गौंथलीको बाऊ र माइला बाको बस–यात्रा

६ कार्तिक २०७३, शनिबार मा प्रकाशित

[व्यंग्यनारान पा“डे]
भद्रपुर टु विराटनगर ‘नन्–स्टप सुपर फास्ट एक्सप्रेस’ बसमा पाँडे दमकसम्म जान चढेको थियो । ठाउँ–ठाउँ मै घ्याच्चघ्याच्च रोकेर प्यासेन्जर उतार्ने र चढाउने सो बसका कर्मचारी महोदयहरुको कमाउकान्ते कर्म र कर्तुतका कारण बिहान १० बजे भद्रपुरको क्याम्पस मोडबाट चढेको पाँडे अपरान्ह लागेर २५ मिनट पछि अर्थात् १२ बजेर २५ मिनट कटेपछि बिर्तामोड पुग्यो । बस स्ट्याण्डमा सयौं आबाल–वृद्ध बनिताको डाँफेरंगी भीड, मानों, त्यही बसलाई पर्खिराखेका थिएछन् मात्र होइन बसलाई बिच्किएको अरिंगलले छुल्याहा बाँदरलाई खेदे झैं चारैतिरबाट उछिन्पाछिन् गर्दै घेरे । यसरी घेर्नेहरुको भीडमा गौंथलीको बाऊ पनि ठेलम्ठेल गर्दै बसको ढोकानेर आइपुगेको देख्यो पाँडेले ।…
पाँडे बसेको सीटको ठीक अगाडिको सीटमा एकजना हेर्दै खरा जुँगे बूढा झ्यालतिर र उनका छेउ सीटमा पोलिस्टरको हरि…यो भेष्ट, पोलिस्टरकै कालो सुरुवाल लगाएका सतार बूढा फेटामा फूल र पातीका ठूल्ठूलो मुठ सिउरिएर बसेका थिए । बसभित्र भीडले खुट्टो टेक्ने ठाउँ थिएन । तर, बाहिरबाट भित्र कोचिने पौरख गर्नेहरुको प्रयास जारी थियो । ठेलमठेल गर्दै भित्र छिर्न सफल गांैथलीको बाऊ सीटको दुर्भिक्षग्रस्त बसभित्र छिरेपछि छतको डण्डी समाएर पल्याकपुलुक गर्दैथे, पाँडेको अघिल्तिर बसेका भलाद्मी बूढालाई देखेपछि उनका छेउमा आउने प्रयास गर्दै कराए– “ओहो, नस्कार है माइला बा, नस्कार । हे रा … म नि ..! हन दैवले कस्तो सन्जोक जुरा’छ आज्ज चइँ, मेरी आमई नि ! अस्ति हाम्रा चूडामणि बस्सिस्ट सरले हाम्रा माइला बा एछिन् घर बस्तैन’न्, यताउति टुर–भर्मन् गरिर’नु हुन्छन् त भन्थे क्यारे । अनि आज चइँ कता नि माइला बा ? टाढै ?”
गौंथलीको बाऊको, सानो बालकले एक ताला माथिको बरण्डाबाट तल आँगनको टीनको पातोमा पिसाब गरेजस्तो , स्वर ! बसको घ्यारघ्यार र पेसेन्जरको हल्लालाई सजिलै परास्त गर्ने उनका हरेक शब्द बसको झ्याल–ढोकाबाट बाहिरतिर पनि पोखिइराखेको थियो । तर, ती माइला बा भनिइएका बूढा चाहिँ बेखबर झैं बसभित्रको हल्लाबाट कानलाई र गणतन्त्रे बजार अनुगमनलाई चुनौति दिंदै बिक्री भइरहेका सामान जस्तै विभिन्न गन्ध–दुर्गन्धको मिसावटबाट नाकलाई जोगाउँदै विरक्तिएर झ्यालबाट बाहिरतिर हेरिरहेका थिए ।
गौंथलीको बाऊ हाँप र झाँप गर्दै माइला बा बसेकै सीटको छेउमा पुगे र सतार बूढालाई कोट्याउँदै भने– “खोइ–खोइ होउ मितुवा बूढो, अलिबेर उठ्उठ् होउ । मेरो ह्वाँसित कानमा भन्ने कोइ–कुछ इन्पोरट्यान बात मार्नुछ । हामी पाहाडे–मधेसे एक–जइन् भ’र चाइन्जो यो देशलाई उन्नति–पर्गतिर लानुपर्छ क्या । तँ बूडो बस्ने, म चइँ उभिनु त न्याँ होइन नि होइन ? लु–लु, उठ्–उठ् होउ बूढा ।”
सतार बूढाले आफूलाई गौंथली बाऊले तँ भनिरहेकोमा रिसाएर होला, हान्ने राँगोले झैं आँखाले हेर्दै, भने– “कोल्लाई त ँ भनेको तपइँले ?”
गौंथलीको बाऊले चख्ल्याँस्स पर्दै भने– “एत्तेरी ! हन सतारलाई काँको तिमी र तपइँ भन्छौं त होउ हामी, अन्तखेरी ? त्यै पनि हड्डी नभ’को जिब्राले कैलेहकाइँ मिस्केट त गर्छ तानि ।… थपक्कन उठेर उतारित सीट खोजेर बसे भइगो नि सतारले त, भइँमै टुक्रुक्क बसे नि हुन्छ आफ्ना गाम्घरमा जस्तै । लु–लु, थपक्कन उठ् र मलाई तेस सीटाँ बस्न दे बूढा । म एछिन् यी माइला बासित बस्नैपर्ने जडुली छ । म उत्रेछि बस्लास् नि जति बसे नि ।”…सतार बूढा दिक्क मान्दै उठे र त्यही सीटको अडेसो समाएर उभिए । ‘बा…स्’ भनेर गौंथलीको बाऊ आफ्नो हेमानको थोत्रो एयर ब्याग काखमा राखी माइला बालाई घच्चमच्च हुने गरी थ्याच्च बसे । त्यसपछि फेरि सतार बूढालाई कोट्याएर ध्यानाकृष्ट गराउँदै भने– “मेरा पागिटमा सतारलाई उठा’र चाइन्जो सातोडा सीट खाली गर्ने कन्सिसन काठ छ । म यस ठाम्को सबसे सिनियार पत्रकार गर्ने बेक्तित्तो पो हूँ त बूढा । के चिन्थ्यिौं तिमी ठुटाहर्ले मलाई र मेरा मुखबड तँ भनिंदा रिसाउँदैनथ्यौ त । मेरो महत्तो इ माइला बा जस्ता यस ठाम्का खर्राटँ बूढाले त रामरी बुजिसक्या छै’न । मैले तँलाई उम्याएर आफू किन तेस सीटाँ बसें भन्ने रानीतिकको पोल्टिकल बुज्न त काँशीबास गरेर कौमुदी नै पाठ गरेको हुनुपर्छ क्या । सर्भहारा जन्ताको भलो गर्ने हाम्रो माहान कान्तिकारी पाटीको नेतित्तोमा सर्खार चलेका बेला म जस्तो डाग्डर तुल्सी गिरी, किसुनजी, मन्मोनजी, डाग्डर चाइँने रीखिकेस सा, सूर्जेबादुर, लोक्यान्द्र, सिरि पान्सर्खार ग्यानेन्रहर्ले सर्खार चलाउँदादेखिकै पत्रकार गर्दै आ’र फिलहाल भाषाविद् पनि गर्न थाल्या बेक्तित्तोलाई सितिमिति चिन्न त गारै पर्ला । तिमेरु जस्ताले त अज्ज यू माइला बा जस्ता सुकिला बेक्ति बस्या सीटाँ बस्ने हिकमतै नगरे हुने हो–साँच्चो र सत्ते चइँ बात गरुँ भने । हाम्रो काङरेस र कमिनिस पाटीलाई राजा सिरि पान्सर्खार ग्यानेन्द्रले राखिबक्सनु भ’का सातोडा पश्न अस्ति फूलपातीका दिन सुन्या थ्यो कि थेन ? अनि तँ सीटाँ आरामीसित बस्ने अनि म जस्तो बेक्तिलाई चइँ यो भीडमा उभ्भिन लाउने ? अनि मैले तँलाई तँ भन्दाखेरी चइँ रिसाउने ? मैले तँलाई तँ नभनेर मान्नीए–सम्मान्नीए भन्नुपर्ने ? छक्क पर्नु ।”…इत्यादि–इत्यादि ।
उनका भालुभुत्ते कुरा सुनेर वरिपरि सीटका मानिस गललल–गललल हाँस्थे । माइला बा चाहिँ कागती टोकेजस्तो अनुहार बिगारेर र नाकको सोझो माथि निधारको छालालाई त्रिुशुल जस्तै खुम्च्याएर विरक्तिएका आँखा झ्यालबाट बाहिरफेरो डुलाइराखेका थिए । सतार बूढाले समेत उनी (गौंथलीको बाऊ)–तिर ध्यान दिएको बुझिन्नथ्यो ।
माईधारमा सतार बूढा उत्रिएपछि माइला बातिर कोल्टे पर्दै गौंथलीको बाऊ फत्फताउन थाले– “बल्ल उत्रो मितुवा ! यस्तो भीड बसमा याँ मान्छेलाई अँटाएर बस्न अप्ठ्यारो परिराख्या छ, यी सतार किन कोचिएका होलान् ? मलाई त झनक्क कन्पारो पो तात्तियो । मैले तेत्रो मन्तब्बे राख्ता तो चुँक्क बोले त माइला बा ? मसित मुख लाग्ने तेसको के हैसेत, होइन्त ?”
माइला बाले उनीतिर फर्केर बाघे आँखाले हेरे र आफ्नै ओठमा औंलो टाँस्तै ‘चूप लागेर बस्ने’ संकेत गरे ।
गांैथलीको बाऊ के चूप लाग्थें । उनले बोली अलिक बिलिन पार्दै भने– “ठीक छ, तेताको नाथे टपिकै बन् गरेर अब अर्कै टपिकतिर लाग्छु । कुरो के भन्लाऊ भने नि माइला बा ! अब साँचो–सत्ते कुरो चाइँने के भन्रभने…अब यस जिल्लाँ तपइँ र म बाएक हाम्रा दर्जाका खान्दानी पोल्टिकल गर्ने बेक्ति अरु को पो छ र ? सर्खारी दशीँखर्च भन्ने जिनिसको कन्चो यसबाजी हाम्रा हाताँ नपरे नि हामीले डन्ट माइन् गर्नु हुँदैन । त्यारको लछिमी पूजा, हलित्यार र भाइटीका त डल्लै छैँछ । अज्ज तेसपछि छड आउँछ । ल्यूँला नि त्यारखर्च–छडखर्च । दशीँमा देशभरमा नेता, छोटे नेतादेखि गाढेच्यानेसम्मले काठमाडुँ टन्न भरियाथ्यो अरे क्या । तिनले दशँीखर्चको बजेट सुको नराखी जिप्ट्याइहाले क्यार र नाइटाले सोर्ग देख्ने गरी घिचिहाले किर्रेहर्ले । अब त्यारमा हाम्रो पालो । झन्ने हामी दोडा मात्रै भयम् भने त क्या च्वाँक चानस ! हामी संगसंगै जाम्, संगसंगै रुप्पे जिप्ट्याम् र संगसंगै घुरुम् क्या । माल्यांमा बेरामी परेर सिरेसली भ’काले दशीँ अगि माइला बा काठमाडुँ जानु भएनन् अरे भनेको सुन्दा क्या माल परेछ भन्र कम खुशी भा’थेँ र म ?”
माइला बाले गौंथलीको बाऊको लालची अनुहारमा हेरे र थर्थर ओठ कमाउँदै भने– “हन के बकबकाइराख्या हँ ? के भन्या त्यो ? मेरी बूढी बिरामी पर्दा तपाईंले किन खुशी मान्ने हँ ? नचाहिया कुरा प्यारप्यारप्यार…!”
गौंथलीको बाऊले तर्से झैं फुस्रो मुख लाएर घुटुक्क थुक निल्दै भने– “होइनओ, कुरो तेताबड नबुजौ न होउ माइला बा ! अस्ति तपइँ दशीँखर्च हातलागी गर्न काठमाडँु जाने खबर एउटा पत्रिकाले न्यूचमा उठा’कै दिनदेखि मैले पनि सोइ काममा लागि तपइँसितै जाने इस्टमेट गरेर बास्सिस्ट सर, ती क्या त तपइँको पोरपेसर गर्ने भतिजो ?…हो ह्वाँसित तपइँको एडेस मागेर म तपइँलाई भेट्न आ’थेँ नि ? बाटाखर्चीका लागि घराँ पालेको एउडै चौपाए, भउँ न अब, एउडै लिखे पाठो थ्यो र तेइ बेच्ने इस्टमेट गरेर बजार लगेँ पनि । त–र ! कुरो यो तरभित्र छ है अब । त–र, एकातिर तो पाठो बिकेन भने आर्कातिर माल्यामा बेरामी भ’की खबर–इन्फोरमिशन पाउँदा र्याँइँमा ठ्याइँ मिलो भन्र खुशी भएँ भन्या मात्तै । गाईखाने होला, मेरो अन्ने–अरु अइप्राए होइन । माइल्यामा बेरामी नपर्या भादेखिन् तपइँ गइजानु हुन्थ्यो र म एक्लै हुन्थें । तेसबेला मेरो पनि पाठो बिक्या भा म पनि एक्लै भा नि जान्थेँ कि कोनि । तर, पाठो कसरी तेति सस्तै बेच्थेँ हुँला र । अब हेर्नु न, मेरो पाठोको अन्नेजी चार किलो मात्तै मासु अनमान लाउने र किलाको चार सहेले लिने अरे । भरे भन्दा त्यै पाठो काटेर मासु बेच्ता चइँ सात सहे किलाका भाउमा बेच्ने ? तेस्तो अन्या सहनु त ? मेरो पालो पाठै घुर्ता ल्या’र खोरमा टमारिदेँ, लु खा त !…र, तेसकारन म खुशी भया हूँ भन्दा तपइँ झन्नै गोस्सा हुनुभयौ । यसरी गोस्सा हुनु राम्रो होइन भन्ने त साइकोलोजीका पोस्तकहर्मा लेखिएकै कुरा हो । माइला बाले तो साइकोलोजी चइँ अध्येन गर्नु भ’न क्यारे । … खयर यो बात अ‍ैलें एतिमै फिलिस गरम् र, अन्तखेरी, उइले जमान हुँदै माइला बाको ढाड लिङ्गे पिङबड ढुन्मुनिएर तल खस्ता भाँचिएको भन्ने रिकट त पत्रिकाको न्यूच भइगो, अरु साछी–पर्मान नै चाइएन भने मेरो चइँ दुबै मिर्गौला र कलेजो पढ्के सेन्तेरेम भन्ने जंगे पानीले डढेर खरानी भइसकेका डाग्डरी गत – पत्र एक डोकै छन् । आन्दोलनका ट्याममा परहरी र सैसेनाले मेरो ढाड भाँचेका भनेर तपइँले भन्दा भैगो भने म चइँ राजा साएम् सिरि पान्सर्खार छँदाछँदै भुत्राको गन्तन्त्र गर्छस् भन्दै परहरीले पक्रेर तुरुङ ठोके अनि एक महिना पानी पनि खान नदिई राखेका ट्यामदेखि मेरा मिर्गौलाको किड्नी र कलेजो सुकेर ग’का हुन् भन्छु । कुरो फिनिस्टिइजान्छ क्या माइलाऊ । तेसो–तेसो भन्दा नि टेरेनन् भने बसौंला नि डाग्डर गोविन्द केस्सी जस्तै अन्सन । अन्सन बस्न सारै मज्जा लाग्छ मलाई चइँ, तपइँलाई कस्तो लाग्छ हँ माइलाऊ ?”
माइला बा चर्के– “के भन्या त्यो माइलाऊ चाहिँ ? माइलाऊ भन्या के हो ? कसलाई माइलाऊ–माइलाउ, भन्या ?”
गौंथलीको बाऊले अलिक हच्किएर भने– “होइन अच्काल म सट्कट् भाषाको भाषाविद् गर्दैछु कि अन्तखेरी माइला बा भनिरहनुभन्दा माइलाउँ भन्न सट्कट् लाग्ने बानी भ’छ क्या माइलाऊ । ती क्या त, किस्नपर्सात भट्राईलाई किसुनजी, गिर्जापर्सात कोइरालालाई गिर्जाऊ, पुष्पकम्मल दाहाललाई पर्चण्ड भने झैं माइल बालाई माउलाऊ भन्या क्या । नजान्या कुरो यस्सरी नै सोद्ने गर्नु भयौ भने तपइँ नि सट्कट् भाषाको भाका टिप्न सक्नुहुन्छौ क्या माइलाऊ । मसित कोलोज कन्टेक चइँ हुँदै जान अनिबार्जे छ, यो पनि मिस्केट गर्ने कुरो होइन नि फेरि ।”
माइला बाले मनमनमा ‘थेत्तरा र नकच्चराको ओखति हुँदैन’ भन्ने पुरानो भनाइ सोचेछन् क्यार र गांैथलीको बाऊ सामू आफ्ना तर्फबाट पहिलो प्रश्न राखे– “तपाईं कहाँसम्म जाने ?” उनको झर्के स्वरमा विरक्ति घोलिएको प्रतीत हुन्थ्यो ।
गौंथलीको बाऊले गर्वसाथ उनीतिर हेर्दै नाकबाट उँभौली सास स्वाँक्क तानेर भने– “यई राचमार्काबड जाँदा ओर्ला’री बजार आउँछ र तेसका अलि उता माङलबारे स’र आउँछ । हो त्याँइँ एउडा बिर्तामोडको हनुमान सेन्टलभन्दा अलिक मात्तै स्यानो पाँच कोठा भ’को सिमन्टीको पक्की एक तले घर छ । तो घर मेरी माइली माइजुका भाइको छोराको हो । हो तिन्काँ टिको लाउन हिंड्या । नगइदिउँ भने तेति नजिकको नातोका मान्छेले चित्ता दुखाउलान् भन्र हिंड्या । बइदेशी रोचकारीबड, रुप्पे त के, बोराबोरै कमा’का छन् । गएको गत बर्ख यो झोला र यी मैले लाइराख्या जुत्ता उनैले देका हुन् । कडोरउँका धनी छन्, दच्छिना पनि ग्याम्मै दिन्छन् । खान–पिना त कुरै गरेर साद्धे नै छैन । मासु खाने कि, माछा खाने कि, घिउ–दइ त झन छाकै पिच्छे । भित्रै टोइलेट गर्ने ठाम, पानीको टोक्रे बोकिरनै नपर्ने, तिँही धारो जोड्या । भान्सा घरमा ध्वाँ…”
उनी बोल्दाबोल्दै माइला बा जुरुक्क उठे । पाठाजुँगी आइपुगेछ र उनी त्यहीँ उत्रिने रहेछन् । उनले गौंथलीको बाऊका खुट्टालाई खुट्टैले ठेल्दे भने– “खोइ म उत्रिउँ !… कस्ता–कस्ता पोचा–भालुभुत्तेसंग परिन्छ कहिले–काहीँ त । यस्ता–यस्ताले पनि पत्रकार र भाषाविद् गर्छन् हाम्रो देशमा अनि यत्रो अघि बढ्छ यो देश !”..उनी गन्गनाउँदै उत्रिन भीडसंग संघर्ष गर्दैथे । गौंथलीको बाऊ चाहिँ पछाडिबाट भनिरहेका थिए– “अब पुर्ने आउन दोडा दिन बाँकी छ । काठमाडुँ जाने पोरगाम फिस गर्न म सोयम् एताबड घुरेकै दिन तपाइँकाँ पाउकष्ट गर्दिम्ला र तपइँकै घराँ दशीँको रहल–पहल खाँदै मिटिन–डिसकेस गरम्ला हए माइलाऊ । माइल्यामालाई पनि मेरा तर्फबाट नमस्कार भनिदिनु होला, ह्वाँको ज्यान बाँचोस् बिचारीको । हुन्ता काल आएछि को मर्दैन र ।”…
तर, त्यति बेलासम्म उनले पाँडेलाई धन्न देखेका थिएनन् गाँठे !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here