काठमाण्डाै,
हराएका वा चोरी भएका मोबाइल सेटहरु अनलाइनमार्फत पनि बिक्री हुने गरेको पाइएको छ । हिजोआज अनलाइनबाट सामान बेच्ने थुप्रै साइटहरु खुलेका छन् ।
धेरै जसो अनलाइन साइटले नयाँ सामानहरु ल्याएर अनलाइनमा मूल्यसहित राख्ने र त्यसैमार्फत अर्डर लिएर बेच्ने गरेको पाइन्छ । यस्ता साइटहरुमा नयाँ र प्रयोग नगरिएका सामानहरु नै पाइने गर्दछन् । यस्ता सामानहरुको डब्बा तथा आधिकारिक बिल र त्यससँग सम्बन्धित सामग्री पनि सँगै र सिलबन्दी नै पाइन्छ ।
तर कुनै कुनै साइटमा भने नयाँका साथसाथै पुराना (सेकेण्ड ह्याण्ड) सामानहरु पनि विभिन्न मूल्यमा पाइने गर्दछन् । हराएका वा चोरी भएका तपाइँ हाम्रा मोबाइल सेटहरु यस्ता कतिपय साइटहरुमार्फत सस्तोमा बिक्री हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
यसरी बेचिने मोबाइलहरुको सेटहरु मात्र पाइन्छ, ओरिजिनल चार्जर, हेडफोन तथा अन्य आवश्यक सामग्रीहरु भने पाइँदैन । यस्ता सामानहरु बजार मूल्यभन्दा सस्तोमा पनि पाइन्छन् ।
महानगरीय प्रहरी परिसर काठमाण्डौमा रहेको मोबाइल खोजतलास शाखामा गएको साउन १ देखि वैशाख पहिलो हप्तासम्मको तथ्यांक अनुसार हराएका वा चोरी भएको उजुरी परेका मोबाइल सेटहरुमध्ये केही अनलाइनमार्फत पनि बिक्री भइसकेका र प्रहरीको सक्रियतामा फेला परेका छन् ।
साउन महिनामा फेला परेका जम्मा १७७ मध्ये ५ वटा मोबाइल सेटहरु अनलाइनमार्फत बिक्री भएको पाइएको छ । त्यस्तै, भदौमा फेला परेका जम्मा १६० मोबाइल सेटमध्ये ४ वटा अनलाइनबाट बिक्री भइसकेका सेटहरु थिए । यसैक्रममा असोजमा १४० मोबाइल फेला परेका र तीमध्ये अनलाइनमार्फत बिक्री भएका ३ वटा सेटहरु थिए ।
कात्तिकमा १६७ मोबाइल सेट भेटिए जसमध्ये ७ वटा अनलाइनमार्फत बिक्री भएको पाइएको थियो । यसरी अनलाइनमार्फत बिक्री भएका सेटहरु नियन्त्रणमा आउने क्रमले पुस महिनासम्म निरन्तरता पाएको तथ्यांकले देखाएको छ ।
मंसिरमा २ तथा पौषमा ४ वटा मोबाइल सेटहरु अनलाइन मार्फत बिक्री भइसकेको र हराउने वा चोरी गर्नेको उजुरीका आधारमा प्रहरीको सक्रियतामा फेला परेको थियो । माघ, फागुन र चैत्रमा भने महिनैपिच्छे लगभग २०० को हाराहारीमा मोबाइल सेट फेला परे पनि अनलाइन मार्फत बिक्री भएको सेट फेला परेको तथ्यांकमा छैन ।
आफैँले चोरेर वा चोरीको सामान किनेर चलाउँदा के सजाय हुन्छ ?
चोरी गरेको मोबाइल प्रयोग गरेको पाइएमा प्रहरीले पक्राउ गरेर मोबाइल सेटको मूल्य बराबर विगो तिराउँछ ।
त्यसबाहेक चोरीको प्रकृति हेरी अदालतले जेलसम्म चलान गर्न सक्ने हुनाले कुनै पनि मोबाइल सेट चोरी नगर्न र शंकास्पद मोबाइलहरु नकिन्न सुझाउनुहुन्छ, महानगरी प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी । चोरी गर्ने र थाहा पाइ वा नपाइ चोरीको मालसामान किनेर चलाउने पनि उत्तिकै सजायको हकदार हुन्छन् ।
उहाँका अनुसार ‘मलाइ चोरीको माल भन्ने थाहा नभएकोले किनेको हूँ, त्यसैले सजाय माफी होस्’ भन्न मिल्दैन । जुन देशमा बसेको छ त्यहाँको सामान्य कानुन थाहा पाउनुपर्छ । सजाय नहोस् भन्ने लाग्नेले सस्तो पाइयो भन्दैमा जथाभावी शंकास्पद वा खुल्ला मोबाइल सेट किन्नुभन्दा सिलबन्द भएको, आधिकारिक बिल बिजकसहितको नयाँ सामान किन्नु उपयुक्त हुन्छ ।
भेटिएको मोबाइल प्रयोग गर्दा पनि सजाय हुन्छ ?
प्रवक्ता बोगटी भन्नुहुन्छ,‘कानुनले चोरी भएको वा भेटिएको जे भएपनि अरुको सामान प्रयोग गर्नुलाई कसुर मान्दछ, त्यसैले मैले त चोरेको होइन भेटेको हूँ भनेर अरुको मोबाइल चलाउन मिल्दैन,’ उहाँ थप्नुहुन्छ,‘उजुरी पर्यो र आईएमईआई ट्र्याक गर्दा प्रयोग गरेको पाइयोे भने बाटोमै भेटेर चलाएको भए पनि चलाउनेलाई पक्राउ गरी चोरी गर्नेकै सरह विगो अनुसार जरिबाना गराएर जेलसम्म पनि हाल्ने आदेश पनि हुनसक्छ ।’-उज्यालो अनलाइनबाट