बिर्तामोडमा दिनहु बिक्छ करोडको मदिरा

१५ श्रावण २०७५, मंगलवार मा प्रकाशित

बिर्तामोड, साउन । ‘टेन्सन हटाउन, एक्लोपन कम गर्न अनि आफ्नै दुनियाँमा रमाउन म कहिले काँही वियर खान्छु’ बिर्तामोडका एक व्यवसायी भने– मादक पदार्थ नियमित सेवन गरे स्वास्थ्यमा नकारात्मक असर पर्ने मलाई ज्ञान छ, तर पनि म कहिले काँही रक्सी लिन्छु ।’
उनी जस्ता झापामा रक्सी सेवन गर्ने धेरै छन् । सबैलाई हेक्का छ– अत्यधिक मादक पदार्थ सेवन गरे शरीरलाई हानी पु¥याउँछ । तर, पनि कोही खुलेर मादक पदार्थ सेवन गर्छन्, त कोही लुकेर ।
मदिरा सेवन मानव सभ्यता शुरू भएदेखि नै प्रचलनमा रहेको हुनसक्छ । कतिपय समाजमा यसको प्रयोग धार्मिक र सामाजिक रूपले पनि मान्य छ । विभिन्न धार्मिक शक्तिपीठहरुमा मदिरा पनि चढाइन्छ र त्यहाँको जल या मदिरा प्रसादका रुपमा ग्रहण गर्ने गरिन्छ ।
पछिल्लो समय मदिरा सेवनका कारण समाजमा विभिन्न आपराधिक गतिविधि हुने र त्यसले समाजलाई नै नकारात्मक असर पु¥याउन थालेपछि सार्वजनिकस्थलमा मदिरा बेचविखन र सेवन कानूनी रुपमा बर्जित गरिएको छ । तर, पनि सार्वजनिकस्थलमै मादक पदार्थ विक्री र सेवन गर्ने क्रम नरोकिँदा ट्राफिक प्रहरीले सवैभन्दा बढी हैरानी व्यहोर्दै आएको छ ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा अत्यधिक दुर्घटना हुने र मानिसको मृत्यु भएका घटना धेरै छन् । ट्राफिक प्रहरीले सडकमा चेकजाँचलाई कडाइ गरे पनि ट्राफिकको आँखा छलेर मादक पदार्थ सेवन गर्दै सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ । जसका कारण अत्यधिक दुर्घटना भइरहेको र त्यसका कारण मानिसको मृत्यु हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष मात्रै सडक दुर्घटनामा परी एक सय ३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउने मध्ये धेरै मादक पदार्थ सेवन गरी सवारी चलाउने रहेका थिए ।
मदिरा सेवन गरेर सवारी चलाउनुलाई हल्का रुपमा लिँदा जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताए । उनले भने– ‘जान्दा जान्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउँछन्, उनीहरुलाई सम्झाइबुझाई गर्दा उल्टै प्रहरीलाई थर्काउँछन् ।’ मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक नै बढी दुर्घटनामा पर्ने गरेको पाइएको छ– उनले भने– ‘जति नियन्त्रण गर्दा पनि ट्राफिकलाई टेर्दैनन् ।’
चालू आर्थिक वर्षको साउनमा मात्रै मादक पदार्थ सेवन गर्ने एक सय चार जना सवारी चालकलाई कारवाही गर्दा एक लाख ४ हजार रुपैयाँ राजश्व संकलन भएको प्रहरी निरीक्षक राईले बताए । दिनहुँ तीन चार वटा टोली बनाएर राजमार्गको विभिन्न स्थानमा चेकजाँच गर्छाैं तर पनि मापसे गरेर सवारी चलाउनेको संख्या घटेको छैन ।
जिल्लाका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनु हुँदैन भनेर चेतनामूलक कार्यक्रम गर्दा सुनेको नसुन्यै गर्ने समस्याले उनीहरुकै ज्यान बढी जोखिममा हुन्छ– प्रहरी निरक्षक राईले भने ।
मदिरा व्यवसायीका अनुसार बिर्तामोडबाट मात्रै दैनिक करोड रुपैयाँको मदिरा बिक्री हुँदै आएको छ । उक्त मदिरा पूर्वका विभिन्न होलसेल पसलदेखि किराना व्यापारीले समेत लाने गरेका छन् । मेचीमा रहेका ४० वटा डिलरले मासिक ३५ देखि ४० करोड रुपैयाँ सम्मको मदिरा विक्री गर्ने गरेको मकालु पाथीभरा इन्टरप्राइजेजका सञ्चालक कुमार थापाले बताए । उनले भने – मदिराको विक्री दिनप्रतिदिन बढ्दो छ ।
मदिराको व्यापार बढेसँगै ट्राफिक प्रहरीलाई भने सवारी दुर्घटना न्यूनीकरणमा चुनौति थपिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here