नगरकै उत्कृष्ट वाल्मीकि

६ मंसिर २०७५, बिहीबार मा प्रकाशित

बिर्तामोड, जति सुनेको थिएँ, त्यो भन्दा दशौं गुणा बढी प्रगति गरेको रहेछ, विद्यार्थीका लागि बाल्मीकिले । सोमबार बाल्मीकि एजुकेशन फाउण्डेशनले विद्यालयमा आयोजना गरेको मेघा साइन्स एक्जिभिसन (विज्ञान प्रदर्शनी)को उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले भने– ‘बिर्तामोड क्षेत्रकै नमूना विद्यालय रहेछ बाल्मीकि ।’
‘बाल्मीकिमा पढ्ने विद्यार्थीले गरेको प्रगति सबैका लागि अनुकरणीय छ’ –उनले भने— ‘यहाँ किताबी ज्ञान सँगसँगै व्यवहारिक र नैतिक शिक्षा पूर्णरुपमा सिकाएको विज्ञान प्रदर्शनीमा एकसरो हेर्दा नै पाएँ । विज्ञान र प्रविधिको यो युगमा नेपाली विद्यार्थीले अमेरिकामा जहाज बनाएर कमाएको ख्याति जस्तै लाग्यो बाल्मीकिका विद्यार्थीले प्रदर्शन गरेको विज्ञान र प्रविधिका कुराहरु देख्दा ।’
कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीले प्रदर्शनमा राखेका दुईसय वटा विषयका विज्ञान र प्रविधिसँग सम्बन्धित प्रदर्शनीको अवलोकन गर्दै नगर प्रमुख शिवाकोटीले भने– ‘शिक्षकले किताबी ज्ञान मात्रै सिकाएको भए विद्यार्थीले यतिको सफलता हात पार्न सक्ने थिएनन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञानमा समेत बाल्मीकिले अब्बल बनाएको देख्दा यो विद्यालय आफ्नो नगरको मात्र नभई झापाकै उत्कृष्ट विद्यालय हो भन्दा अत्युक्ति हुँदैन ।’
त्यस्तै बिर्तामोड वडा नं. १ का वडाध्यक्ष अग्नि पाण्डेले विद्यार्थीले गरेको प्रदर्शनीको अवलोकनपछि विद्यार्थीमा लुकेर रहेको प्रतिभाको छनौट गरी उनीहरुलाई व्यवहारिक शिक्षा दिन सके छोटो समयमा नै विद्यार्थीले उल्लेख्य प्रगति गर्न सक्ने आफूले महशुस गरेको बताएका छन् ।  
‘बाल्मीकि आफैंमा उत्कृष्ट विद्यालय हो’ –वडाध्यक्ष पाण्डेले भने– ‘समयमा नै विद्यार्थीको क्षमता जाँच्ने बाल्मीकिसँग कसी नै रहेछ ।’ आगामी दिनमा समेत बाल्मीकिले शैक्षिक क्षेत्रमा अझ प्रगति गर्न सकोस् भन्दै उनले भने– ‘बाल्मीकिलाई विज्ञान प्रदर्शनीका लागि अझ धेरै धन्यवाद यसले विद्यार्थीमा सिक्ने उत्प्रेरणा प्रदान गर्नेछ । यसलाई आगामी वर्षमा समेत निरन्तरता दिओस् ।’
विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले स्वागत गर्दै विद्यार्थीले प्रदर्शनी गर्ने विषयको जानकारी गराएका थिए । उनले आफ्नो विद्यालयमा अध्ययनरत् विद्यार्थीले ‘एसेम्बल’ गरेर ड्रोन समेत उडाएको कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा सहभागी सबैलाई विद्यालयका संस्थापक गोपालकुमार बस्नेतले धन्यवाद ज्ञापन गर्दै राम्रा जति सबै तपाईंकै नानीलाई भन्ने मूल नारासहित सञ्चालनमा रहेको बाल्मीकिले शिक्षा प्रदान गर्न कुनै कञ्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाए ।
प्रविधियुक्त शिक्षाले विद्यार्थीको उज्ज्वल भविष्य निर्माण हुने भन्दै बस्नेतले बाल्मीकिले एक कदम अगाडि रहेर विद्यार्थीलाई किताबी ज्ञानसँगसँगै प्रविधियुक्त शिक्षा प्रदान गर्दै आएको बताए ।
विद्यालयका निर्देशक आनन्दकुमार बस्नेतले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धका कारण विद्यार्थीलाई चाहे अनुसारको शिक्षा प्रदान सकिएको धारणा राखे । उनले भने– ‘बाल्मीकिले समय सुहाउँदो शिक्षा दिन कुनै कञ्जुस्याइँ गर्दैन, कुन विद्यार्थीमा के क्षमता छ त्यसको पहिचान गरी हालसम्म शिक्षा प्रदान गर्दै आएको छ । कार्यक्रमको सञ्चालन पत्रकार लक्ष्मण ढकालले गरेका थिए ।

कार्यक्रम होस् त यस्तो

विद्यालयको प्राङ्गण विद्यार्थी र अभिभावकले खचाखच थियो । केही विद्यार्थी अतिथिको स्वागतका लागि तम्तयार थिए त कोही आफूले तयार पारेको विज्ञान र प्रविधिका विषयवस्तुको अभिभावकलाई जानकारी गराउन व्यस्त थिए । अनि विद्यालयका शिक्षक आगन्तुक अतिथिलाई स्वागत सत्कारमा तल्लीन थिए ।
बिहान १० बजेको थियो । बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीलाई प्राङ्गणमा बनाइएको मञ्चमा लगियो र सोझै कार्यक्रमको उद्घाटन गर्न लगाइयो । उद्घाटनपछि विद्यालयका प्रिन्सिपल सिंघलले स्वागत गरेसँगै प्रमुख अतिथिलाई बोल्न लगाइयो । प्रमुख अतिथि शिवाकोटी बोलेलगत्तै विद्यालयका संस्थापक गोपालकुमार बस्नेतले धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिए ।
त्यसपछि विद्यार्थीले तयार पारेको विज्ञान प्रदर्शनीको सबै अतिथिलाई अवलोकन गराइएको थियो । प्रदर्शनीको अवलोकनपछि मात्रै नगर प्रमुख शिवाकोटीसहित अन्य अतिथिले विज्ञान प्रदर्शनीको विषयमा बोलेका थिए ।

२० बढी स्टलमा दुईसय आइटम

विद्यार्थीले विज्ञान शिक्षकको सहयोगमा विज्ञान र प्रविधिसँग सम्बन्धित सामग्री तयार गरेर प्रदर्शन गरेका थिए । जसमा रोर्बटिक्स, ड्रोन, इलेक्ट्रोनिक्स डिभाइस, बाइलोजिकल आइटम, केमिकल, इन्भारोमेन्ट, प्लेनेटोरियम, खाद्यवस्तुु लगायतका दुईसयभन्दा बढी आइटम प्रदर्शन गरिएको बाल्मीकि एजुकेशन फाउण्डशेनका विज्ञान शाखा प्रमुख निलमप्रसाद खरेलले जानकारी दिए ।


विद्यार्थीले रोबर्टिक्स आइटम र ड्रोन उडाउन एसेम्बल गरेका थिए भने अन्य सामग्री तयार पार्न शिक्षकको सहयोग लिएका थिए । विद्यार्थीलाई उत्कृष्ट प्रशिक्षकबाट तालिम प्रदान गरेर विज्ञान प्रदर्शनीका सामग्री तयार गरिएको विज्ञान शाखा प्रमुख खरेलले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here