कुनै समय तिमी धेरै धनी थियौ । तिम्रो नाम सबैले लिन्थे घैलाडुब्बा । झापा जिल्लाको व्यापारिक केन्द्र बिर्तामोडबाट पाँच किलोमिटर पश्चिम लक्ष्मिपूरबाट दक्षिणतिर साढे तीन किलोमिटरको दुरीमा तिम्रो जन्म भएको हो । जन्म कूण्डलीमा तिमी कति बजे जन्मिएका हौ त्यो त मलाई थाहा भएन । यति चाहिं थाहा छ, झापा जिल्लाको बजारहरुमा तिमी अरुभन्दा जेठो हौ रे । मेरो बुबाले भन्नुहुन्थ्यो । तिमी अन्नको भण्डार थियौ रे ।
हुन त म पनि तिम्रै आँगनमा जन्मिएर हुर्किएको हुँ । मलाई पनि धेरै कुरा थाह छ । हातमा किताब च्यापेर आदर्श विद्या मन्दिर जाँदा–आँउदा खेतका आली र गराहरुलाई मेरो पैतालाले धेरै पटक स्पर्श गरेको छ । तिमीलाई सम्झेर म छट्पटिन्छु । मेरो मन रुन्छ, किन भन त ? सँगैका साथीहरु बढेर कत्रा भए, तिमी भने जत्राको त्यत्रै छौ । जस्ताको त्यस्तै छौ । के रोग लाग्यो तिमीलाई ? राजगढ हेर कत्रो भयो । शनिश्चरे हेर, गौरीगञ्ज हेर, गौरादह हेर, सुरुङ्गा, अनारमनी यस्ता अरु पनि धेरैलाई हेर बढेर कत्रा भए, घैलाडुब्बा सबै बढे तिमी किन बढेनौ ? पूर्वमा घाग्रा र पश्चिममा विरिङ खोलाका सिरानी लाएर निदाएको घैलाडुब्बा बजारलाई वर्षायाममा पहाडबाट ओरालो लागेको पानीको भँगालोले अँगालो मार्दै जान्छ । त्यो तिमीप्रतिको मायाको स्पर्श हो कि बलात्कार हो टुलुटुलु हेर्नेलाई नै थाहा होला । तिमै्र आँगनमा अवस्थित आदर्श विद्या मन्दिर झापा जिल्लाकै नभएर मेची अञ्चलकै एउटा आदर्श थियो । त्यो आदर्शमा मेचीका मात्र नभएर कोशीका विद्यार्थीहरु पनि शिक्षा आर्जन गर्न आउँथे ।
स्वर्गीय जमिन्दार देवीप्रसाद उप्रेतीको संयोजकत्वमा गाँउबासीहरुको रगत र पसिनाले आदर्श विद्या मन्दिरको निर्माण २०१४ सालमा भएको थियो । त्यो विद्यालयमा सरकारको लगानी थिएन । विद्यालय निःशुल्क थियो । गुणस्तरीय शिक्षा र विद्यालको अनुशासनकै कारण धेरै टाढाटाढाबाट विद्यार्थीहरु शिक्षा आर्जन गर्न आँउथे । भवन आकर्षक थियो । हिरो थियौ तिमी । जमिन्दार देवीप्रसाद उप्रेतीले समाजका बुद्धिजिवी वर्गहरुको राय सल्लाह जुटाएर विगट्टी प्रणाली लागू गरी एक विगाह जमिन हुनेले एक कठ्ठा जग्गा विद्यालयलाई दान दिनुपर्ने नियम बसाए । अरु कसकसले कति जग्गा दिए त्यो त दैव जानुन् । आदर्श विद्या मन्दिरको जग्गादाताहरुमा पाँच जनाको नाम उल्लेख छ । जमिन्दार देवीप्रसाद उपे्रती, टेकनारायण राजवंशी, भूमीप्रसाद घिमिरे, तहविल्दार विष्णुप्रसाद पोख्रेल र कृष्णबहादुर खत्री । यी जग्गाहरु कहाँ छन्, क–कसले भोग गर्दैछन्, विद्यालयलाई कति ठेक्का बुझाँउछन्, त्यो विद्यालयलाई नै थाहा होला । स्मरण होस्, घैलाडुब्बा गाँउबासीहरुको रगत र पसिनाले बनाएको निःशुल्क विद्यालय २०२८ सालमा नयाँ शिक्षा प्रणाली लागू भएपछि सरकारले आफ्नो हातमा लियो र त्यो विद्यालय श–शुल्क बनायो । गरिबका सन्तानहरु शिक्षा आर्जन गर्नबाट वञ्चित भएका थिए । घैलाडुब्बा भाग्यमानी हुँदाहुँदा पनि तिमी अभागी जस्तै भयौ । तिमै्र घरआँगनमा शिक्षा लिएर गएका मानिसहरु यो देशका प्रधानमन्त्री भए । कोही डाक्टर भए, कोही इञ्जिनियर, कोही वैज्ञानिक भएर अर्काको देशलाई सेवा गर्दैछन् । कोही सरकारी निकायका ठूला पदमा छन् भने कोही प्राइभेट कम्पनी खोलेर बसेका छन् । कोही ठेकदार छन् भने कोही ठूला व्यापारी छन् । तर पनि तिम्रो श्रृंगार गर्ने कोही भएनन् । यो सडकमार्ग बनाउने कोही जन्मिएन छन् । समाजका अग्रज देवीप्रसाद उपे्रतीले यो संसार छोडे, टेकनारायण राजवंशी मरे, तहविल्दार विष्णुप्रसाद पोख्रेल मरे, सुवेदार भवानीप्रसाद पराजुली मरे, मन्त्रीबारीका जीतलाल राजवंशी मरे, धनञ्जय उपे्रती मरे, कृष्णबहादुर खत्री मरे, गंगा प्रसाईँ मरे, मेदनीप्रसाद उपे्रती मरे यस्तै समाजका अग्रजहरु धेरैले तिमीलाई छोडेर गए । कति जन्मदैछन् त कति बढेर कत्रा भए । घैलाडुब्बा सबै बढे तिमी किन बढेनौ ?
घैलाडुब्बा तिमी झापा जिल्लाको धनी बजारमा गनिएका थियौ । मानिसदेखि लिएर पशुहरुको बजारमासम्म तिमी प्रशिद्ध थियौ । व्यापार व्यवसायदेखि लिएर हरेक कुरामा तिमी अगाडि थियौ । धानका बोराहरु बोकेर गुडेका जिम्सी ट्रकहरुले सडकमा उडाएको धुलोले म कतिपटक फुलेको छु । ती दिनहरु मेरो आँखामा झलझली छ । आज मैले ४८ वसन्त पार गरिसकें । यो सडकमा अझै त्यति नै धुलो उड्छ । खाल्डाखुल्डी पानी पर्दा धेरै स–साना तालहरुको निर्माण हुन्छ यहाँ । नेताहरुले यो सडक मार्गलाई भोट माग्ने भाडो बनाए । मै हुँ भन्ने राजनीतिक कार्यकर्ताहरुले तिमीलाई रोगी बनाए । समाजका युवाहरु सबै विदेश पलायन भए । आउँछन् घर ठड्याउँछन् फेरि जान्छन् । व्यपारीहरु आफ्नै स्वार्थमा रमाउछँन् । राजनीतिक कार्यकर्ताहरु कहाँबाट कति बजेट आउँछ, कमिसनको दौडधुपमा छन्, भन त तिम्रो श्रृंगांर कस्ले गर्छ ?
हरेक पाइलापाइलामा राजनीति च्यानल छ । यो च्यानलले तिमीलाई सिक्री लगायो । नत्र हेर त आजसम्म तिम्रो सडक नक्शामै छैन रे ? कोही भन्छन् पञ्चायतकालमै कालोपत्र भइसक्यो रे, फेरि नक्शामै नभएको सडक कालोपत्रे कसरी भयो ? बुझि नसक्नु के कुरा हो यो, ठुटे राजनीति गर्नेलाई के थाह यो सडक किन बनेन् । अझ लाजसरम् पचाएर तिम्रो बारेमा ठूला कुरा गर्छन् । जबकी विकासको शुरुबाट सडकबाट हुन्छ । यहाँका नेता र कार्यकर्ताहरुको तिमीप्रति न कुनै योजना छ, न कुनै भावना । फेरि पनि ठूला यिनीहरु नै हुन् । हरेकले नमस्कार गर्नुपर्ने । कुनै कार्यक्रम भयो शीरमा यिनीहरुलाई नै राख्नुपर्ने । गाउँमा कुनै खसी बोका मरोस् । कसैकी स्वास्नी पोइला जाओस्, कुनै लोग्नेले अर्काकी स्वास्नी ल्याओस् यिनीहरु नबोली समस्याको समाधान नै नहुने । यस्ता विद्धान कार्यकर्ताहरु आफूले गरेको कार्यप्रति आफै गर्व गर्छन् । तर, यतिका वर्षदेखि अलपत्र भएको यो सडकको विषयमा कोही बोल्दैनन् । हुने खानेहरु तिमीलाई छोडेर शहरतिर लागिसके घैलाडुब्बा तिमी त चुनावको लागि भोट माग्ने आधार मात्र हो । राजनीति गर्ने थलो मात्र हो । तिम्रो लागि केही गर्ने शक्तिशाली मानिसको छ ? देखाउ त एकजना, कोही छैन । चाहे शोषक भनुन् चाहे सामन्ति भनुन् प्रगतिशील जमिन्दार देवीप्रसाद उप्रेतीले तिम्रो धेरै उत्थान गरेका थिए । ती अग्रजहरुको मायाले तिमी बलेका थियौ । उनीहरु पनि निभे तिमी पनि निभ्यौ ।
तीस वर्षसम्म पञ्चेहरुले देश र जनताको रगत चुसेर खाए भन्ने प्रजातान्त्रिक नेताहरुले देशमा प्रजातन्त्र ल्याए त्यो फापेन । त्यसपछि लोकतन्त्र आयो त्यो फापेन । अहिले लोकातान्त्रिक गणतन्त्र आएको छ । कसैले गणतन्त्र मात्रै पनि भन्छन् घैलाडुब्बा यो पनि तिमीलाई फापिरहेको छैन । तिमीलाई कुनै तन्त्रले हैन । भूतप्रेत हटाउने मन्त्रले मात्र तिमीलाई काम गर्ला जस्तो छ । त्यही भएर यो सडक कालोपत्रे नभएर सेतोपत्रे भएको । ६३ फूटको सडकमा ८ फूटको कालोपत्रे भएर छ महिनापछि टालाटुली भयो भने, घेराबारी रोए जस्तै तिमी रुनुपर्छ । टालाटूली सेतोपत्रे नै ठीक छ । यसले कसै कसैलाई फाइदा पनि गरेको छ । किड्नीमा स्टोन भएकाहरुले खालीपेटमा एक लिटर पानी पिएर लक्ष्मीपूरबाट सिटीसफारीमा डाँगीबारीसम्मको यात्रा गर्यो भने स्टोन आफै झर्छ । डाक्टरको के काम ?
घैलाडुब्बा, मैले तिम्रो बारेमा धेरै ठूलो कल्पना गरेको थिएँ । तिम्रो बगैंचामा थुपै्र फूलहरु खेल्छन् । त्यो सौन्दर्यताले तिमी सबैको आकर्षक बन्छौ । यहाँ खुलेको कलकारखानाहरुले धेरैलाई रोजगारी दिन्छन् । स्वच्छ खानेपानी सवैको घरघरमा पुग्छ । आदर्श विद्या मन्दिरले अझ ठूलो शिक्षाका ज्योती फाल्छ । यहाँको व्यापार व्यवसायले धेरै मानिसहरुको आवश्यकतालाई समेट्ला । यहाँ फलेका अन्नबालीवाट तिम्रो भण्डार भरिएको होला । पशुपन्छी चराचुरुङ्गी सबै रमाएका होलान् । तिमी बढेर वरिपरिका अरु स्थानहरुलाई पनि समेटेका होलाउ तर ठीक त्यसको विपरित भयो अरुले नै तिमीलाई घिस्याएर लिएर गए । खै ती मै हुँ भन्नेहरु ? त्यतिका डाक्टर जन्माएर पनि तिमी रोगी भयौ । त्यतिका नेता, विद्धानहरु जन्माएर पनि तिमी दुःखी भयौ । मेरो हजुरबुबाले एउटा उखान भन्नुभएको थियो – अघि राँडी जानिन, पछि राँडी मानिन, राँडो लाग्यो घिस्याउन, राँडी लागि चिच्याउन । तिमी बढेको भए अरुलाई घिस्याउँथ्यौ । अब क–कसले घिस्याँउछन्, घिस्रिदै जाऊ । त्यही भएर मैले तिमीलाई प्रश्न गरेको– सबै बढे घैलाडुब्बा तिमी किन बढेनौ ?
एगपबचदद्दण्ण्ण्२थबजयय।Pukarb2000@yahoo.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here