आमा ! आज भात खाने पालो तिम्रो

६ कार्तिक २०७३, शनिबार मा प्रकाशित

भुवन तामाङ ]
‘केटा हो म त मर्छु कि क्या हो ।’ आमाले त्यसोभन्दा छोराहरु रोएर बेहाल हुन्छन् । ‘आमा ! यस्तो कुरा नगर न । तिमीलाई केही भयो भने हामी कसरी बाँच्नु । बरु म काम गरेर पाल्छु तिमी र भाइलाई । अबदेखि यस्तो नभन है ।’
जंगल छेउमा रहेको थोत्रा टिनले छाएको उनीहरुको घरको एउटैमात्र कोठा बाँसको भाटाले बारिएको छ । घरको एउटा कुनामा अगेना र केही भाँडाकुँडा छन् । परिवारमा उनीहरु जम्मा तीन जना, आमा अम्बिका तथा पाँच वर्षको एक र नौ बर्षको अर्को छोरा । छोराहरु एक घण्टा टाढाको सरकारी प्राथमिक स्कूल पढ्न जान्छन् । आमा चाहीँ बनिबुतो गर्न गाउँ चहार्छिन् र केही अन्न लिएर आउँछिन् । काम नपाएको दिन कि त सुतेरै, कि त जंगलमा गिठ्ठा भ्याकुर खोज्नमा बित्छ ।
कलिला छोराहरु टाढाको स्कूलबाट हिंडेर भोकले लखतरान पर्दै घर आइपुग्छन् । घरमा आइपुग्ना साथ सानो छोराले ठूलो छोरालाई भन्छ– ‘दादा ! आज बेलुका भात खाने पालो तिम्रो हो, होइन त दादा !’ दाजु चाहीँ केही नबोलि आमा खोज्न थाल्छ । ठूलो साँझ परिसक्दा पनि आमा आइनन् । छोराहरु दुबैजना पालैपालो, ‘आमा हो, ए आमा !’ भन्दै बोलाउन थाल्छन् तर आमा आइनन् । सानो छोरा रुन थाल्छ, ‘आमा ए आमा !’ भन्दै । जोरै दाजुभाई घरबाहिर निस्किएर अँध्यारोमा आमाको बाटो हेरिरहन्छन् ।
अँध्यारोमा आमा राँको बालेर घर आइपुग्छिन् । सानो छोराले आमालाई कम्मरमा च्याप्पै समाउँदै भन्छ– ‘किन ढिला आएको आमा ?’ ठूलो चाहीँले भन्छ– ‘मलाई त डर लाग्न थालेको थियो कतै तिमीलाई केही भयो कि भनेर ।’ लामो श्वास तान्दै आमा भन्छिन्– ‘के गर्नु काम गरेर खान पनि गाह्रो छ । दिनभरी काम ग¥यो बनी दिन पनि गाह्रो मान्छन् साहुहरु । पर्खेर ल्याउनै प¥र्यो त केटा हो ।’
अम्बिकाले त्यही राँकोलाई दाउराको रुपमा उपयोग गरिन् र आपूmसँग ल्याएको चामलको भात पकाइन् । आज त आलु पनि माग्न भ्याइछन् । भात र आलुको तिहुनको वास्नाले उनीहरुको झुप्रो हरर भएर आयो तर काम त अम्बिका मात्रैले गरेकी हुन् । त्यसैले एकजनालाई मात्र पुग्ने चामल पाएकी थिइन् । खाने मुख भने तीन छन् । यस्तो त आज मात्रैको कुरा होइन । कैयौँ दिन त यही बनि पनि गर्न पाइदैन । अनि भोकै सुत्नुपर्छ यी तीन जनाले । अचम्म त के भने, अम्बिकाका छोराहरुलाई मानिसहरुले दुईछाक भात खान्छन् भनेर थाहा नै छैन । एकैछाक पनि पालो बाँधेर खान्छन् ।
आमा अम्बिकाले तीनै जनालाई भात भाग लगाइन् तर कान्छो छोराले खान मानेन । ‘आज खाने पालो दादाको’ भनेर । दाजुचाहीँ आप्mनो भागको आधा भात आमाको भागमा हालिदिंदै भन्छ– ‘आमा ! तिमी काम गरेर थाकेकी छौ । तिमीलाई धेरै भोक लागेको छ, तिमी धेरै खाऊ ।’ छोराहरुको व्यबहारले अम्बिकाले तरक्क आँशु खसालिन् । बाबु मरेपछि कति दुःख आइपरेको छ । कहीँ आमा पनि केही भइन् भने बाँच्न गाह्रो हुन्छ । त्यसैले जेठो छोराले आमालाई औधी माया गर्छ ।
कान्छोले पालो मिच्न चाहेन, ठूलोले आधा भाग आमालाई दियो । त्यसैले अम्बिकाले आलुको अलिकति तिहुन कान्छोलाई दिइन् । ‘आलुको चाना तिमी नै खाउ आमा ! म झोल पिउँछु’ भन्दै थोरै झोल पिएर आमाको काखमा लुटुक्कै निदायो कान्छो । आज त्यो झुप्रोका मनुवाहरुले जे जस्तो भएपनि केही त खान पाए तर अरु झुप्राहरुको हालत के होला ?
यसपाली बर्खा पनि कति लम्बिएको ? रातभरीको पानीले घर चुहिएर राम्ररी सुत्न पनि पाएनन् अम्बिकाहरुले । बिहान छोराहरु भोकै स्कूल गए । अम्बिका गाउँतिर लागिन् बनिबुतो गर्न । गाउँमा धान रोपेको अस्तिजस्तो लाग्छ गोड्ने बेला भई सक्यो । धान गोड्ने काम गरेर आज पनि अम्बिकाले चामल लिएर आउन सकिन् । घरबाहिर छोराहरु आमाको बाटो हेरेर बसिरहेका थिए । सानो छोराले रुँदै भन्यो– ‘म त भोलिदेखि स्कूल जान्न ।’ ‘किन ?’ आमाले सोधिन्– ‘किताब, डे«स छैन भनेर कुटे ।’ ‘आम्मै नि हेर ! यति सानो बालखलाई गालाभरी डाम बस्ने गरी पिटेका । कहाँबाट दिनु अब किताब र डे«स, एउटा कट्टु त हालिदिन सकेको छुइन ।’ जेठोले पनि भन्यो– ‘म पनि जान्न आमा ।’ ‘किन ?‘ ‘सरहरु नै स्कूलमा आउन्नन् । चौकिदारले पढाउँछ अनि डे«स नलगाई आइस्, किताब खोई ? भनेर खालि पिट्छ मात्र । यी हेर्नु त हातमा लौराले पिटेको डाम ।’
‘स्कूलमा त सरस्वती बस्छिन् भन्छन्, तिमेरको स्कूलमा त राक्षस बस्ता रहेछन्’ भन्दै गनगनाउँदै अम्बिकाले भात पकाइन् । आजको छाक कान्छो छोराको खाने पालो । आमाले तीनै जनालाई भाग लगाइन् तर जेठो छोराले खान मान्दै मानेन् आप्mनो पालो होइन, पुग्दैन भनेर । थोरै तिहुन भने खायो जेठोले । कान्छो छोराले आप्mनो भागको अलिकति ‘खाउ न दादा !’ भनेर दाजुचाहीँलाई भन्यो तर दाइले मानेन ।
भदौको घाम र झरीमा काम गरेकाले अम्बिका बिरामी पर्छिन् । उनी बिरामी परेपछि बनिबुतो गर्ने पनि कोही भएनन् । कति दिन त उनीहरुको घरको अगेनामा आगो ठोसिएन । जेठो छोराले आज कतैबाट सिस्नु टिपेर ल्यायो र पकायो अनि आमालाई खान दियो । ‘तिमेरु के खान्छौ त ?’ अम्बिकाले सोधिन् । ‘आमा ! हामी भोलि खाऔँला, आज तिमी खाउन, तिमी बिरामी छौ ।’
भोलिपल्ट दुबै छोरा नजिकैको जंगलमा सिस्नु टिप्न जान्छन् । सिस्नुले डामेकाले कान्छो रुन थाल्छ । जेठो सकी नसकी तन्किदै चिम्टाले सिस्नु टिप्छ । घरमा आएर सिस्नु ओडाल्छ । निकै टिपेंजस्तो लागेको थियो तर पाकेपछि त कति पनि भएन । जेठोले आमा र भाइलाई सिक्नु पस्कियो । कान्छोले– ‘दादा पनि खाउ’ भनेर हत्ते ग¥यो– ‘तँ खान अहिलेको छाक, म अर्को छाक खाउँला, अलि धेरै सिस्नु टिपौँला’ भनेर मनायो । नुन हालेको फत्फत् पाकेको लयालु सिस्नु खाइन् अम्बिकाले र सुतिन् । निकै दिन भयो अम्बिका ओछ्यान परेकी । साँच्चै जेठो ले भने भैmं आमाचाहीँलाई केही भयो भने यिनीहरुको के गति होला ?
गाउँमा दशैँ आयो तर अम्बिको घरमा आएन । उनी बिरामी परेकीले काम गर्न जान सकिनन् र चामल पनि आएन । मासु भात त परैका कुरा । मानिसहरु अम्बिकाकै घरछेउबाट दशैँका टिका र नयाँ लुगा लगाएर हिंडेको देख्दा अम्बिका र केटाहरु रोएर हैरान । गरिबको दशैँ । उनीहरुले सिस्नु खाएरै दशैँ मनाए । ‘टीका अर्कै साल लगाउँला’ भनेर अम्बिकाले टारिन् । ‘हाम्रा लागि दशैँ कहिल्यै नआओस् । तै बरु तिहार मनाउन सकिएला कि ?’ उनले छोराहरुलाई यस्तै भनिन् ।
अम्बिका तङ्ग्रिइन् । केटाहरुको बिजोग देखेर अम्बिका काम खोज्न गाऊँ पसिन् तर उस्तो मजाले काम गर्न भने सकिनन् । काम अनुसारको दाम । जग्गाजमिनवाला, धनीहरुको मन पनि कस्तो ? बिरामी अम्बिकाले राम्रोसँग काम गर्न सकिनन् भनेर ज्याला पनि कटाएर दिन्छन् त्यै पनि मकैको च्याँख्ला । जे होस् केटाहरुले खान पाउँछन् भनेर अम्बिका त्यही भए पनि लिएर आउँछिन् । अम्बिका मकैको च्याँख्ला र केटाहरुले टिपेर ल्याएको सिस्नु ओडाल्छिन् । थोरै च्याँख्लाको भात आमालाई पुग्दैन भनेर केटाहरुले खानै मान्दैनन् । ‘हामी सिस्नु खाइहाल्छौ नि, आज फाँडो खाने पालो तिम्रो आमा ! तिमीले खाएनांै भने तिमी कसरी काम गर्छौ ?’
अहो यो कस्तो गरीबी ? यो कस्तो कारुणिकता । फाँडो खानलाई पनि पालो बाँध्नुपर्ने तर कैयन नेपाली जनताको अवस्था यही छ । यस्तो अवस्था कसले देख्ने । नेपाल सरकार अन्धो छ । अम्बिका फेरि बिरामी पर्छिन् । काम गर्न जान सक्दिनन् । केटाहरु आमालाई हेरचाह गर्ने कोसिस गर्छन् । सिस्नु त उनीहरु टिपेर ल्याउँछन् नै तर अन्न कहाँबाट के ले किनेर ल्याउनु ? जेठो छोरालाई साह्रै पीर पर्छ आमालाई अन्न खुवाउन नपाएकामा । कान्छो पिरलिएर दिनभरी रुँदै आमाको नजिकै बस्छ । आमाको हातले दिएको खाने बानी परेको सानो छोरा दुब्लाएर सिन्कोजस्तै हुन्छ ।
जेठोले जंगलबाट अलिकति गिठ्ठा भ्याकुर खोजेर ल्याउँछ र उसिनेर नुनसँग आमालाई खान दिन्छ । तर, आमाले निल्न सकिनन्, गला लाग्छ । भन्छिन्– ‘केटा हो म त मर्छु कि क्या हो ।’ आमाले त्यसो भन्दा केटाहरु रोएर बेहाल हुन्छन् । ‘आमा ! यस्तो कुरा नगर न । तिमीलाई केही भयो भने हामी कसरी बाँच्नु । बरु म काम गरेर पाल्छु तिमी र भाइलाई । अब देखि यस्तो नभन है’– जेठो सम्झाउँछ । हुन त जेठो चाहीँलाई आमा त मर्छिन् कि भन्ने आभाष हुन थालेको छ । ऊ लुकेर रुन थालेको निकै दिन भयो । जेठो आप्mनो पीर कसैसँग पोख्छ । आमाको अबस्थाबारे बताउँछ पनि । कोही न कोहीले त आँट पनि भरिदिन्छन् ।
जेठो काम खोज्न निस्कन्छ । आखिर मानिसलाई दुःखले नै जीउन सिकाउँछ र मैदानमा उतार्छ । उनीहरु पढेका स्कूल छेउको सानो बजारको एउटा होटलमा काम पाउँछ, भाँडा माभ्mने, ग्राहकलाई खाना दिने, प्लेट उठाउने आदि । साँझमा अबेर केही उब्रेपाब्रेको खानेकुरा बोकेर घर आउँछ र आमालाई दिन्छ । ‘तँइले खाइस् त ?’ अम्बिकालाई सन्तानकै पीर । ‘होटलमा काम पाएँ आमा ! केही न केही त खान पाइहाल्छु नि त्यहाँ । यो तिमी र भाइ खाओन ।’ होटलको चिल्लो पिरो परेको खानेकुराले होला अम्बिका झन् सारो पो भइन् ।
जेठोेले आमालाई उपचार गर्न उपस्वास्थ्य चौकी पु¥याउँछ । उनी अलि निको पनि हुन्छिन् र केटाहरुकै पीरले अम्बिका फेरि काम गर्न निस्किन्छिन् । त्यसैले उनलाई अचाक्लि ज्वरोले सताउन थाल्छ । एकदिन उनी सिकिस्तै हुन्छिन् । सानो छोरा ‘आमा आमा !’ भनेर रोएको रोयै हुन्छ । घरबाहिर निस्केर ‘दादा ! छिटो घर आउन’ भन्दै कराउँछ तर जेठो घर आउने समय भनेको रातको नौ, दश बजे हो । होटल बन्द भएपछि मात्र आउन पाउँछ । जेठो दश बजेतिर मात्र घर आइपुग्छ । नौ वर्षको केटोले इन्तु न चिन्तु आमालाई राती अस्पताल लान सक्ने कुरै भएन । ऊ सहायता माग्न गाऊँ निस्कन्छ तर ‘राती भो भोलि उज्यालो भएपछि’ भनिदिन्छन् गाउँलेले । घर आउँदा त भाइचाहीँ ‘आमा आमा !’ भन्दै रोइराखेको छ, आमा भने निश्चल लम्पसार । आमा गैइ सकिछन् । जेठो पनि रुन थाल्छ, ‘आमा मलाई एकैछिन् पर्खेको भए हुन्थ्यो नि । केही पनि बोल्न पाइन नि आमा तिमीसँग ? बाबु मरेर गए, तिमीले पनि हामीलाई टुहुरा बनाएर गयौ आमा’ भन्दै । भाइचाहीँ पनि ‘दादा ! आमालाई के भाको, आमा किन बोल्दिनन्, किन उठ्दिनन् ? दादा आमालाई उठाउन’, भन्दै कहालिन्छ ।
केही क्षणपछि जेठोले भाइलाई अँगालोमा बाँध्दै भन्छ, ‘भाइ ! हाम्री आमा मरिसकिन् । अब उनी बोल्न सक्दिनन्, उनी उठ्न पनि सक्दिनन् ।’ ‘नाइ दादा … ए आमा हो उठन ।’ भाइचाहीँ कहालिएर कोकोहोलो मच्चाउँदै छाप्रो उचालिने गरी रुन थाल्छ । ‘मेरो भाइ ! भोलि गाउँलेहरु आएर हाम्री आमालाई लग्ने छन् र खोलामा पु¥याएर जलाउने छन् । आमा खरानी हुनेछिन् र धुँवा भएर आकाशमा उड्नेछिन् । उनलाई भगवान्हरुले स्वर्गको घरमा लानेछन् माथि माथि आकाशमा । हामी भन्दा धेरै टाढा ।’ ‘नाई दादा ! म आमालाई लान दिन्न, आमालाई दुख्छ, पोल्छ, दादा ! आमालाई उठाउन । आमा उठन ।’ दाजुको अँगालोबाट फुत्किएर कान्छो आमालाई छाँद हालेर अँध्यारो रात चिरिने गरी ‘आमा आमा !’ पुकार्दै झन् कहालिएर रोइरहन्छ । असहाय, भाग्यले ठगिएका गरिब बालख दाजुभाई रोइरहन्छन् रातभरी । कतै टाढा स्यालहरु कराउँछन्, ‘आ हु हु, आ हुु हु ।’ हो, अब उनीहरुको भात खाने पालो चाँडो आउनेछ । परिवारमा एकजना घट्यो । एकछाक दाजुले खालान् अर्को छाक भाइले । भाइले भन्ला– ‘दादा ! आज भात खाने पालो तिम्रो ।’ दाइले भन्ला, ‘भाइ ! आज भात खाने पालो तेरो ।’ उता राजधानीमा मन्त्रालयका सचिवहरु ‘म त ठूलो मान्छे, सरकारी पैसाले तारे होटलको मात्र खाना खान्छु’ भन्छन् । साँसदहरु संसदमा खाना खाने कुपन चरम दुरुपयोग गर्छन् । प्रधानमन्त्री तथा राष्ट्रपतिको चिया चमेना खाजा खर्चले रेकर्ड तोड्छ । यता गरिबचा जनता गिठ्ठा भ्याकुर खान पालो बाँध्छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here