भद्रपुर।
सशस्त्र प्रहरीले झापाको अर्जुनधारामा बेवारिसे अवस्थामा राखिएको एउटा जीप नियन्त्रणमा लिएर भन्सार बुझाएको छ ।
सशस्त्र प्रहरी बल हेक्वा नम्बर २ गण झापाबाट खटिएका सादा पोशाकका सशस्त्र प्रहरीको टोलीले अर्जुनधारा नगरपालिका–८ स्थित हात्ती किल्ला भन्ने स्थानमा बेवारिसे अवस्थामा रहेको टाटा कम्पनीको सुमो गोल्ड जीप नियन्त्रणमा लिएको हो ।
ना २ च ६३२५ नम्बर उल्लेख भएको जीपको बिषयमा मेची यातायात व्यवस्था कार्यालय बिर्तामोडमा सोधपुछ गर्दा उक्त नम्बरको गाडी यातायातमा दर्ता नभएको सशस्त्र प्रहरी बल हेक्वा नम्बर २ गण झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण श्रेष्ठले जानकारी दिए ।
‘यातायातमा नम्बर दर्ता नभएको जीप चोरी गरी झापा ल्याएको र नक्कली नम्बर प्लेट लगाएको हो’ – डिएसपी श्रेष्ठले भने । नियन्त्रणमा लिएको जीप नेपालमै चोरी भएको वा भारतबाट चोरी गरी ल्याएको बिषयमा केही खुलेको छैन ।
यता नियन्त्रणमा लिएको जीपलाई १२ लाख मूल्यांकन तोकेर बिहीवार मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइसकेको उनले बताए ।